निर्णय नं. १०७६२ - लागु औषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७६२ - लागु औषध भाग: ६३ साल: २०७८ महिना: माघ अंक: १० फैसला मिति :२०७८/०७/०४ ४२१८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७८।७।४ ०७२-CR-१०४३ मुद्दाः- लागु औषध पुनरावेदक / प्रतिवादी : भारत विहार राज्य मोतीहारी जिल्ला फेनाराथाना घर भई हाल कारागार कार्यालय कास्कीमा थुनामा रहेको राम आशिष साहको छोरा रमेश साह विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक रविन्द्रनाथ पौडेलको जाहेरीले नेपाल सरकार कुनै पनि व्यक्तिका विरूद्ध राज्यका निकायले काल्पनिक वारदात खडा गरी झुठ्ठा मुद्दामा अभियोग लगाउने कार्य सभ्य समाजमा कल्पनासम्म गर्न नसकिने । यस्तो कार्य प्रहरीलाई प्राप्त अनुसन्धान गर्ने अधिकार तथा महान्यायाधिवक्ता वा सरकारी वकिललाई प्राप्त अभियोजन गर्न पाउने अधिकारको गम्भीर दुरूपयोग हुने । दुरासयपूर्ण अभियोजन (Malicious prosecution) बाट व्यक्तिका वैयक्तिक स्वतन्त्रताको अपहरण, मानवअधिकारको गम्भीर उल्लङ्घन तथा कानूनी राज्यको अवधारणाको उपहास हुने । (प्रकरण नं.१७) बदनियत वा दुराशयपूर्ण अभियोजनबाट पीडित व्यक्तिलाई पर्न गएको हानि नोक्सानी वा पीडाको परिपूरण गरिपाउने हकबाट निजलाई वञ्चित गर्नु न्यायोचित नहुने । (प्रकरण नं.२०) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री ईश्वरीप्रसाद भट्टराई प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सुशिल देवकोटा अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान मुलुकी अपराध संहिता, २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहमा फैसला गर्नेः- मा. जिल्ला न्यायाधीश श्री रामप्रसाद ओली कास्की जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री ऋषिराम दवाडी पुनरावेदन अदालत पोखरा फैसला न्या.नहकुल सुवेदी : पुनरावेदन अदालत पोखराको मिति २०७१।११।२८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत यस अदालतमा परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड जिल्ला कास्की पोखरा ९ चिप्लेढुङ्गा स्थित पूर्व पश्चिम चिप्लेढुङ्गाबाट सिद्धार्थ चोकतर्फ आउने पक्की सडक, उत्तर दौंतरी दोहोरी साँझ, दक्षिण थकाली खाजा घर यति चार किल्लाभित्र रमेश साह र प्रकाश पटेललाई सडकको दायाँ किनारामा शंकित अवस्थामा फेला पारी निजहरूको शरीर रीतपूर्वक खानतलासी लिने क्रममा दसीका सामानहरू फेला पारी बरामद गरेको ठिक छ । दसीको विवरणमा रमेश साहले लगाएको कालो जिन्सको पाइन्टको बायाँ खल्तीमा सेतो प्लाष्टिकभित्र पुरिया बनाई राखेको अवस्थामा खैरो रङको हेर्दा ब्राउनसुगर जस्तो देखिने जसलाई प्लाष्टिक हटाई तत्काल तौल गर्दा २८ ग्राम, प्रकाश पटेलले भिरेको कालो रङको झोलाभित्र प्लाष्टिकको FANTA को बोतलभित्र पहेंलो रङको तरल पदार्थ, प्लाष्टिकको SPRITE को हरियो रङको बोतलभित्र सेतो तरल पदार्थ, निलो रङको प्लाष्टिकको भाँडोभित्र सेतो रङको तरल पदार्थ, थान १ ब्रस, रिट्ठा ४४ गोटा, चिम्टी ३ वटा, सनासो २ वटा, पिताम्बरी लेखिएको खाली प्याकेट ६ र धुलोसहितको २ प्याकेट भन्ने बेहोराको मिति २०६९।१।२२ को बरामदी तथा खानतलासी मुचुल्का । जिल्ला कास्की पोखरा ९ चिप्लेढुङ्गा स्थित भारतीय मूलका मानिसहरूले झोलामा अवैध सामानहरू राखी बिक्री वित