निर्णय नं. १०७२२ - अपहरण तथा शरीर बन्धक
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७२२ - अपहरण तथा शरीर बन्धक भाग: ६३ साल: २०७८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७८/०३/३० ३०८८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७८।३।३० ०७३-CR-०१७० मुद्दा : अपहरण तथा शरीर बन्धक पुनरावेदक / प्रतिवादी : सिराहा जिल्ला हनुमाननगर गा.वि.स. वडा नं.७ घर भई हाल कारागार कार्यालय सिराहामा थुनामा रहेको रामस्वरूप पासवानको छोरा राजन पासवान विरूद्ध प्रत्यर्थी / वादी : सिराहा जिल्ला चन्द्रअयोध्यापुर गा.वि.स. वडा नं.५ बस्ने विद्यासागर तामाङको जाहेरीले नेपाल सरकार अपहरण गर्ने तथा शरीर बन्धक लिने कसुरको मुद्दामा पीडित स्वयं प्रत्यक्षदर्शी प्रमाणको कोटीमा रहन्छ । अपराध हुँदा देखेर, अनुभव गरेर, जानेर आफूउपर के कसरी कसले कसुर गर्ने कार्य गरेका थिए, को को व्यक्तिले के कस्तो भूमिका निभाएका थिए, वारदातस्थलदेखि अपहरणमुक्त हुँदाको अवस्थासम्मको बारेमा चित्रण गरी बेहोरा उजागर गरिदिने दायित्व स्वयं पीडित व्यक्तिको नै हुने । (प्रकरण नं.१०) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री तुल्सी शंकर अधिकारी प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कमलराज पन्थी अवलम्बित नजिर : ने.का.प.२०७५, अङ्क ७, नि.नं.१००५९ सम्बद्ध कानून : सुरू फैसला गर्ने : मा.न्यायाधीश श्री अवधविहारी प्रसाद सिन्हा सिराहा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल माननीय न्यायाधीश श्री महेन्द्रराज गौतम पुनरावेदन अदालत राजविराज फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार दायर भई हाल प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड मिति २०६४।८।२८ गते राति अं. २२:०० बजे मलगायत घरका सम्पूर्ण सदस्यहरू खाना खाई सुत्ने तरखरमा बरन्डामा नै रहेको अवस्थामा ६/७ जना नकाब लगाएका हतियारधारी व्यक्तिहरू मेरो घरमा आई हतियार देखाउँदै बल प्रयोग गरी जबरजस्ती मलाई समाती अपहरण गरी घरबाहिर धान खेततिर लगी धान खेतमा अझै १५/१६ जना हतियारधारीहरू बसिरहेको ठाउँमा लगी मेरो हातमुख बाँधी अपहरण गरी लगी सिराहा जिल्लाको पदमपुर तथा धनुषा जिल्लाको लकड गा.वि.स. अन्तर्गत विभिन्न ठाउँमा कहिले कमलाको पश्चिमी किनारमा कहिले उखु घारीमा राखी कुटपिटलगायत विभिन्न यातना दिई, अभद्र व्यवहार गरी राखेको थियो । मलाई अपहरण गरी घरबाहिर ल्याएपछि नकाब उठाउँदा मैले पहिलेदेखि चिनेका राजन पासवान र गजलाल यादव रहेछन् भनी चिनेको हो । मलाई अपहरण गरी लिई गई आफ्नो कब्जामा राखी फिरौती रकम मोलतोल गरिरहेकै अवस्थामा गाउँलेहरूले राजन पासवानलाई फेला पारी मलाई लुकाई छिपाई राखेको स्थान निज राजन पासवानबाट पत्ता लगाई गाउँलेहरूको सहयोगमा मलाई कमला नदीको पश्चिम किनारमा रहेको उखुघारीबाट मिति २०६४।०९।०५ गते बेलुकी अं. १५:३० बजे अपहरणमुक्त गरी ल्याएको हुँदा अपहरणकारीहरूलाई पक्राउ गरी हदैसम्मको सजाय गरी मलाई क्षतिपूर्तिसमेत दिलाइपाउँ भन्ने बेहोराको जाहेरवाला विद्यासागर तामाङको किटानी जाहेरी दरखास्त । मिति २०६४।०८।२८ गते राति अं. २२:०० बजेको समयमा मलाई आफ्नै घरबाट अपहरण गरी घरबाहिर ल्याइसकेपछि नकाब हटाउँदा मैले पहिलेदेखि नै चिनेका जिल्ला सिराहा हनुमाननगर गा.वि.स. वडा नं. ७ बस