निर्णय नं. १०७०६ - बैंकिङ कसुर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७०६ - बैंकिङ कसुर भाग: ६३ साल: २०७८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७७/०८/२८ ३२५७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७७।८।२८ ०७५-RB-०५०८ मुद्दाः- बैंकिङ कसुर पुनरावेदक / प्रतिवादी : कैलाली जिल्ला, चुरे गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ बस्ने नरबहादुर शाहको छोरा तिलबहादुर शाह विरूद्ध प्रत्यर्थी / वादी : सन्तोषकुमार राजभण्डारीको जाहेरीले नेपाल सरकार चेक बाउन्सको मुद्दामा मुख्यतः चेक काटिदिएको हो वा होइन, खातामा रकम नभएको कुरा बैंकले भनेको छ वा छैन, रकम नभएको कुरा जानकारी प्रतिवादीलाई थियो वा थिएन, मुद्दा चल्नुअघि रकम तिरेको देखिन्छ वा देखिँदैन यति नै कुरा हेरिने हो, के व्यवहार गरेको र के विश्वासमा चेक काटिएको थियो भन्ने नहेरिने । आफ्नो खातामा के कति रकम छ सोको जानकारी खातावालालाई रहन्छ त्यसैले चेक बाउन्स भएको स्थितिमा खातामा रकम थिएन भन्ने जानी जानी चेक काटिएको हो भन्ने अदालतको अनुमान रहने । खातामा रकम नभएको जानकारी खातावालालाई थिएन भने अदालतले गर्ने अनुमानको खण्डन प्रतिवादीले गर्नुपर्ने । आफ्नो खातामा मौज्दात रकम नभएकोमा जानी जानी चेक काटी दिने कार्यलाई बैंकिङ कसुर मानिएको हो भन्ने बुझ्नुपर्ने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री मुक्तिनारायण प्रधान र विद्वान् अधिवक्ता श्री खडकबहादुर शाह प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७६, अङ्क ४, नि.नं.१०२४१ सम्बद्ध कानून : बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री शान्तिसिंह थापा माननीय न्यायाधीश श्री ऋषिप्रसाद अधिकारी उच्च अदालत पाटन फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ को उपदफा १(क) बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्र परी नियमानुसार पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र अदालतको ठहर यसप्रकार रहेको छ: तथ्य खण्ड म र प्रतिवादी तिलबहादुर शाहबिच काठको काम गर्ने सिलसिलामा मैले निज तिलबहादुर शाहबाट रू.३,००,०००।- (तीन लाख) लिनु थियो । निजले मेरो खाताबाट उल्लिखित रकम झिकी लिनुहोला भनी मिति २०७४।०९।१० गते का दिन एन.आइ.सी एसिया बैंकको आफ्नो खाता नं. ५५५४९८४३०५५२४००१ रहेको भनी चेक नं. १३४६०१६९ मा रू.३,००,०००।- (तीन लाख) को चेक काटी दिएका थिए । उक्त चेकमा उल्लिखित मिति र त्यसपछि पनि पटकपटक उक्त चेक साट्न जाँदा चेकमा उल्लिखित रकम नभएको भनी बैंकले जानकारी दिएको र सो सम्बन्धमा निजसँग बुझ्न खोज्दा सम्पर्कविहीन भएकोले निजको उक्त कार्य बैंकिङ कसुर भएको हुँदा निजलाई हदैसम्म कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७४।११।१४ मा सन्तोषकुमार राजभण्डारीको जाहेरी दरखास्त । मैले निज जाहेरवाला सन्तोषकुमार राजभण्डारीलाई मेरो खाता नं. ५५५४९८४३०५५२४००१ भएको चेक नं. १३४६०१६९ बाट रू.३,००,०००।- (तीन लाख) चेक काटी दिएको हुँ भन्नेसमेत बेहोराको मिति २०७४।०९।१६ मा प्रतिवादी तिलबहादुर शाहको बयान कागज । मिति २०७४।०९।१० गते का दिन जाहेरवाला सन्तोषकुमार राजभण्डारीलाई तिलबहादुर शाहले आफ्नो खाता नं. ५५५४९८४३०५५२४००१ भएको चेक नं. १३४६०१६९ को रू.३,००,०००।- को चेक काटी दिएकोमा उक्त चेक साट्न जाँदा चेकमा उल्लिखित रकम नराखेको भन्ने कुरा सुनी थाहा पाएको हुँ यसरी खात