निर्णय नं. १०६८५ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६८५ - अंश भाग: ६३ साल: २०७८ महिना: असोज अंक: ६ फैसला मिति :२०७७/०९/१२ २५५० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७७।९।१२ ०७२-CI-१३९९ मुद्दाः- अंश पुनरावेदक / प्रतिवादी : जिल्ला कञ्‍चनपुर कृष्‍णपुर गा.वि.स. वडा नं.५ मौवाफाटा बस्ने जोगी रावतसमेत विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला कञ्चनपुर कृष्णपुर गा.वि.स. वडा नं. ३ बस्ने बलबहादुर रावत रीतपूर्वक लिखत गरी रजिस्ट्रेसन पास गरिदिएको हुनुपर्ने अनिवार्यता कानूनले निर्धारण गरेको अवस्थामा मौखिक रूपमा “मेरो भोगको सम्पत्ति तिमीले मलाई खुशी पारेबापत दिएँ” भनी भनेको आधारमा त्यस्तो सम्पत्ति प्राप्त गर्ने व्यक्तिले निजी रूपमा प्रयोग गर्न पाउने हुन्छ भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.६) एकासगोलका अंशियारका नाममा रहेको सम्पत्ति दर्तावाला व्यक्तिको निजी ठहरी एकलौटी हकभोगको पुष्टि हुन नसकेपछि सो सम्पत्तिबाट सगोलका अंशियारलाई अंश हक हिस्सा प्राप्त गर्नबाट वञ्चित गर्न नमिल्ने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा अधिवक्ता श्री नन्दप्रसाद अधिकारी प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री भेषराज पन्त अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, २०२० प्रमाण ऐन, २०३१ सुरू फैसला गर्नेः- माननीय न्यायाधीश श्री भोजराज अधिकारी कञ्चनपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रामेश्‍वरनाथ अमात्य माननीय न्यायाधीश श्री बिमलप्रसाद ढुङ्गेल पुनरावेदन अदालत महेन्द्रनगर फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतसमक्ष पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ:- बाजे लक्ष्मी रावतका २ छोरा जेठो बुबा स्व. गोरे रावत र कान्छो काका डम्मरसिंह रावत हुन् । बुबा गोरे रावतकी २ श्रीमतीमा जेठी विपक्षी जोगी रावतकी आमा र कान्छी मेरी आमा चन्द्रादेवी रावत हुन् । जेठी आमाबाट विपक्षी जोगी रावत र कान्छी चन्द्रादेवी रावतबाट म फिरादीको जन्म भएको हो । विपक्षी गोरे रावतकी आमाको कालगतिले मृत्यु भइसकेको छ भने मेरी आमा चन्द्रादेवी रावत जीवित रहेकी छिन् । घरमा अंशियारका रूपमा विपक्षी जोगी रावत, आमा चन्द्रादेवी रावत र म फिरादी बलबहादुर रावत छौं । हालसम्म हामी एकासगोलमा बस्दै आएका छौं । बुबा गोरे र काका डम्मर रावतले यस जिल्लामा आई ऐलानी जग्गा फटाई कमोद गरी आई भोगचलन गर्दै आएका हुन् । पछि बुबा र काकाको मृत्यु भएकोले आ-आफ्ना भागमा पर्ने जग्गा अलग-अलग नापजाँच गराई काकाका भागमा पर्ने जग्गा निजका छोरा टेकबहादुर रावत र बुबाका भागमा पर्ने जग्गा दाजु जोगी रावतका नाउँमा नापजाँच भएको हो । मेरो हिस्सा लाग्ने जग्गा दाजु जोगी रावतले भाउजू पार्वतीदेवी रावतका नाउँमा जग्गाधनी प्रमाणपुर्जा लिएका हुन् । पहाड डडेल्धुराको जग्गाको मरूवाको सरूवा पनि भएको छैन । पछिल्लो समयमा दाजु भाउजूले म र मेरी आमाप्रति नराम्रो व्यवहार गर्दै आएका र मैले अंशबन्डा गरी दिनुहोस् भनी दाजु भाउजूलाई पटकपटक अंश माग गर्दा अंश दिन्नौं, पहाडको अंश खाउ, तराईमा हाम्रा नाउँमा रहेको सम्पत्तिबाट तपाइँलाई अंश पाइन्न जे गर्न सक्छौ गर् भनी ठाडो जवाफ दिई अन्यायमा पारेकाले फिराद गर्न आएको छु । यसरी हामीलाई अंशहकबाट विमुख गरी अन्याय गरेकाले मेरो अंश लाग्ने जे जति सम्पत्ति छ,