निर्णय नं. १०७७३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७७३ - कर्तव्य ज्यान भाग: ६३ साल: २०७८ महिना: फागुन अंक: ११ फैसला मिति :२०७६/१२/०२ १९०२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।१२।२ मुद्दा:- कर्तव्य ज्यान ०७५-CR-०५२५ पुनरावेदक / प्रतिवादी : कञ्चनपुर जिल्ला, बेलौरी न.पा. वार्ड नं. १० घर भई हाल जिल्ला कारागार कार्यालय, कञ्चनपुरमा कैदमा रहेको वीरबहादुर बोट विरूद्ध प्रत्यर्थी / वादी : रामकृष्ण बोटको जाहेरीले नेपाल सरकार ०७५-CR-०८७७ पुनरावेदक / वादी : रामकृष्ण बोटको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : कञ्चनपुर जिल्ला, बेलौरी न.पा. वडा नं. १० बस्ने भवानी चन्द ०७५-RC-०११४ पुनरावेदक / वादी : रामकृष्ण बोटको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : कञ्चनपुर जिल्ला, बेलौरी न.पा. वडा नं. १० बस्ने उर्मिला बोट मृतकले आफू मर्ने बेलामा आफ्नो मृत्युको कारण सम्बन्धमा बोलेको कुरालाई प्रहरी कर्मचारीले नै आफ्नो मोबाइलमा रेकर्ड गरी, रेकर्ड भएको बेहोरा मैले रेकर्ड गरेको हो, मृतक सिरियस भई रोकिई रोकिई बोलेकी थिइन् भनी अदालतमा उपस्थित भई बकपत्र गरी प्रमाणित गरिदिएको अवस्थामा उक्त audio रेकर्डलाई मृत्युकालीन घोषणा (dying declaration) को परिभाषाभित्र नपर्ने भन्न नमिल्ने । (प्रकरण नं.११) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री बुद्धिलाल श्रेष्ठ प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री यदुनाथ खनाल तथा विद्वान् अधिवक्ता श्री मनिषा बस्नेत अवलम्बित नजिर : ने.का.प.२०६३, अङ्क ३, नि.नं.७६६३ ने.का.प.२०६४, अङ्क ११, नि.नं.७८९८ ने.का.प.२०७०, अङ्क ६, नि.नं.९०२२ ने.का.प.२०७६, अङ्क ७, नि.नं.१०३१२ सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री दिवाकर भट्ट कञ्चनपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने :- माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य माननीय न्यायाधीश श्री दिनेशप्रसाद यादव उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास फैसला न्या.हरिप्रसाद फुयाल : तत्कालीन न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम पुनरावेदन र दफा १० बमोजिम साधक दर्ता भई निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मिति २०७२।०४।१५ गते राति अं.१:३० बजेको समयमा वीरबहादुर बोट, उर्मिला बोट र १ जना अर्को मानिससमेत ३ जनाले मेरी आमा रामलल्ली बोटलाई बाहिरबाट बोलाई अँध्यारोमा नजाँनिदो हतियारले कुटपिट गरी मरणासन्न अवस्थामा छाडी गएकोले निजहरूमाथि आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको रामकृष्ण बोटको निवेदन । मृतक रामलल्ली बोटको नाक मुखबाट रगत आएको भन्नेसमेत बेहोराको मृतकको नामको घाउ जाँच केस फाराम । जिल्ला कञ्चनपुर, बेलौरी नगरपालिका वार्ड नं. १० बोटगाउँ स्थित पूर्व पचुईबाट बेलौरीतर्फ जाने कच्ची सडक, पश्चिम धौलेलाल बोटको जमिन, उत्तर वीरबहादुर बोटको १ तले घर, दक्षिण गोपाल बोटको १ तले टिनले छाएको कच्ची घर यति चार किल्लाभित्र रामलल्ली बोटको २ कोठे १ तले टिनले छाएको कच्ची घर रहेको, सो घरको दक्षिणतर्फको कोठामा डोरीले बुनेको खटिया रहेको, सो खटियामाथि रहेका कपडाहरू यत्रतत्र छरिएको अवस्थामा रहेका, सो स्थानमा जमिनमा माटो चिथोरिएको अवस्था भई झै-झगडा भएको र सङ्घर्ष भएको जस्तो देखिएको, सो घटनास्थलबाट १ थान सिरकको खोल र १ थान त्रिपालमा रग