निर्णय नं. १०७०० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७०० - कर्तव्य ज्यान भाग: ६३ साल: २०७८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७७/०३/१४ १९८१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७७।३।१४ ०७५-CR-२४७८ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : पर्वत जिल्ला बर्राचौर वडा नं.२ परिवर्तित बिहादी गा.पा. वडा नं.२ घर भई हाल कारागार कार्यालय पर्वतमा थुनामा रहेका विक्रम भन्ने प्रदिप पराजुली विरूद्ध प्रत्यर्थी / वादी : भुमिराज शर्माको जाहेरीले नेपाल सरकार मुलुकी अपराध संहिता, २०७४ को दफा ३९ को व्यवस्थामा कसुरको गम्भीरता घटाउने अवस्थाहरू देखिन्छ । कुनै पनि कसुरमा कसुरदार देखिँदादेखिँदै पनि उक्त व्यवस्थामा उल्लेख भएका अवस्था तथा परिस्थितिहरू विद्यमान भएमा न्यायकर्ताले आफ्नो स्वविवेकको अधिकार प्रयोग गरी सजाय निर्धारण गर्दाको बखत सो कुरालाई आधार मान्न सक्ने । गर्भवती महिलालाई घाँटीमा सलले कसी मारी लतार्दै लगी पुलबाट नदीमा फाल्ने जस्तो क्रूर अमानवीय अपराध गर्ने प्रवृत्तिको हकमा कसुरको गाम्भीर्य घटाउने मुलुकी अपराध संहिता, २०७४ को दफा ३९ को प्रावधान आकर्षित नहुने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री दर्शन बराल प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६८, अङ्क ५, नि.नं.८६१६ सम्बद्ध कानून : मुलुकी फौजदारी संहिता, २०७४ सुरू तहमा फैसला गर्ने : मा.न्या. श्री ध्रुवप्रसाद सापकोटा पर्वत जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री हरिप्रसाद पौडेल मा.न्या. श्री शकुन्तला धिमिरे उच्च अदालत पोखरा, बाग्लुङ इजलास फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ: तथ्य खण्ड जिल्ला गुल्मी कालीगण्डकी गा.पा. वडा नं. ४ स्थित कालीगण्डकी नदीको किनारमा साप्राको भागदेखि तल खुट्टाको भाग पानीमा र सोदेखि माथिको भाग कालीगण्डकी नदीको बगरतर्फ भई तल लगाएको पेन्टी र सुरूवाल कम्मरको भागदेखि तल भई योनि तथा पुठ्ठादेखि दायाँ कोल्टे गरी पश्चिम टाउको, पूर्व नदीतर्फ घुँडा गरी घोप्टो अवस्थामा वर्ष २२ की कमला शर्माको मृत लास फेला परेको, उक्त लासलाई सुरक्षितसाथ नदीबाट बाहिर निकाली जमिनमा राखी ओल्टाई पल्टाई हेर्दा नङ सेतो भएको, छाला खुइलिएको, दुवै खुट्टा खुइलिएको, पैतालाको भाग खुइलिई सेतो भएको, कपाल चिसो धुलो बालुवा लागी तान्दा उप्किने, नाकबाट रगत जस्तो रातो पदार्थ निस्केको, केही मात्रामा सुन्निएको हल्लाउँदा हल्लिने, दुवै कानको वरिपरि रातो कालो दाग, घाँटीमा गुलाबी रङ्गको सलले दुई वटा गाँठा पारी कसिएको, घाँटीको छाला खुइलिएको, छातीको छाला खुइलिएको, पेट फुलेको, मृतकको अनुहारमा रातो निलो डाम भएको शरीरको सम्पूर्ण भागको छाला खुइलिएको, मृतकले लगाएको गुलाबी रङ्गको ज्याकेटको दायाँतर्फको खल्तीमा रू.१,०००।- का २ थान, रू.५००।- का २ थान गरी जम्मा रू.३,०००।- फेला परेको, मृतकको घाँटीमा अगाडिपट्टि दुईवटा गाँठो पारी कसिएको अवस्थामा गुलाबी रङ्गको सल फुकाई नाप्दा ६ फिट ११ इन्च र चौडाइ २ फिट ८ इन्च रहेको भन्ने बेहोराको मिति २०७४।१०।१७ गते जिल्ला प्रहरी कार्यालय गुल्मीले गरेको घटनास्थल लास जाँच मुचुल्का । मृतक कमला शर्माको मोबाइल नं. साथीमार्फत पाई मिति २०७४ सालको तिहारपछि निजसँग फोन स