निर्णय नं. १०६७७ - प्रतिषेध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६७७ - प्रतिषेध भाग: ६३ साल: २०७८ महिना: असोज अंक: ६ फैसला मिति :२०७७/१२/०३ २६१८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७७।१२।३ ०७७-WO-०२८४ विषयः- प्रतिषेध निवेदक : निलकण्ठ पराजुलीको नाति, लिलाधर पराजुलीको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३ महाराजगञ्‍ज बस्ने हरिभक्त पराजुली विरूद्ध विपक्षी : प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंसमेत प्रतिषेधको रिट कुनै क्षेत्राधिकारविहीन कारबाही कुनै न्यायिक, अर्धन्यायिक वा प्रशासनिक निकायमा चलिरहेको अवस्थामा त्यस्तो निकायको निर्णय हुनुभन्दा पहिले नै त्यस्तो प्रक्रिया रोकिपाउँ भनी दिने निवेदन हो । उक्त रिट निवेदनको उद्देश्य सम्बन्धित अधिकारीलाई आफ्नो क्षेत्राधिकारभित्र सीमित गराउनु हो । प्रतिषेधको निवेदन कुनै प्रक्रिया (proceedings) चलिरहेको (continuous) अवस्थामा मात्र दायर वा जारी गर्न सकिन्छ । उत्प्रेषणको रिट र प्रतिषेधको रिट निवेदनले प्रदान गर्ने उपचार उही प्रकृतिको हुन्छ तर उत्प्रेषणमा निर्णय भइसकेको हुनुपर्दछ भने प्रतिषेधमा कारबाही निरन्तर रहेको देखिनु पर्दछ । कतिपय अवस्थामा क्षेत्राधिकार भए तापनि पूर्वाग्रहपूर्ण रूपमा कारबाही चलाइएको देखिएमा प्रतिषेधको रिट निवेदनमार्फत रोक लगाउन सकिने । कुनै कानूनी प्रक्रिया चलिरहेको छ भन्‍ने देखिएको अवस्थामा मात्र प्रतिषेधको रिट जारी गर्न सकिन्छ । त्यस्तो कारबाही अन्त्य भइसकेको (functus officio) देखिएमा प्रतिषेधको रिटको सट्टा उत्प्रेषणको रिट जारी हुन सक्दछ । मूलत: प्रतिषेधको रिट जारी हुन चलिरहेको कुनै कानूनी प्रक्रिया (legal proceedings) रोक्नुपर्ने अवस्था (prevention) विद्यमान हुनुपर्ने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री श्रीप्रसाद पण्डित विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री दशरथ पंगेनी, विद्वान्‌ अधिवक्ता श्री ठोकप्रसाद सिवाकोटी अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी देवानी कार्यविधि संहिता, २०७४ आदेश न्या.हरिप्रसाद फुयाल : नेपालको संविधानको धारा ४६ एवं धारा १३३(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छः- तथ्य खण्ड म निवेदक पर्यटन व्यवसायीको रूपमा व्यवसाय प्रवर्द्धनको लागि छ वर्षअघि जापान जाँदा पहिलादेखि नै चिनजानकी विपक्षीमध्येको लक्ष्मी थपलियासँग भेट भएको थियो । सो समयमा निजले मलाई काठमाडौंमा घर किन्नको लागि खोजी दिन भनेकीले मैले बिक्रीको लागि राखेको रमेश मल्लको घरजग्गाको जानकारी विपक्षी लक्ष्मी थपलियालाई दिएँ । उक्त घरजग्गा विपक्षी लक्ष्मी थपलियाले खरिद गर्ने इच्छा गरेको र निज तत्काल जापानमै रहेकोले आफू नेपाल नफर्कंदै रमेश मल्लले सो घर अन्यत्रै बिक्री गरिदिन सक्छन् भनी लक्ष्मी थपलियाले शंका गरी निजले का.जि.का.म.न.पा. वडा नं.३ नक्सा सिट नं.१०२०९४६१४ कि.नं.३६ को क्षेत्रफल २२७.०० वर्गमिटर जग्गामा बनेको घर र जग्गा एन.सी.सी. बैंकमा धितो रहेकोमा सो धितो फुकुवा गराई मालपोत कार्यालयमा उपस्थित भई जो कोहीलाई राजीनामा गरी हक हस्तान्तरण गर्न पाउने गरी रमेश मल्लबाट सो घरजग्गा बेच्न आफ्नै छोरा प्रभातदत्त पन्तको नाममा मिति २०७१।१२।२० मा अधिकृत वारिसनामा बनाएकी थिइन् । निजले खरिद गर्ने भनेको उक्त घरजग्गा मिति २०७२।९।६ मा रमेश मल्लले बुधलक्ष्मी श्रेष्ठलाई रू.१,१०,४२,०००।- मा राजीनामा पारित