निर्णय नं. १०६७८ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६७८ - उत्प्रेषण / परमादेश भाग: ६३ साल: २०७८ महिना: असोज अंक: ६ फैसला मिति :२०७७/०८/२१ १९४८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा आदेश मिति : २०७७।८।२१ ०७५-WO-०९९४ मुद्दा : उत्प्रेषण / परमादेश निवेदक : स्व. अम्बरभोग बस्नेत क्षेत्रीको नाति, रनबहादुर बस्नेत क्षेत्रीको छोरा, दाङ जिल्ला, साबिक रावत गाउँ गा.वि.स. वडा नं. ३ को हाल परिवर्तित घोराही उप.म.न.पा. वडा नं. १६ भगवानपुर बस्ने वर्ष ५९ को गेहेन्द्र बस्नेत क्षेत्री विरूद्ध विपक्षी : वैदेशिक रोजगार न्यायाधिकरण, बबरमहल, काठमाडौंसमेत जेथाजमानी दिने जमानीकर्ताको दायित्व पालना गराउने सन्दर्भमा जमानतको दायित्व पूरा गर्ने जानकारीको सूचनासहितको उचित मौका जमानीकर्तालाई प्रदान गर्नुपर्ने हुन्छ । सोअनुरूप धरौटीबापत जमानत दिएको सम्पत्ति जफत गर्नुपूर्व जमानतबापतको रकम दाखिला गर्ने सूचनासहितको जानकारी निजले पाउनु पर्ने । कुनै व्यक्तिले आफ्नो हक भोगको सम्पत्ति धरौटीबापत जेथाजमानत लेखिदिएको भन्दैमा उक्त सम्पत्तिमाथि निजले कुनै अधिकार राख्‍दैन भनी अर्थ गर्नु मनासिब नहुने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री महानिधी सेढाई विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री गंगाप्रसाद पौडेल अवलम्बित नजिर : ने.का.प.२०७३, अङ्क ८, नि.नं.९६४६ सम्बद्ध कानून : नेपालको संविधान मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ आदेश न्या.दीपककुमार कार्की : नेपालको संविधानको धारा ४६ तथा धारा १३३ अनुसार दर्ता भई नियमबमोजिम पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्‍य एवं ठहर यसप्रकार छ:- रिट निवेदनको बेहोराः- म निवेदकको दुई श्रीमतीमध्ये जेठी श्रीमती रेवा बस्नेतको कोखबाट १ छोरा नविन बस्नेत तथा २ छोरीहरू सोनी बस्नेत र शर्मिला बस्नेतको जन्म भएको र कान्छी श्रीमती उर्मिला बस्नेतको तर्फबाट १ छोरा नगेन्द्र बस्नेत र एक छोरी ममता बस्नेत गरी २ सन्तानको जन्म भएकोमा दुई श्रीमती र छोराहरूलाई कानूनबमोजिम मैले अंशबन्डा गरिदिइसकेको छु । यस्तै अवस्थामा कान्छी श्रीमती उर्मिला बस्नेतको कोखबाट जन्मभएका छोरा नगेन्द्र बस्नेतउपर दाङ जिल्ला, गडुवा गा.वि.स वडा नं. ९ बस्ने पुष्पराज घिमिरेसमेतले वैदेशिक रोजगार विभाग काठमाडौंमा मिति २०६९।०१।२६ मा वैदेशिक रोजगारको कसुरको जाहेरी दर्ता गरी अनुसन्धानको कार्य सम्पन्‍न गरी वैदेशिक रोजगार विभाग, काठमाडौंबाट मिति २०६९।०२।२३ मा अभियोग दायर भई वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता भई मिति २०६९।०२।२४ मा रू. १०,००,०००।- धरौट माग गर्ने आदेश भएको थियो । सो वैदेशिक रोजगार मुद्दाका प्रतिवादी नगेन्द्र बस्नेतको नाममा कुनै चल अचल सम्पत्ति नभएकोले म निवेदक गेहेन्द्र बस्नेत क्षेत्रीसँग उक्त वैदेशिक रोजगारको मुद्दामा मिति २०६९।०२।२४ को आदेशअनुसार रू.१०,००,०००।- रकमको नगद वा सो रकम खाम्ने जेथा धरौट माग गरिएको हुँदा आफ्नो कानूनबमोजिम छुट्टिभिन्‍न भएको सन्तान भएकोले म प्रतिवादीको नाममा मालपोत कार्यालय, घोराही, दाङमा दर्ता रहेको, दाङ जिल्ला, रावतगाउँ गा.वि.स वडा नं. ३(क) को कि.नं. १२१४ को क्षेत्रफल ०-४-४-१० जग्गा जेथाजमानतबापत धरौट राख्‍न स्वीकृत भई निज प्रतिवादी नगेन्द्र बस्नेतलाई धरौट तारेखमा राखिएको थियो । निज प्रतिवादी धरौट तारेखमा बसेपछि मिति २०६९।१२।०२ मा वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौंबाट तोकिएको तारेख गुजारी बसेकोले बुझ्नुपर्ने प्रमाण काग