निर्णय नं. १०७०४ - अंश नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७०४ - अंश नामसारी भाग: ६३ साल: २०७८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७६/११/११ ३६०४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७६।११।११ ०६९-CI-०८७४ मुद्दा: अंश नामसारी पुनरावेदक / वादी : रूपन्देही जिल्ला, पटखौली गा.वि.स. वडा नं. २ पटखौली बस्ने वैजनाथको छोरा कृष्णमोहन चौधरीसमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : रूपन्देही जिल्ला, पटखौली गा.वि.स. वडा नं.२ पटखौली बस्ने वैजनाथको छोरा श्यामप्रसाद चौधरीसमेत कुनै जग्गा संयुक्त रूपमा दर्ता रहेको कुरालाई अंशबन्डा नभएको भन्ने कुराको निश्चयात्मक प्रमाण मान्न नमिल्ने । जग्गा संयुक्त रूपमा दर्ता रहनु र अंशबन्डा हुनु दुई फरक अवस्था हुन् । कुनै जग्गा वा सम्पत्ति एकभन्दा बढी व्यक्तिको नाममा संयुक्त दर्ता रहेको छ भने त्यस्ता संयुक्त दर्तावालामा दामासाहीले आ-आफ्नो भाग-हिस्सामा हक पुग्ने र आ-आफ्नो हक छुट्याई लिन पाउने हकसम्म रहेको हुन्छ । तर यसलाई नै अंशबन्डा भएको वा नभएको भनी छुट्याउने निश्चयात्मक आधार वा प्रमाण (Conclusive Evidence) मान्न नमिल्ने । (प्रकरण नं.३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रमनकुमार श्रेष्ठ तथा विद्वान् अधिवक्ता श्री ईश्वरी प्रसाद भट्टराई प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री शतिशकृष्ण खरेल तथा विद्वान् अधिवक्ता श्री शिवप्रसाद कोइराला अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने न्यायाधीश : मा.न्या.श्री चन्द्रबहादुर सारू रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने न्यायाधीश: मा.न्या.श्री बलराम विष्ट मा.न्या.श्री उदय प्रकाश चापागाई पुनरावेदन अदालत बुटवल फैसला न्या.ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः तथ्य खण्ड मूल पुरूष राम आसरेको छोरा वैजनाथ, वैजनाथको २ वटी श्रीमतीमध्ये जेठीतर्फको छोरा वेचन चौधरी, कान्छी धर्मादेवीतर्फको छोरा कृष्णमोहन चौधरी, वृजमोहन चौधरी, श्यामप्रसाद चौधरी ३ भाइ हुन् । श्यामप्रसादको श्रीमती इन्द्रावती देवी र छोरा राकेश, राजेश र अवधेश छन् । राम आसरेको अघि नै मृत्यु भएको, वैजनाथले कान्तासमेतसँग अंश लिई मिति १९९२।८।७ मा अलग हुनु भएको, वैजनाथ, वेचन, कृष्णमोहनबिच २०२१।०२।२१ मा अंशबन्डा पारित भए पनि वैजनाथको शेषपछि निजका नामको जग्गा श्यामप्रसादको नाममा नामसारी दर्ता गराई कृष्णमोहन, वृजमोहन, श्यामप्रसाद एकासगोलमा रही सगोलबाटै भोग चलन गरी आएका छौँ । वादी धर्मादेवी कुर्मीसमेत प्रतिवादी वंशगोपाल कुर्मीसमेत भएको अंश नामसारी मुद्दामा पुनरावेदन अदालत बुटवलबाट मिति २०६०।०८।२३ मा मिलापत्र हुँदा अन्य अंशियारले अंश लिई दिई अलग रहने बस्ने र कृष्णमोहन, वृजमोहन र श्यामप्रसादको नामको जग्गा एकासगोलमा रहने बस्ने गरी मिलापत्र भएको छ । धर्मादेवीको मिति २०६१।१०।६ मा परलोक भएपछि मिलापत्रबापत पाएको जग्गा सबै अंशियारको सहमतिले राकेश, संजय र आशिषका नाममा संयुक्त नामसारी दर्ता गरी सबै जग्गा सगोलबाटै भोगचलन गरी आएका छौँ । हामी कृष्णमोहन, वृजमोहन र श्यामप्रसादका परिवार एकासगोलमा बसी आएका छौँ । हामीबिच रीतपूर्वक अंशबन्डा भएको छैन । बन्डा गर्नुपर्ने पैतृक सम्पत्ति विपक्षी श्यामप्रसाद र राकेश जिम्मामा छ । विपक्षीले सगोलको