निर्णय नं. १०६५६ - वैदेशिक रोजगार कसुर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६५६ - वैदेशिक रोजगार कसुर भाग: ६३ साल: २०७८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७७/०८/११ १७९७ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७७।८।११ ०७६-NF-०००१ मुद्दाः- वैदेशिक रोजगार कसुर पुनरावेदक / प्रतिवादी : दुर्गाबहादुर थापाको छोरी पाल्पा जिल्ला खानीगाउँ गा.वि.स. वडा नं. ८ हाल बगनासकाली गा.पा. वडा नं.७ बस्ने टिकाकुमारी थापा विरूद्ध प्रत्यर्थी / वादी : नमिता देवको जाहेरीले नेपाल सरकार हरेक मुद्दामा पक्षले अदालत वा न्यायिक निकायसमक्ष प्रस्तुत हुँदा कसरी के कुन प्रमाणसाथ कुन प्रकृतिबाट बयान गरेको छ, निजले भनेको र पेस गरेको प्रमाणबिच तादम्यता छ छैन, कुन अवस्था परिस्थितिमा त्यस्तो कागज गर्नुपरेको हो, सहमतिमा कागज गरेको होइन भने कानूनी उपचार खोजेको छ छैन, सो स्पष्ट रूपमा राख्नुपर्ने । अन्य तथ्य र प्रमाणले पुष्टि गर्न नसकेको अवस्थामा अनुसन्धानमा र न्यायाधिकरणमा गरेको अपुष्ट बयानमा अन्य कारोबारको सन्दर्भमा कागज भएको हो भनी लिएको जिकिरका आधारमा विनातथ्य र प्रमाण पेस भएको लिखतलाई अन्य व्यवहार मिलान गर्ने सन्दर्भमा भएको होला भनी अनुमान गर्न नसकिने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विदुरकुमार कार्की अवलम्बित नजिर : ने.का.प.२०७५, अङ्क ५, नि.नं. १००१७ ने.का.प. २०७६, अङ्क ९, नि.नं. १०३५६ सम्बद्ध कानून : वैदेशिक रोजगार ऐन, २०६४ सुरू तहमा फैसला गर्ने : माननीय अध्यक्ष श्री सुरेन्द्रवीर सिंह बस्न्यात सदस्य श्री धीरबहादुर चन्द सदस्य श्री लेखनाथ पौडेल वैदेशिक रोजगार न्यायाधिकरण यस अदालतमा फैसला गर्नेः माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला न्या.अनिलकुमार सिन्हा : यस अदालतको संयुक्त इजलासबाट मिति २०७५।३।२६ मा भएको फैसलाउपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) बमोजिम मुद्दा पुनरावलोकन गरी हेरिपाउँ भन्ने निवेदनमा मिति २०७६।४।२ मा मुद्दा पुनरावलोकन हुने अनुमति प्रदान भई पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- मुद्दाको तथ्य प्रतिवादी टिकाकुमारी थापाले मलाई वैदेशिक रोजगारीमा साइप्रस गयो भने महिलाको लागि राम्रो कमाई हुन्छ, मेरो उक्त देशमा मान्छे पठाउने भरपर्दो माध्यम छ भनी अनेक प्रकारका कुराकानी गर्दै साइप्रस पठाइदिन्छु । त्यहाँ प्रतिष्ठित कम्पनीमा ब्युटिसियन पदमा काममा लगाइदिन्छु, मौका नगुमाउनुहोस् भनी विश्वासमा पारी मबाट मिति २०६९।१।७ मा रू.९,५०,०००।- (नौ लाख पचास हजार रूपैयाँ) बुझी लगी तीन महिनाभित्रमा साइप्रस पठाइदिन्छु भने तापनि हालसम्म उक्त देशमा नपठाएको साथै रकम पनि फिर्ता नदिई उल्टै मलाई धम्की दिने कार्य गर्दै आइरहेकीले निजले वैदेशिक रोजगारका लागि साइप्रस पठाउने बहानामा ठगी गरेको कुरा प्रस्ट हुन आएको हुँदा निज प्रतिवादीलाई पक्राउ गरी वैदेशिक रोजगार ऐनअनुसार कारबाही गरी मबाट लगेको रू.९,५०,०००।- र सोको कानूनबमोजिम हुन आउने हर्जाना रकमसमेत दिलाई भराई हदैसम्मको सजाय गरिपाउँ भन्ने बेहोराको जाहेरवाला नमिता देवले मिति २०७२।११।१८ मा वैदेशिक रोजगार विभागमा दिएको जाहेरी दरखास्त । प्रतिवादी टिकाकुमारी थापाले जाहेरवाला नमिता देवलाई तीन महिनाभित्र वैदेशिक रोजगारीमा