निर्णय नं. १०६८१ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६८१ - जबरजस्ती करणी भाग: ६३ साल: २०७८ महिना: असोज अंक: ६ फैसला मिति :२०७७/०४/१२ २२९० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७७।४।१२ ०७२-CR-१७३२ मुद्दा : जबरजस्ती करणी पुनरावेदक / वादी : जमुना नेपालको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला इलाम, पञ्चकन्या गा.वि.स. वडा नं. ४ बस्‍ने नरबहादुरको छोरा दुर्गाप्रसाद खत्री चौलागाईं अपाङ्गता भन्ने विषय व्यक्तिको शारीरिक, मानसिक, बौद्धिक रूपमा पहिलेदेखि नै स्थापित भइरहेको अवस्था हुँदा जहिले पनि पुष्टि हुने । त्यस्तो अपाङ्गतासम्बन्धी प्रमाणपत्र लिनु र नलिनुले अपाङ्गता भएको यथार्थलाई नकार्न नसक्ने । प्रमाणपत्रले उक्त यथार्थलाई औपचारिकता प्रदान गर्ने मात्र हुने । (प्रकरण नं.९) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री अर्जुन कोइराला प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वैतनिक अधिवक्ताद्वय श्री इन्दिरा सिलवाल र श्री रजिता थापा अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री प्रकाश ढुंगाना इलाम जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री माधवप्रसाद पोखरेल माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ बैद्य पुनरावेदन अदालत इलाम फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्‍ने निवेदन परी अनुमति प्रदान भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः- तथ्य खण्ड मिति २०७०।०५।०४ गते बिहान म तीनघरे बजार आएको थिएँ । बुबासमेत बजारतर्फ नै आउनु भएको थियो । घरमा मेरो दिदी केही सुस्त मनस्थिति भएकी वर्ष २५ की परिवर्तिन नाम रमा मात्र हुनुहुन्थ्यो । दिउँसो म बजारबाट घर फर्की जाँदा घरमा दिदी रोएर बसिरहनु भएको थियो । मैले दिदीलाई के भयो भनी सोध्दा दिदीले म घरमा एक्लै भएको मौका छोपी अन्यायी दुर्गाप्रसाद खत्री चौलागाईं घरमा आई मलाईं घरभित्रै तलामुनि कोठामा काठको टेबलमा लडाई जबरजस्ती करणी गरे । मैले हल्ला गर्न खोज्दा निजले मेरो मुखसमेत थुनी हल्ला गरेमा कुटपिटसमेत गर्छु भनी डर त्रासमा पारी निजले जबरजस्ती करणी गरे भनी रूँदै सुनाउनु भयो । यसरी सुस्तमनस्थिति भएकी एक अपाङ्ग महिलालाई घरमा एक्लै भएको मौका छोपी जबरजस्ती करणी गर्ने दुर्गाप्रसाद खत्री चौलागाईंलाई पक्राउ गरी जबरजस्ती करणीको महलबमोजिम हदैसम्म सजाय गरिपाउँ भन्नेसमेत बेहोराको जमुना नेपालको मिति २०७०।५।५ को जाहेरी दरखास्त । जिल्ला इलाम पञ्चकन्या-४ स्थित पूर्वमा भक्तिप्रसाद नेपालको घर, पश्चिममा पदमप्रसाद नेपालको बारी, उत्तरमा ऐ.ऐ.को बारी, दक्षिणमा भक्तिप्रसाद नेपालको बारी, यति चार किल्लाभित्र रहेको पदमप्रसाद नेपालको दक्षिण मोहडा भएको ढुङ्गाको गाह्रो, टिनको छाना भएको टाडे घरको तलामुनि तीनवटा कोठा रहेको उत्तरपूर्वतर्फको कोठामा काठको टेबल रहेको, सो टेबलमा मिति २०७०।०५।०४ गते जिल्ला इलाम पञ्चकन्या-४ बस्ने दुर्गाप्रसाद खत्री चौलागाईंले परिवर्तित नाम रमालाई जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का । मिति २०७०।०५।०४ गते बिहान म मात्र घरमा थिएँ । छिमेकी दुर्गाप्रसाद खत्री मेरो घरमा आउनु भयो । म ख