निर्णय नं. १०६७६ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६७६ - बन्दीप्रत्यक्षीकरण भाग: ६३ साल: २०७८ महिना: असोज अंक: ६ फैसला मिति :२०७७/०९/२९ १२९० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री सुष्मालता माथेमा आदेश मिति : २०७७।९।२९ ०७७-WH-०१४७ विषयः- बन्दीप्रत्यक्षीकरण निवेदक : जिल्ला जाजरकोट जुनिचाँदे वडा नं.९ नागरिकताको ठेगाना भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.२९ सामाखुसी बस्दै आएकोमा हाल कारागार कार्यालय नख्खु भएको शिवधन शाहीको छोरा ज्ञानबहादुर शाही विरूद्ध विपक्षी : उच्च अदालत पाटनसमेत निवेदन बेहोराबाट नै निवेदकले आफ्नो वास्तविक ठेगाना स्वीकार गरिरहेको अवस्थामा आफ्नो नामको समाह्वान म्यादबारे निज अनभिज्ञ, बेखबर रहेछन् भन्ने अर्थ गर्नु औचित्यपूर्ण नहुने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् अधिवक्तात्रय श्री ज्योति बानिया, श्री हरिप्रसाद मैनाली र श्री सुस्मिता शाह विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री दशरथ पगेनि अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.दीपककुमार कार्की : नेपालको संविधानको धारा १३३ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र रही दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार रहेको छ - तथ्य खण्ड म निवेदक जाजरकोट जुनीचाँदे-९ घर भए तापनि उक्त स्थानबाट सम्पूर्ण चल अचल सम्पत्ति बिक्री गरी करिब १७ वर्षदेखि काठमाडौं बस्दै आई हाल बसोबास गर्दै आएको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका-२९ सामाखुसीको डेराबाट सादा पोसाकमा खटिएका सुरक्षाकर्मीले पक्राउ गरिएको हुँदा पक्राउ गर्नुपर्ने कारण के रहेछ भन्नेबारे जिज्ञासा राख्दा उच्च अदालत पाटनमा तपाइँलाई विपक्षी बनाई नेपाल सरकारले बैंकिङ्ग कसुरसम्बन्धी अभियोग दायर भई ०७४-CB-०४२९ मुद्दामा रू.७,८७,०००/- जरिवाना र १० दिन कैद र ०७४-CB-०४३१ मा रू.८,००,०००/- जरिवाना र १० दिन कैद ठहर्ने गरी फैसला भएको रहेछ । उल्लिखित मुद्दामा मलाई फरार अभियुक्तको सूचीमा राखी विगत २०६० सालबाट मैले बसोबास छाडेको ठाउँ जिल्ला जाजरकोट जुनीचाँदे-९ देखाई घरपरिवारभन्दा बाहिरका मानिसले मेरा नामको म्याद मिति २०७५/०३/११ र २०७५/१०/२३ गते म्याद तामेली गराइएको रहेछ । सो बेरितपूर्वकको तामेली म्यादका आधारमा मलाई दोषी करार हुने गरी गैरकानूनी फैसला भएको रहेछ । हाल आफ्नो घर नभएको कारण बसाइँसराई लिन मात्र बाँकी रहेको अवस्थामा जाहेरवाला खमराज नेपालको घरमा म निवेदक २०७५ सालसम्म बस्दै आई पछिल्लो समय २०७५ सालपश्चात् काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.२९ सामाखुसीमा डेरा गरी बसोबास गरेको, मैले काम गर्ने कम्पनीको नाम, ठेगाना, मोबाइल नम्बर र सम्पर्क हुने ल्यान्डलाइनको नम्बरसमेत जाहेरवाला खमराज नेपाललाई राम्रो जानकारी हुँदाहुँदै निज जाहेरवालाले मेरो बसोबासको उपयुक्त ठेगाना उल्लेख गरी रीतपूर्वकको म्याद तामेल नगराई, गलत ठेगाना उल्लेख गरी कल्पना नै गर्न नसक्ने अभियोगमा दोषी साबित गर्न मउपर जाल प्रपञ्च गरी मुद्दा दायर गरी बेरितपूर्ण ढङ्गले म्याद तामेल गराई प्रतिवादको मौकासमेत नदिई मलाई कसुरदार ठहर हुने गरी उच्च अदालत पाटनबाट मिति २०७६/०३/२३ मा भएको फैसला त्रुटिपूर्ण भएकोले मेरो थुना गैरकानूनी रहेको छ । विपक्षी उच्च अदालत पाटनबाट गैरकानूनी तरिकाबाट तामेल भएको भनिएको मेरो नामको म्याद र सो म्यादको आधारमा भएको फैसला र फैसला कार्यान्वयनको सिलसिलामा भएका कामकार्यबाही नेपालको संविधानको धारा १६, १७(२) को खण्ड ङ र च, १८,(१