निर्णय नं. १०६५४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६५४ - उत्प्रेषण भाग: ६३ साल: २०७८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७८/०१/०९ ३१२९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री नहकुल सुवेदी आदेश मिति : २०७८।१।९ ०७४-WO-०९८१ मुद्दा : उत्प्रेषण निवेदक : विरेन्द्रप्रसाद गुप्ताको छोरी जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं.१९ बस्ने वर्ष २३ को शुष्माकुमारी गुप्तासमेत विरूद्ध विपक्षी : नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत संविधान र कानूनबमोजिम नागरिकता पाउन योग्य नेपाली नागरिकले कानूनले तोकेको ढाँचामा नागरिकताको प्रमाणपत्र पाउनु सम्बन्धित नागरिकको संवैधानिक एवम् कानूनी अधिकार तथा वैधानिक अपेक्षा र आत्मसम्मानको विषयसमेत हुने । (प्रकरण नं.६) कैफियत टिप्पणी लेखेकै आधारमा त्यस्ता नागरिकहरूलाई राज्यले प्रदान गर्ने सेवा सुविधा वा अवसर आदिमा विभेद गरेको भन्ने देखिन नआए तापनि आत्मसम्मान वा मर्यादाको विषयलाई केवल सेवा, सुविधा वा अवसरको वितरणमा मात्र सीमित गर्न मिल्दैन । यो सम्बन्धित व्यक्ति वा सो समूहका व्यक्तिहरूले महसुस गर्ने भावनात्मक विषय हुने । (प्रकरण नं.८) समानताको हकअन्तर्गत व्यवस्थापिकाले कानून बनाई कुनै खास उद्देश्य पूर्तिका लागि कुनै खास वर्ग वा समूहका बिच फरक व्यवहार गर्न सक्ने मान्यता स्वीकार गरिएको भए तापनि कानूनमा त्यसरी वर्गीकरणका आधारहरू स्पष्ट हुनुपर्ने र त्यस्तो व्यवहार वा वर्गीकरण न्यायोचित र औचित्यपूर्ण हुनुपर्ने । (प्रकरण नं.९) जारी गरिने नागरिकताको प्रमाणपत्रमा नेपाल नागरिकता नियमावली, २०६३ ले तोकेको ढाँचाबाहेक अन्य कुनै बेहोरा कैफियत खण्डमा उल्लेख नगर्नु नगराउनु भनी मातहतका सबै जिल्ला प्रशासन कार्यालयहरू तथा इलाका प्रशासन कार्यालयहरूमा परिपत्र गर्ने । (प्रकरण नं.१०(क)) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री सुषमा गौतम, श्री मीरा ढुङ्गाना र श्री पुष्पा पौडेल विपक्षीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेय अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान नेपाल नागरिकता ऐन, २०६३ आदेश न्या.नहकुल सुवेदी : नेपालको संविधान, २०७२ को धारा ४६ र १३३ अनुसार दर्ता भई पेस हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ:- निवेदनको बेहोरा हामी निवेदकहरू नेपाली नागरिक भई नेपालको विभिन्न प्रदेश र जिल्लामा बसोबास गर्ने स्थानीय बासिन्दा हौँ । हामी निवेदक नं. १, २ र ३ प्रभावित व्यक्तिहरू हौँ भने हामी निवेदक नं. ४ र ५ कानून व्यवसायीको हैसियतले र मानव अधिकारको क्षेत्रमा लामो समयदेखि कार्य गर्दै आएका व्यक्तिहरू हौँ । हामी निवेदकहरू व्यक्तिगत व्यवसायको साथसाथै विभिन्न पेसागत, सामाजिक तथा मानव अधिकारवादी सङ्घसंस्थाहरूमा समेत आबद्ध रही कानूनको शासन, मानव अधिकार, सुशासन, वातावरणीय अधिकारसमेतका सार्वजनिक सरोकारका विषयमा समेत वकालत गर्दै आइरहेका छौँ । नेपालको संविधानको भाग २ धारा १०(१) मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भनी व्यवस्था गरिएको पाइन्छ भने धारा ११ मा नेपालको नागरिकता प्राप्तिका आधारहरूको व्यवस्था गरिएको पाइन्छ । त्यसैगरी नेपाल नागरिकता ऐन, २०६३ को दफा ३, ४, ५ र ६ मा नेपाली नागरिकता प्राप्तिका आधारहरूको व्यवस्था गरिएको पाइन्छ । नेपाल नागरिकता नियमावली, २०६३ को नियम ३, ४, ५ र ७ मा नेपालको नागरिकता जारी गर्ने विषयमा कार्यविधिसम्बन्धी व्यवस्था गरिएको