निर्णय नं. १०७२७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७२७ - उत्प्रेषण भाग: ६३ साल: २०७८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/०६/०१ ४३२० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री सुष्मालता माथेमा आदेश मिति : २०७६।६।१ ०७०-WO-०७१८ विषय : उत्प्रेषण निवेदक : कालिराम थारूको छोरी कैलाली जिल्ला, बलिया गा.वि.स. वडा नं.३ बस्ने आशाकुमारी चौधरी विरूद्ध विपक्षी : नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार काठमाडौंसमेत प्रचलित सरकारी मुद्दासम्बन्धी ऐनअनुसार जाहेरी लिई अनुसन्धान गर्न पाउने निकाय तथा अधिकारीले आफ्नो अधिकार प्रयोग गर्दा प्रचलित कानूनबमोजिम नै गर्नुपर्ने हुन्छ । कुनै पनि कानूनी कारबाहीको लागि हदम्यादसम्बन्धी व्यवस्था महत्त्वपूर्ण कडीको रूपमा रहेको हुन्छ । सरकार वादी भई चल्ने मुद्दामा पनि उक्त हदम्यादसम्बन्धी कानूनी प्रश्नलाई मध्यनजर राख्नैपर्ने हुन्छ । कसुरको प्रकृतिअनुसार प्रमाण सङ्कलन कार्यको लागि अनुसन्धान गर्न सम्भव हुने किसिमको समय सीमा प्रत्येक कसुरको लागि छुट्टाछुट्टै हदम्याद कायम गरिएको हुन्छ । समयको लामो अन्तरालमा प्रमाण लोप हुन सक्ने र अनुसन्धान सम्भव नहुनेसमेत भएबाट कानूनले तोकेको समय सीमाभन्दा पछि उजुरी लिई अनुसन्धान गर्न पनि सम्भव नहुने र त्यसरी तोकिएको समय सीमा व्यतीत भएपछि उजुरी लिने अधिकार पनि सम्बन्धित निकायलाई नरहने । (प्रकरण नं.६) २०५८ सालको द्वन्द्वकालको वारदातलाई लिएर २०७० सालमा मात्र जाहेरी दिन गएकोमा विवाद नरहेको, उक्त जाहेरीमा पीडकहरूले स्पष्ट विवरणसमेत उल्लेख गरेको भन्ने नदेखिएको, सामान्य कानूनले व्यवस्था गरेको हदम्याद नघाई लामो समयपश्चात् मात्र परेको जाहेरी सम्बन्धमा अनुसन्धान, कारबाही गर्ने अधिकारसमेत प्रत्यर्थी कार्यालयहरूलाई नभएको त्यस्तो द्वन्द्वकालको घटना सम्बन्धमा विशेष ऐनले छुट्टै व्यवस्था गरेको अवस्थामा बाहेक निजको जाहेरी दर्ता गरी अनुसन्धान गर्नु भनी निवेदन मागबमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं.९) निवेदकका तर्फबाट : विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ आदेश न्या.सुष्मालता माथेमा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७ (२) बमोजिम दायर भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त बेहोरा र आदेश यसप्रकार छः- तथ्य खण्ड मिति २०५८ साल चैत्र २० गते बिहान हामी दिदीबहिनीहरू खेतमा काम गरी घरमा आएर आराम गरेर बसिरहेका थियौँ । त्यसै क्रममा उक्त दिन दिउँसोको १२:३० बजेको समयमा करिब ३०० को संख्यामा रहेका तत्कालीन शाही नेपाली सेना तथा सशस्त्र प्रहरीका जवानहरूले हाम्रो घर घेरा हाली मलाई पक्राउ गरी जबरजस्ती ट्रकमा राखे । मलाई ट्रकमा राख्ने बित्तिकै पछाडिपट्टिबाट मेरो आँखामा पट्टि र पछाडिपट्टि लगेर मेरो हात पनि बाँधियो र ट्रक हिँडाइयो । ट्रकमा राख्ने बित्तिकै सुरक्षा फौजका जवानहरूले चारैतिर घेरेर मैले लगाएको कपडासमेत खोली मलाई यौन दुर्व्यवहार गर्न सुरू गरे । त्यस समयमा म चौध वर्षकी नाबालक थिएँ । उक्त व्यवहारहरू मलाई उनीहरूले बनबडेवा स्थित सशस्त्र प्रहरीको ब्यारेकमा नपुर्याउन्जेलसम्म जारी रह्यो । कैलाली जिल्लाको बनबेहडा स्थित सशस्त्र प्रहरीको ब्यारेकभित्र लगेर ट्रकबाट बाहिर निकालियो अनि ताहाँ मेरो आँखाको पट्टी खोलियो । त्यसपछि त्यहाँ सुरक्षा फौजका मानिसहरूले हामीहरू सबैलाई एक एक गरेर प्रश्नहरू सोध्न थाले । कसैलाई राइफलको कु