निर्णय नं. १०६९१ - वैदेशिक रोजगार कसुर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६९१ - वैदेशिक रोजगार कसुर भाग: ६३ साल: २०७८ महिना: असोज अंक: ६ फैसला मिति :२०७७/०९/१५ १५५२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७७।९।१५ मुद्दा:- वैदेशिक रोजगार कसुर ०७६-CR-०३५१ पुनरावेदक / प्रत्यर्थी : शेरबहादुर छन्त्यालको छोरा दाङ जिल्ला, तुलसीपुर नगरपालिका वडा नं.५ घर भई हाल कारागार कार्यालय डिल्लीबजार, काठमाडौंमा थुनामा रहेको होमबहादुर छन्त्याल विरूद्ध विपक्षी / वादी : सुदय नेपालीसमेतको जाहेरीले नेपाल सरकार ०७६-CR-०७१९ पुनरावेदक / वादी : सुदय नेपालीसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी / प्रत्यर्थी : शेरबहादुर छन्त्यालको छोरा दाङ जिल्ला, तुलसीपुर नगरपालिका वडा नं. ५ हात्तीखोवा घर भई हाल काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं.४ गोंगबु बस्ने होमबहादुर छन्त्यालसमेत वैदेशिक रोजगारीमा जानका लागि रकम भुक्तानी गरेको वा उपलब्ध गराएको हो भनी पीडितले जाहेरी दरखास्तमा किटानी रूपमा उल्लेख नगरेको स्थितिमा प्रतिवादीलाई उपलब्ध गराएको रकम अन्य काम बेहोरा वा ऋण सापटको लागिसमेत उपलब्ध गराएको हुनसक्ने अवस्थालाई पूरै इन्कार गर्न नसकिने । (प्रकरण नं.१३) वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री विदुरकुमार कार्की प्रत्यर्थीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : वैदेशिक रोजगार ऐन, २०६४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः माननीय अध्यक्ष श्री सत्यराज गुरूङ सदस्य श्री रमादेवी पराजुली सदस्य श्री रामेश्‍वर रेग्मी वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौं फैसला न्या.कुमार रेग्मी : वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६६(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड प्रतिवादी होमबहादुर छन्त्यालले जाहेरवाला सुदय नेपाली, रविन परियार (नेपाली), केशव परियार र डम्बर बुढाथोकीसमेत जना ४ लाई पलाउमा होटलमा काम गर्ने मानिसहरूको माग भई आएको छ, मासिक तलब ११०० डलर हुन्छ भनी प्रलोभन देखाई सोबापत २०७२ मंसिर महिनामा जाहेरवालाहरूबाट जनही रू.६,५०,०००।- का दरले जम्मा रू.२६,००,०००।- र राहदानीसमेत लिई मिति २०७३।१।२२ मा केशव परियार र डम्बरबहादुर बुढाथोकीलाई, मिति २०७३।२।१२ मा सुदय नेपाली र रविन परियारलाई थाइल्यान्ड हुँदै पलाउ जाने भनी थाइल्यान्डमा पठाई मिति २०७३।२।१५ मा प्रतिवादी होमबहादुर छन्त्याल आफैँ थाइल्यान्ड पुगी चारै जनालाई भेटी पलाउको लागि काम भएन अब चारै जनालाई यहीँबाट कोरिया पठाइदिन्छु भनी विश्वास दिलाई त्यहीँ छाडी अलपत्र पारी प्रतिवादी एक्लै नेपाल आएका हुन् । त्यसपछि हामी जाहेरवालाहरूले घरबाट रकम मगाई थाइल्यान्डबाट नेपाल फिर्ता आई प्रतिवादी होमबहादुर छन्त्याल सम्पर्क गर्दा सम्पर्कविहीन भई हामी जाहेरवालाहरूबाट रू.२६,००,०००।- ठगी गरेको भन्‍ने सुदय नेपाली, रविन परियार (नेपाली) केशव परियार र डम्बरबहादुर बुढाथोकीले महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा मिति २०७३।३।२६ मा दिएको संयुक्त जाहेरी दरखास्त । काठमाडौं जिल्ला, का.म.न.पा वडा नं. ३० महाबौद्धमा मिति २०७३।३।२६ मा होमबहादुर छन्त्याललाई फेला पारी निजको शरीर तलासी लिँदा निजकै नामको इन्भेष्टमेन्ट बैंक लि. चेक बुक, राहदानी, डायरी, सामसुङ मोबाइल विदेशी सिमकार्ड थान-२ समेत फेला पारी बरामद गरिएको भन्‍नेसमेत बेहोराको मिति २०७३।३।२६ को खानतलासी तथा बरामदी मुचुल्का ।