निर्णय नं. १०७१५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७१५ - उत्प्रेषण भाग: ६३ साल: २०७८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७७/१२/०३ ७८५५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७७।१२।३ ०७५-WO-१११४ विषयः- उत्प्रेषण निवेदक : कपिलमुनी न्यौपानेको नाति, दिवाकर न्यौपानेको छोरा, ताप्‍लेजुङ जिल्ला, फुङलिङ न.पा. वडा नं.९ बस्ने अधिवक्ता यज्ञमणि न्यौपानेसमेत विरूद्ध विपक्षी : त्रिभुवन विश्‍वविद्यालय, कीर्तिपुर, काठमाडौंसमेत विश्वविद्यालयहरू विद्यार्थीहरूको सर्वोत्तम हितका लागि प्राज्ञिक स्वतन्त्रता कायम राख्न कुनै पनि प्रकारको बाह्य हस्तक्षेपबाट स्वतन्त्र भएको मानिने भएकोले त्यस्तो स्वायत्तताका सम्बन्धमा सामान्यतया अदालत प्रवेश गर्दैन । तथापि कानूनी शिक्षाको माध्यममार्फत समग्र न्याय क्षेत्र जोडिएको विषयमा विश्वविद्यालयले अध्यापन गर्ने कानूनी शिक्षा देशको न्याय प्रणालीको सरोकारको विषय हुने भएकोले विश्वविद्यालयलको प्राज्ञिक उन्नतिका लागि अदालत प्रवेश गर्न सक्ने । (प्रकरण नं.२) संविधान तथा कानूनले सिर्जना गरेका राज्यका सबै तहमा नेपाललाई वकालत पेसा, न्याय तथा कानून सेवा, अन्तर्राष्ट्रिय मञ्‍च, प्राज्ञिक क्षेत्र, सरकारी तथा गैरसरकारी संस्थाहरूमा गुणस्तरीय कानूनकर्मीहरूको खाँचो रहेको देखिन्छ । यसका लागि नेपालको कानून शिक्षा प्रणालीमा रहेका असल पक्षहरूलाई निरन्तरता दिँदै कमजोरीहरू पहिचान गरी सोको उचित सम्बोधन गर्दै सुधार गर्नुपर्ने । (प्रकरण नं.१०) कानूनी शिक्षालाई विश्वव्यापीकरण तथा अन्तरदेशीय आवश्यकता पूरा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने भन्‍ने सोचसँगै कानूनको समाजमा कार्यान्वयन (Law in action in the society) तथा कानूनको शासनका समस्या, गरिबी, कानूनी सहायता, भ्रष्टाचार निवारण, स्थानीय तह र प्रदेशहरूमा कानून निर्माण र कार्यान्वयनमा देखिएका सवाल जस्ता विषयहरूलाई मध्यनजर राखी राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय स्तरको क्षमता तथा समाजको टड्कारो आवश्यकतासँग कानूनको पाठ्यक्रमलाई जोडेर राष्ट्रिय र सामाजिक आवश्यकता तथा संविधानले अङ्गीकार गरेका मूल्य मान्यताअनुसार समाजको रूपान्तरणतर्फ परिवर्तनको दिशामा केन्द्रित हुनुपर्ने । (प्रकरण नं.१४) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री यज्ञमणि न्यौपाने विपक्षीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री राजेन्द्र खनाल अवलम्बित नजिर : स.अ.बु., वर्ष १९, अङ्क २०, माघ २, २०६७, पूर्णाङ्क ४४६, पृ. ६६ सम्बद्ध कानून : नेपालको संविधान त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ आदेश न्या.हरिप्रसाद फुयाल : नेपालको संविधानको धारा ४६ एवं धारा १३३(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छः- तथ्य खण्ड म निवेदक यज्ञमणि न्यौपाने कानूनको विद्यार्थी र पेसाले अधिवक्ता र निवेदक आतिस कार्की तथा निवेदक बविन्द्र बराल नेपाल ल क्याम्पसमा ३ वर्षे LL.B. अध्ययनरत छौँ । राज्यका हरेक निकाय विधि, नियम, पद्दतिबाट सञ्चालन हुनुपर्दछ र कानूनका विद्यार्थी भविष्यका कानून निर्माता र कानूनका व्याख्याकारसमेत हुन् । तसर्थः कानून सङ्कायको अध्ययन, अध्यापन, गुणस्तरीय, प्रभावकारी र जवाफदेही हुनुपर्दछ । कानूनका विद्यार्थीको पढाइमा गुणस्तरता नभए भविष्यमा ती विद्यार्थीले प्रयोग गर्ने ज्ञानको प्रभाव समग्र राज्य प्रणालीमा पर्ने हुन्छ । नेपाल ल क्याम्पसमा ५ वर्षे B.A.LL.B, ३ वर्षे LL.B., ३ वर्षे LL.M. र २ वर्षे L