निर्णय नं. १०७६५ - मानव बेचबिखन तथा ओसार पसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७६५ - मानव बेचबिखन तथा ओसार पसार भाग: ६३ साल: २०७८ महिना: माघ अंक: १० फैसला मिति :२०७७/०६/१५ ३२५२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७७।६।१५ मुद्दाः मानव बेचबिखन तथा ओसार पसार ०७४-CR-०७३२ पुनरावेदक / प्रतिवादी : जिल्ला झापा गरामनी गा.वि.स. वडा नं.२ घर भई हाल कारागार कार्यालय कपिलवस्तुमा थुनामा रहेका चित्रबहादुर बराइली विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम २०७१(३) MS र २०७१(३) AB को जाहेरीले नेपाल सरकार पुनरावेदक / वादी : परिवर्तित नाम २०७१(३)MS र २०७१(३)MS को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला नुवाकोट साबिकको बेल्कोट गा.वि.स. वडा नं. ८ वतन भएका आइतराम तामाङसमेत आरोप लगाइएका व्यक्तिउपर अभियोग मागदाबी लिई अभियोजन गर्नुअगाडि अभियोजकले मिसिल संलग्न प्रमाणहरूको मिहिन रूपमा विश्लेषण गर्नुपर्ने हुन्छ । जाहेरी पर्नु र सोउपर अनुसन्धान हुनु मात्र अभियोजनको आधार हुन सक्दैन । मिसिल संलग्न प्रमाणबाट प्रतिवादीउपरको अभियोग समर्थित गराउनु फौजदारी न्यायको सन्दर्भमा अभियोजकको अनिवार्य दायित्व हो । शंकाको भरमा प्रमाणको रोहमा समर्थित हुन नसकेको अभियोगबाट अभियोग स्थापित हुन सक्दैन । यस्तो अवस्थामा स्वाभाविक रूपमा त्यसको फाइदा अभियुक्तलाई पुग्ने । (प्रकरण नं.५) अपराध र अपराधीको जडसम्म नपुग्ने गरी गरिने अनुसन्धान र अभियोजनले न्यायको वास्तविक मर्म प्रतिबिम्वित गर्न नसक्ने । अप्रमाणित तथ्यलाई बलपूर्वक जोडी कसैउपर गरिने अभियोगले न्यायको वास्तविक चित्र प्रस्तुत गर्न नसक्ने । अनुसन्धान र अभियोजन पक्षले जिम्मेवारी पूरा नगरी पेस गरेको सतही अनुसन्धान, अभियोजन तथा खण्डित र टुक्रिएका प्रमाणको कडीमा कसुर कायम गरी गरिएको सजाय न्यायको रोहमा उपयुक्त नदेखिने । (प्रकरण नं.८) कसुर भयो भनी कसैउपर पोल गरिनु र सोही आधारमा कुन कानूनको उल्लङ्घन भयो सोतर्फ समेत विचार नगरी कसैउपर अभियोग लगाउने कार्य मात्रलाई फौजदारी न्यायले न्यायिक पर्याप्तता नमान्ने । (प्रकरण नं.९) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कमलराज पन्थी प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री रामेश्वरप्रसाद कोइराला, श्री मनिषकुमार श्रेष्ठ, श्री विकास भट्टराई, श्री नवराज अधिकारी र श्री ओम पङ्गेनी अवलम्बित नजिर : ने.का.प.२०७६, नि.नं.१०१९० ने.का.प.२०७६, नि.नं.१०३४९ ने.का.प.२०७५, नि.नं.१००८८ ने.का.प.२०७५, नि.नं.९९३५ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री शंकरराज बराल रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ फैसला न्या.हरिप्रसाद फुयाल : उच्च अदालत तुल्सीपुर, बुटवल इजलासको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड घरमा कोही कसैलाई कुनै किसिमको जानकारी नगराई काठमाडौंमा राम्रो काम पाइन्छ भनी घरबाट मिति २०७१।५।१५ गते पर्वतबाट रात्रीबसमा चढी काठमाडौं कलंकीमा आउँदा मसँग पोखरामा चिनजान तथा भेट भएका व्यक्तिलाई फोन गरी बोलाई भेट भई कुराकानी हुँदै गर्दा पछि नाम थाहा हुन आएकी परिवर्तित नाम २०७१(३)MS पनि सोही स