निर्णय नं. १०६९८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६९८ - उत्प्रेषण भाग: ६३ साल: २०७८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७७/०३/१५ १७२५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री सुष्मालता माथेमा आदेश मिति : २०७७।३।१५ ०७६-WO-०६७० मुद्दा : उत्प्रेषण निवेदक : ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ५ कुमारीपाटी स्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लि.को तर्फबाट अख्तियारप्राप्त खुजानन्द मिश्र विरूद्ध विपक्षी : झापा जिल्ला अदालत, चन्द्रगढीसमेत सहकारी संस्थामा कर्जा लिई सवारी सञ्चालनसम्म गरेको अवस्थामा हायर पर्चेज करारको प्रकृतिबाट समेत सवारी धनी सहकारी संस्था नै रहने र स्वामित्व हस्तान्तरण नभएसम्म सवारी सञ्चालन गर्न पाउने ऋणीको हैसियतसम्म रहने । सवारी सञ्चालनको अधिकार पाएको आधारमा सवारी सञ्चालनको क्रममा घटेको वारदातमा फौजदारी दायित्वसम्म वहन गराउन सकिने । सो सम्पत्तिको स्वामित्व पूर्णरूपमा प्राप्‍त गरी नसकेको अवस्थामा अरूको स्वामित्वसम्बन्धी अधिकार हनन हुने गरी व्यवहार गर्न कानूनत: मिल्ने नदेखिने । एक व्यक्तिलाई लागेको सजाय असुलउपर गर्ने प्रयोजनका लागि अरूको सम्पत्तिमाथिको अधिकारमा आघात पुर्‍याउन नमिल्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक र विद्वान् अधिवक्ता श्री किशोरकुमार विष्ट विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री राजेन्द्र सिंह भण्डारी अवलम्बित नजिर : ने.का.प.२०६५, अङ्क ५, नि.नं.७९७० सम्बद्ध कानून : नेपालको संविधान मुलुकी देवानी संहिता, २०७४ सहकारी ऐन, २०४८ सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ आदेश न्या.हरिकृष्ण कार्की : नेपालको संविधानको धारा ४६ एवं १३३(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ:- तथ्य खण्ड ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ५ मा स्थायी ठेगाना भई सहकारी ऐन, २०४८ बमोजिम दर्ता भई सञ्चालनमा रही आएको यस सहकारी संस्थाले निक्षेप सङ्कलन, कर्जा लगानीलगायतका कार्यहरू गरी आएकोमा यस संस्थाका सदस्य मोरङ जिल्ला साबिक केराउ गा.वि.स. वडा नं २ को हाल कानेपोखरी गाउँपालिका वडा नं. ५ घर भई भक्तपुर जिल्ला मध्यपुर थिमी न.पा. वडा नं. १६ बस्ने राजमणीको छोरा सुनिलमणी बरालले यस संस्थाबाट हायरपर्चेज कर्जा माग गर्नु भई सोमा कारबाही गरी मिति २०७३।७।९ मा निजका नाउँमा रू.४०,००,०००/- (चालिस लाख रूपैयाँ) कर्जा कायम हुने गरी बा.३ ख ८६२७ नं. को टोयटा कम्पनीद्वारा निर्मित मोडल नं. २०१५, इन्जिन नं. 2KD-A206627 चेसिस नं. JTFSS22P900145609 को माइक्रो बस यस संस्थाका नाउँमा दर्ता रही सो गाडी निजले भाडामा सञ्चालन गरी आएको अवस्था हो । निजले संस्थाबाट लिएको कर्जाको मिति २०७५।३।११ सम्म नियमित रूपमा तिर्नु बुझाउनुपर्ने किस्ता रकम तिरी आउनु भई निजबाट तत्कालीन समयसम्मको आंशिक साँवा, ब्याज र हर्जाना ब्याजसमेत गरी जम्मा रू. १४,२७,१७०।- (चौध लाख सत्ताइस हजार एक सय सत्तरी रूपैयाँ) रकम असुल भई बाँकी साँवा ब्याज र हर्जाना ब्याजसमेत रू.४५,४१,८२२/- (पैंतालिस लाख एकचालिस हजार आठ सय बाइस रूपैयाँ) असुल हुन बाँकी रही आएको छ । मिति २०७४।११।३० मा उक्त बा.३ ख ८६२७ नं. को माइक्रो बस दुर्घटना भई पवनलाल ताजपुरीयाको मृत्यु भएको रहेछ । सो समयमा उक्त गाडी दिपेन्द्र कार्कीले चलाएको र निजसँग सवारी चालक अनुमतिपत्र नभएको कारण निजउपर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को क