निर्णय नं. १०६६३ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६६३ - उत्प्रेषण / परमादेश भाग: ६३ साल: २०७८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७७/०३/१५ १९३३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति : २०७७।३।१५ ०७६-WO-०७३५ बिषय : उत्प्रेषण / परमादेश निवेदक / पक्ष : नन्कु चौधरीको छोरा, जिल्ला सप्तरी, साबिक अर्नाहा गा.वि.स. वडा नं. १ परिवर्तित ऐ. शम्भुनाथ नगरपालिका वडा नं. १२ भई हाल जिल्ला सरकारी वकिल कार्यालय, सोलुखुम्बुमा सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत रामनन्दन शरण चौधरीसमेत विरूद्ध विपक्षी / प्रत्यर्थी : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार काठमाडौंसमेत कम्प्युटर अपरेटर करारमा राखेर काम गर्ने हो भने निजामती सेवामा स्थायी रूपमा कार्यरत रहेका सहायक कम्प्युटर अपरेटरको वृत्ति विकास ठप्प हुन सक्छ । लोक सेवा आयोगको विभिन्न काममध्ये निजामती सेवाको निमित्त उपयुक्त उम्मेदवार छनौट गर्ने काम पनि हो । अन्य वृत्ति विकासको विकल्प पनि नदिने र तल्लो तहमा योग्य कर्मचारी हुँदाहुँदै कानूनबमोजिम विज्ञापन नगरी माथिल्लो पदमा करारमा नियुक्ति गर्दा योग्यता, क्षमता, प्रतिभाको कदर नभई प्रतिस्पर्धात्मक व्यवस्था कमजोर भई योग्यता प्रणालीमा असर पर्ने । (प्रकरण नं.४) निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउने उद्देश्यका साथ एउटै निजामती सेवा ऐन, २०४९ द्वारा सञ्चालित विभिन्न सेवाका कर्मचारीहरूमा कुनै सेवाको विज्ञापन गर्ने र कुनै सेवाको खालिरहेको पदमा विज्ञापन नगर्दा खालिरहेको पदभन्दा तल्लो श्रेणी वा तहमा कार्यरत जनशक्तिले आफूलाई अन्य सेवा, समूहबिचमा असमानता भएको, हेला भएको तथा वृत्तिविकासमा अनिश्चितता पैदा भएको, अपमान भएको ठानी काम गर्ने जाँगर र सेवा प्रवाहको गुणस्तरमा कमी आउने अवस्था सिर्जना हुने । (प्रकरण नं.६) निवेदक / पक्षका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री विष्णु लुइँटेल र श्री जगदीश बम विपक्षी / प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली अवलम्बित नजिर : सम्बद्ध कानून : निजामती सेवा ऐन, २०४९ आदेश न्या.कुमार रेग्मी : नेपालको संविधानको धारा १३३ बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ । तथ्य खण्ड निवेदकहरूमध्ये म रामनन्दन शरण चौधरी नेपाल विविध सेवाअन्तर्गतको राजपत्र अनङ्कित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पदमा आदिवासी / जनजाति कोटामा लोक सेवा आयोग सगरमाथा अञ्चल कार्यालय, खोटाङबाट मिति २०७४/०२/१८ गते सिफारिस भई मिति २०७४।०२।२४ गते निजामती सेवाको स्थायी पदमा नियुक्ति लिई हाल जिल्ला सरकारी वकिल कार्यालय सोलुखुम्बुमा कार्यरत छु । म संगिताकुमारी सापकोटा महिला कोटामा लोक सेवा आयोग पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, पोखराबाट मिति २०७२/०९/१९ गते सिफारिस भई मिति २०७२।०९।२१ गतेदेखि स्थायी पदमा नियुक्ति लिई हाल उच्च सरकारी वकिल कार्यालय, पाटनमा कार्यरत छु । म निवेदक फूलथुंगा रेग्मी सहायक कम्प्युटर अपरेटर पदमा खुला कोटामा लोक सेवा आयोग सगरमाथा अञ्चल कार्यालय, खोटाङबाट मिति २०७२/१२/०७ गते सिफारिस भई २०७२।१२।०८ गतेदेखि निजामती सेवाको स्थायी पदमा नियुक्ति लिई हाल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौंमा कार्यरत छु । म निवेदक सुनिता तामाङ सहायक कम्प्युटर अपरेटर पदमा महिला कोटामा लोक सेवा आयोग पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, धनक