निर्णय नं. १०६८८ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६८८ - बन्दीप्रत्यक्षीकरण भाग: ६३ साल: २०७८ महिना: असोज अंक: ६ फैसला मिति :२०७७/०८/२३ १५७१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७७।८।२३ ०७७-WH-०१२४ मुद्दा : बन्दीप्रत्यक्षीकरण निवेदक : रामनारायण साह कल्वारको नाति, शम्भुप्रसाद कल्वारको छोरा रौतहट जिल्ला, साबिक पोठीयाही गाउँ विकास समिति वडा नं.५ को परिवर्तित गरूडा नगरपालिका वडा नं.६ घर भई काठमाडौं जिल्ला अदालतको अनुमतिले पक्राउ भई महानगरीय प्रहरी वृत्त तीनकुने काठमाडौं प्रहरी हिरासतमा रहेका वर्ष ३५ का सन्तोषकुमार चौधरीसमेत विरूद्ध विपक्षी : गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत बन्दीप्रत्यक्षीकरणको आदेशबाट न्यायिक उपचार प्रदान गर्ने कुराको सीमा, परिधि र प्रयोजनतर्फ विवेकपूर्ण रूपमा दृष्टि दिनु आवश्यक हुन्छ । यो आदेश न अदालतको साधारण क्षेत्राधिकारको विकल्प हो, न त यसलार्इ पुनरावेदकीय तहको रूपमा हेर्न र प्रयोग गर्न हुन्छ । यसको छुट्टै र विशिष्ट महत्त्व हुने । प्रमाणको मूल्याङ्कनसम्बन्धी विषय वा तजबिजी अधिकारको प्रयोग गर्दा विविध मानवीय दृष्टिकोणमा रहने स्वाभाविक विविधताको कारणबाट देखा पर्ने अन्तर-भिन्नता जस्ता कुरालार्इ हेरेर मातहतका अदालतले साधारण अधिकारक्षेत्रअन्तर्गत मुद्दाको नियमित प्रक्रियाका सन्दर्भमा गरेका निर्णय वा आदेशअनुसार थुना वा कैदमा परेको विषयलार्इ लिएर बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्नु स्वीकृत न्यायिक मान्यता वा परिपाटीअनुकूल नहुने । बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्ने अधिकारको खुकुलो वा हलुका प्रयोगले न्याय पद्धतिमा खलबली वा गडबडी नमच्चियोस् भन्‍ने पक्षमा वाञ्छित विवेक पुग्नु आवश्यक हुने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री गोपालकृष्ण घिमिरे तथा विद्वान्‌ अधिवक्ताहरू श्री विजयप्रसाद मिश्र, श्री रामदरेस प्रसाद, श्री रमेशकुमार के.सी., श्री विजयकुमार यादव र श्री सुरेश महतो विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री दशरथ पंगेनी अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ सङ्गठित अपराध निवारण ऐन, २०७० आदेश न्या.अनिलकुमार सिन्हा : नेपालको संविधानको धारा ४६, १३३(२) र (३) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः हामी निवेदकमध्ये सन्तोषकुमार चौधरी र विपक्षीमध्येका शान्तादेवीका बिचमा निज प्रत्यर्थी शान्तादेवीका नाउँमा दर्ता स्रेस्ता कायम रहेको रौतहट जिल्ला, चन्द्रनिगाहपुर गाउँ विकास समिति वडा नं.५ को कि.नं.६८४ को ०-५-०-० जग्गा र ऐ.ऐ.को कि.नं.८६२ को ०-५-०-० समेत दुई कित्ता जग्गाको प्रतिकठ्ठा रू.१०,००,०००।- (दश लाख रूपैयाँ) को दरले बिक्री गर्ने सहमति भई म निवेदकसँग बैनाबापत रू.५,००,०००।- (पाँच लाख रूपैयाँ) निजको एकासगोलको छोरा राजन लामिछानेका नाममा सनराइज बैंक लिमिटेड, चन्द्रनिगाहपुर शाखाको खाता नं.०८६०५००९८४२०५०० को चेक नं.०००६८६४७५२ बाट मिति २०७५।८।९ गते नगद बुझी लिई आमाले बैनाबट्टाको लिखतमा ल्याप्चे र एकासगोलका छोराहरूले लिखतको साक्षी खण्डमा सही गरिदिएपश्चात् म निवेदकले लिखतको भाखाभित्र बाँकी रूपैयाँ बुझाई उक्त जग्गाहरू पारित गराउन नगद रकम जुटाई निज जग्गाधनीले उपलब्ध गराएको राष्ट्रिय वाणिज्य बैंकको खाता नं.१४२००२९५९२१० मा मिति २०७५।११।९ मा रू.२,००,०००।- (दुई लाख रूपैयाँ), रू.३,००,