निर्णय नं. १०६७१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६७१ - उत्प्रेषण भाग: ६३ साल: २०७८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७६/११/१८ १८७३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ आदेश मिति : २०७६।११।१८ ०७१-WO-०४५२ मुद्दा : उत्प्रेषण निवेदक : ओखलढुङ्गा जिल्ला, कुवापानी गा.वि.स. वडा नं. ९ स्थायी घर भई कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट गैरकानूनी रूपले हटाइएका तेजबहादुर बुढाथोकी विरूद्ध विपक्षी : कृषि विकास बैंक, रामशाहपथ, काठमाडौंसमेत दुवै पक्षलाई राखी अन्तरिम आदेशका सम्बन्धमा छलफल भई माग भएको विषयमा अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता देखिएमा मात्र अदालतले अन्तरिम आदेश जारी गरी भए गरेका काम कारबाही रोक्न सक्ने अवस्थाको सिर्जना हुने । अदालती प्रक्रिया बाँकी रहेको अवस्थामा कानूनद्वारा गठित निकायले कानूनी प्रक्रिया पुर्याई गरेका कामकारबाहीका सम्बन्धमा प्रतिकूल असर पर्ने गरी अदालतले हस्तक्षेप गर्दै जाने हो भने ती निकायको कार्यसम्पादनमा प्रतिकूल असर परी संस्थाले राखेको उद्देश्य नै अपुरो हुन जाने । निक्षेपकर्ता एवं लगानीकर्ताको लगानीमा प्रतिकूल परिस्थितिको सिर्जना हुने अवस्थाबाट बचाउनका लागि पनि बैंकले कानूनले तोकिएको तरिका एवं प्रक्रियाको अवलम्बन गरी रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्ति प्रक्रिया अगाडि बढाएको कार्यलाई कानूनसम्मत नै मान्नुपर्ने । (प्रकरण नं.२) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रमनकुमार श्रेष्ठ विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री निर्मलराज कोइराला, श्री देवीप्रसाद पोखरेल र श्री सानुराज पोखरेल अवलम्बित नजिर : सम्बद्ध कानून : बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ आदेश न्या.पुरूषोत्तम भण्डारी : तत्कालीन नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा आदेश यसप्रकार छ:- तथ्य खण्ड म निवेदकलाई प्रत्यर्थी बैंकको सञ्चालक समितिको बैठक नं. ३५५ मिति २०६८।८।११ को निर्णयअनुसार बैंकको नियमावलीको नियम १५(१) तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा २६ बमोजिम मिति २०६८।८।११ देखि लागु हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको थियो । सो नियुक्तिपत्रमा सेवा सर्त TOR सम्बन्धमा सञ्चालक समितिको मिति २०६८।६।२९ को बैठक नं.३४८ को निर्णय नं.१(क) मा तोकिएबमोजिम र पारिश्रमिक एवं अन्य सर्त र सुविधा बैंकको प्रचलित नियमअनुसार हुने तथा अन्य काम, कर्तव्य र अधिकार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३, कम्पनी ऐन, २०६३, बैंकको प्रबन्धपत्र तथा नियमावली र नेपाल राष्ट्र बैंकको निर्देशन एवं प्रचलित कानूनबमोजिम हुने, कार्यसम्पादन मूल्याङ्कनको आधार सञ्चालक समितिले निर्धारण गरेको संलग्न TOR र बैंकको आ.व. २०६८/६९ को वार्षिक कार्यक्रम तथा बजेटसमेतको आधारमा हुने र ४ वर्ष अवधिको लागि प्रत्येक वर्ष हुने कार्यसम्पादनको आधारमा हुने भन्ने उल्लेख गरिएको थियो । म निवेदकले सिइओ भइसकेपछि तोकिएको जिम्मेवारी र TOR अन्तर्गत रहेर कार्यसम्पादन गरेकै कारण बैंकको आर्थिकलगायत सम्पूर्ण पक्षमा सुधार भएको थियो । बैंकलाई सुधार गरी प्रगतिको साथ अगाडि बढाउँदाबढाउँदै पनि मप्रति प्रवृत्त भई प्रमुख कार्यकारी अधिकृत पदबाट हटाउने उद्देश्यका साथ गैरकानूनी रूपले सञ्चालक समिति