निर्णय नं. १०६९३ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६९३ - जबरजस्ती करणी भाग: ६३ साल: २०७८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७७/१२/१२ २३४१ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७७।१२।१२ ०७६-CF-०००६ मुद्दाः जबरजस्ती करणी पुनरावेदक / वादी : विमला लामाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सर्लाही जिल्ला, हरिवन गा.वि.स. वडा नं. ५ घर भई हाल ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १७ ग्वार्को बस्ने हाल कारागार कार्यालय नख्खु ललितपुरमा थुनामा रहेका सुरेश लामा भन्ने कालुमान लामासमेत समूहद्वारा गरिएको कार्यलाई सङ्गठित भई गरिएको होइन भन्ने आधारबाट मात्र हेरी व्याख्या गर्न मिल्ने नदेखिने । (प्रकरण नं.६) कुनै एक जना प्रतिवादीले गरेको जबरजस्ती करणीको कसुर र दुईजना प्रतिवादीहरूबाट सोही ठाउँमा सोही समयमा पालैपालो गरिएको जबरजस्ती करणीको कसुरबाट पीडितलाई पर्ने असर समान हुन नसक्ने । सामूहिकरूपमा जबरजस्ती करणी गर्ने कार्यबाट कसुरको गाम्भीर्य बढ्न जाने तथा पीडितलाई थप पीडा पुग्न जाने स्थिति रहने भएकोले विधायिकाले त्यस्तो कसुरदारलाई थप सजाय हुने व्यवस्था गरेको देखिने । एक जनाभन्दा बढी व्यक्तिको सामूहिक मनसाय र समझदारीमा गरिने कसुरलाई सामूहिक जबरजस्ती करणी नै मान्नुपर्ने देखिन्छ र उक्त कार्यलाई कसुरको गम्भीरता बढाउने तत्त्वकै रूपमा मान्नुपर्ने । (प्रकरण नं.१०) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रिद्धिनाथ निरौला प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ताहरू श्री रजिता थापा र श्री इन्दिरा सिलवाल अवलम्बित नजिर : स.अ.बुलेटिन २०७४, असोज २, अङ्क १२, पूर्णाङ्क ६०६ सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ सङ्गठित अपराध निवारण ऐन, २०७० फैसला न्या.सपना प्रधान मल्ल : तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलाउपर तत्काल प्रचलित न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम वादी नेपाल सरकारको तर्फबाट दायर भएको प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशहरूबिच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३(१) बमोजिम पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- तथ्य खण्ड मिति २०६८।७।२१ गते दिउँसो १६:०० बजेको समयमा ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.१७ ग्वार्को स्थित डेराकोठामा मेरो छोरी वर्ष ९ की परिवर्तित नाम नारायणीलाई प्रतिवादीहरू राजु लामा र सुरेश लामाले ललाई फकाई जबरजस्ती करणी गरेको र सो कुरा कसैलाई नभन्नु, भनिस् भने राम्रो हुने छैन भनी निज छोरीलाई डर त्रासमा पारेको कुरासमेत मलाई भनेकोले निज प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्त । ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १७ ग्वार्को स्थित तरीमाया महर्जनको २ तले पक्की घरको सुरेश लामाले डेरा गरी बसेको भनिएको कोठा खुल्ला अवस्थामा रहेको, कोठाको पश्चिमतर्फको साइडमा मानिस सुत्ने बिस्तरा रहेको, सो बेडमा रहेको रंगीन तन्ना खुम्चिई यताउति भएको सोही बेडमा वर्ष ९ की नाम परिवर्तित नारायणीलाई सुरेश लामा र राजु लामाले जबरजस्ती करणी गरेको भनिएको घटनास्थल मुचुल्का । मेरो बाबु आमा डेरा गरी बसेको घरमा सुरेश लामा अङ्कलको समेत डेरा छ । निज तथा निजको बालबच्चासँग मेरो पहिलेदेखि चिनाजान थिय