निर्णय नं. १०७६७ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७६७ - उत्प्रेषण / परमादेश भाग: ६३ साल: २०७८ महिना: माघ अंक: १० फैसला मिति :२०७८/०४/२८ १२८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री डा. कुमार चुडाल आदेश मिति : २०७८।४।२८ ०७४-WO-०३६१ विषयः उत्प्रेषण / परमादेश निवेदक : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.१४ स्थायी घर भई (राजस्व अनुसन्धान विभागका तत्कालीन निर्देशक) सेवा निवृत्त प्रेमबहादुर पाण्डे विरूद्ध विपक्षी : भक्तपुर जिल्ला अदालत, भक्तपुरसमेत प्रत्येक व्यक्तिलाई उसको आफ्नो कसुरप्रति मात्र उत्तरदायी बनाउन सकिन्छ, अरूको कार्यप्रति होइन भन्ने फौजदारी कानूनको उत्तरदायित्वसम्बन्धी सामान्य नियमसमेतबाट निवेदकले अनुसन्धान अधिकृतको हैसियतले कानूनले दिएको अधिकार प्रयोग गरी प्रतिवादीसँग धरौटी लिई तारेखमा राखी कारबाही गर्ने गरी निर्णय / आदेश गरेको कारणबाट मात्र अरू कसैले गरेको फौजदारी कसुरको दायित्व निजलाई बेहोर्न लगाउने कुरा न्यायोचित र तर्कसङ्गत नदेखिने । अभियोजनात्मक न्यायिक प्रणाली अवलम्बन गरेको वस्तुगत परिवेशमा कुनै निकाय वा निकायका अधिकारीले कानूनबमोजिम गरेको पदीय काम कर्तव्यहरूउपर आधारहीन तर्क सिर्जना गरी आफ्नो क्षेत्राधिकार नाघ्ने कार्य संविधान, प्रचलित कानून एवम् न्यायिक सिद्धान्तसमेतबाट मान्य हुन नसक्ने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बद्रीबहादुर कार्की र विद्वान् अधिवक्ता श्री माधवकुमार बस्नेत विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री संजिव रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ आदेश न्या.डा.कुमार चुडाल : नेपालको संविधानको धारा १३३(२)(३) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः- तथ्य खण्ड निवेदक मिति २०४०।०७।२१ देखि नेपाल सरकारको निजामती सेवाको अधिकृत पदमा सेवा प्रवेश गरी मिति २०७०।८।२५ देखि राजस्व अनुसन्धान विभागको निर्देशक पदमा रही महत्त्वपूर्ण जिम्मेवारी पूरा गरी मिति २०७२।८।६ देखि उमेर हदका कारण सेवा निवृत्त भएको छु । राजस्व अनुसन्धान विभागको तर्फबाट भक्तपुर जिल्ला अदालतमा दायर भएको २०७१ सालको ०७१-CR-०१८४ को अमेरिकी डलरसमेत (विदेशी मुद्रा अवैध राखेको) मुद्दामा अनुसन्धान अधिकारीको हैसियतले अनुसन्धानको काम पूरा गरी विपक्षीमध्येका जिल्ला सरकारी वकिल कार्यालय, भक्तपुरसमक्ष सोको प्रतिवेदन पेस गरेकोमा तहाँबाट मिति २०७१।८।५ मा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७(१) बमोजिम प्रतिवादी संजय मिश्रबाट बरामद भएको विदेशी मुद्रा जफत गरी बिगोबमोजिम जरिवाना हुन माग दाबी लिई दशीको रूपमा बरामद विदेशी मुद्रासाथ अभियोगपत्र दायर गर्ने निर्णय निकासा दिइएकोमा सोहीबमोजिम भक्तपुर जिल्ला अदालतमा मिति २०७२।२।३२ मा अभियोगपत्र दर्ता भएको हो । म निवेदक उल्लिखित मुद्दाको प्रतिवादी होइन । व्यक्तिगत हैसियतले कुनै कसुरजन्य कार्य पनि गरेको छैन । आफू सेवामा बहाल रहेको अवस्थामा पदीय हैसियतमा अनुसन्धान अधिकारीलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७(१०) ले प्रदान गरेको तजबिजी अधिकारअनुरूप अनुसन्धानको क्रममा तत्काल प्राप्त सबुद प्रमाणको आधारमा प्रतिवादीसँग बिगो बराबर धरौटी लिई तारेखमा राखी कारबाही चलाउने गरी आदेशसम्म गरेको हो । विपक्षी भक्तपुर जिल्ला अदालतबाट सो आदेश सम्बन्धमा अधिकार क्षेत्रविहीन तबरको प्रश्न उठाई सुनवाइको मौकासमेत नदिई