निर्णय नं. १०६६२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६६२ - उत्प्रेषण भाग: ६३ साल: २०७८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७७/१०/१३ २४०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सुष्मालता माथेमा आदेश मिति : २०७७।१०।१३ ०६९-WO-०७१६ मुद्दाः उत्प्रेषण निवेदक : परशुरामको छोरा जिल्ला झापा, चन्द्रगढी गा.वि.स. वडा नं.८ घर भई जिल्ला प्रहरी कार्यालय, झापामा कार्यरत रहँदाका बखत नोकरीबाट बर्खास्त गरिएका पूर्व प्रहरी जवान ओमप्रकाश शर्मा विरूद्ध प्रत्यर्थी : प्रहरी प्रधान कार्यालय, नक्सालसमेत कुनै कार्य नैतिक पतन हुने अवस्थाको ठहर हुनका लागि सो “कसुरको गम्भीरता-मात्रा” विशेष रूपमा विचारणीय विषय बन्दछ । जुनसुकै कसुरजन्य कार्य पनि सामाजिक नैतिकता प्रतिकूलका कार्य मानिन्छन् । तर यस्ता सबै कार्यलाई कानूनी प्रयोजनका लागि “नैतिक पतन देखिने कार्य” भन्न नमिल्ने । स्वाभाविक रूपमा कसुरजन्य कार्य गरेको नभएर गरिएको कार्यको स्वरूप चरम वा विकृत प्रकृतिको देखिएको तथा निर्मम वा पाशविक प्रकृतिको कार्य भएको अवस्थालाई नैतिक पतन देखिने कार्यको रूपमा लिन सकिन्छ । त्यस प्रकारको विशेष अवस्था वा परिस्थिति नदेखिएसम्म कुनै कार्य कसुरजन्य भनी ठहर भएको छ भन्ने आधारमा नै त्यसलाई नैतिक पतन देखिने कसुर भनी मान्न मिल्दैन । कानूनी प्रयोगमा यो “नैतिक पतन” भन्ने शब्दावलीको विशेष प्राविधिक अर्थ रहेको छ । कुनै कार्य गर्दा पर्याप्त होस नपुर्याएको, हेलचेक्र्याईं गरेको, सावधानी नअपनाएको, वा वुद्धि-विवेक नपुगेको कुराको परिणामस्वरूप कुनै कानूनी दायित्व वहन गर्नुपरेको अवस्थालाई स्वतः “नैतिक पतन” देखिने कार्य भनी मान्न नमिल्ने । (प्रकरण नं.३) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण नेउपाने प्रत्यर्थीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०३०, अङ्क १, नि.नं.७७४ ने.का.प.२०६७, अङ्क १०, नि.नं.८४८१ स.अ.बुलेटिन २०५२, वर्ष ४, अङ्क १५ स.अ.बुलेटिन २०६९, असोज २ सम्बद्ध कानून : कारागार ऐन, २०१९ आदेश न्या.ईश्वरप्रसाद खतिवडा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र धारा १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत विवादको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ: तथ्यगत बेहोरा म निवेदक कारागार कार्यालय, झापाको प्रहरी जवान पदमा कार्यरत रहँदाको अवस्थामा कारागार कार्यालय, झापामा थुनामा रहेका किस्मत श्रेष्ठ बिरामी भई ओम साई पाथिभरा अस्पताल, भद्रपुरमा भर्ना गरी उपचार गराइरहेको र निजको सुरक्षार्थ मसमेत ड्युटीमा खटिएको अवस्थामा २०६८/६/६ का दिन १३:०० बजेको समयमा निज थुनुवा भागेकोमा म निवेदकसमेतले लापरवाही गरेको ठहर गरी झापा जिल्ला अदालतबाट मिति २०६८/११/३० मा थुनुवा किस्मत श्रेष्ठलाई मानवीय व्यवहार र सहायता पुर्याउने कार्य गर्दा सुरक्षाकर्मीको आँखा छली भागेको र प्रतिवादी किस्मत श्रेष्ठलाई निवेदकले भगाउने मनसाय लिएर भगाएको नदेखिएकोले निज प्रहरी जवानहरूलाई रू.२००।- जरिवाना हुने ठहर्छ भनी फैसला भएको छ । अदालतबाट मुद्दा फैसला भएपश्चात् जिल्ला प्रहरी कार्यालय, झापामा हाजिर हुन पाउँ भनी निवेदन दिएकोमा कार्यालय प्रमुखले प्रहरी नियमावली, २०४९ को नियम ८८(घ) बमोजिम नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट अपराधी भएमा भन्ने कसुरमा नियम ८४(ज) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरी २०६८/१२/२८ मा निर्णय गरेको र सो निर्णयउपर निवेदकले पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरमा प