निर्णय नं. १०७७९ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७७९ - उत्प्रेषण / परमादेश भाग: ६३ साल: २०७८ महिना: फागुन अंक: ११ फैसला मिति :२०७७/१०/१३ १५८७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति : २०७७।१०।१३ ०७४-WO-०८७१ मुद्दा : उत्प्रेषण / परमादेश निवेदक : जिल्ला सप्तरी, राजविराज नगरपालिका वडा नं. ८ हाल जिल्ला मोरङ, विराटनगर महानगरपालिका वडा नं. १० बस्ने इन्द्रप्रसाद शर्मा विरूद्ध विपक्षी : नेपाल राष्ट्र बैङ्क सञ्‍चालक समिति, नेपाल राष्ट्र बैङ्क केन्द्रीय कार्यालय, बालुवाटारसमेत रिट क्षेत्रबाट कुनै कानूनी निकायबाट भएको काम कारबाहीको विषयमा सोही निकायबाट पुनरावेदनसमेत सुनी निर्णय भएको मुद्दाको तथ्यभित्र प्रवेश गरी निर्णय गर्नुभन्दा कानूनको उचित प्रक्रिया (due process) अवलम्बन भएको छ, छैन, प्राकृतिक न्यायको सिद्धान्तको पालना भएको छ, छैन, अख्तियारप्राप्त पदाधिकारीबाट निर्णय भएको छ, छैन, निर्णय प्रवृत्त वा बदनियतपूर्ण छ, छैन, कानूनको देखादेखी त्रुटि (apparent error of law) भएको छ वा छैन, भन्‍ने प्रश्‍नहरू हेरिन्छ । तर कुनै निर्णयमा तत्काल देखिने गरी न्यायिक मन प्रयोग नभएको कारण अन्याय पर्न गएको देखिएमा रिट क्षेत्रबाट पूर्ण न्यायको प्रयोजनार्थ विचार नै गर्न नसकिने भन्‍ने नहुने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रमेश कोइराला र विद्वान् अधिवक्ता श्री सुमनकुमार पौडेल विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री रेशमराज रेग्मी, श्री हेमराज अधिकारी, श्री डिल्लीराम न्यौपाने र श्री सुमन आचार्य अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.प्रकाशमान सिंह राउत : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार छ:- तथ्य खण्ड विपक्षी नेपाल राष्ट्र बैङ्कले मिति २०७४।११।१३ को पत्रले “बैङ्कको नगद फाँटमा बसी जिम्मेवारीपूर्वक कार्य गर्नुपर्नेमा त्यसो नगरी कामको संवेदनशीलता एवं पदीय जिम्मेवारीविपरीत कार्य गरेको कुरा स्थलगत छानबिन कार्यालयमा जडान भएको सि.सि.टि.भि. रेकर्डमा समेत देखिएको र पेस गर्नुभएको स्पष्टीकरणसमेत पदीय हिसाबले चित्त बुझ्दो नभई तपाइँले नेपाल राष्ट्र बैङ्क कर्मचारी सेवा विनियमावली, २०६८ को परिच्छेद-१३ को विनियम १४८ को उपविनियम-१ को खण्ड ६ बमोजिम पदीय जिम्मेवारी बेवास्ता गरेको देखिएको हुँदा सोही विनियमको व्यवस्थानुसार भविष्यमा बैङ्क सेवाको लागि अयोग्य नठहरिने गरी तपाइँलाई मिति २०७४।११।१० देखि सेवाबाट हटाइएको बेहोरा निर्णयानुसार जानकारी गराउँदछु” भनी म निवेदकलाई नेपाल राष्ट्र बैङ्क कर्मचारी सेवाबाट बर्खास्त गरिएउपर म निवेदकले मिति २०७४।१२।१२ मा म्यादभित्रै विपक्षी सञ्‍चालक समितिसमक्ष पुनरावेदन गरेकोमा विपक्षी सञ्‍चालक समितिले समेत मिति २०७४।११।१० को निर्णय नै सदर गरेको भनी मिति २०७५।१।१६ को पत्रबाट म निवेदकलाई जानकारी गराइएको र सुरू एवं पुनरावेदन तहका निर्णयहरू विपक्षीले नक्‍कल नदिएकोले उक्त स्वेच्छाचारी एवं गैरकानूनी निर्णय बदर बातिल गराउन अन्य कुनै वैकल्पिक बाटो नभएकोले प्रस्तुत रिट निवेदन लिई सम्मानित अदालतसमक्ष उपस्थित भएको छु । म निवेदकलाई सेवाबाट हटाउने निर्णय गर्दा विनियमावलीको विनिनियम १४८ को (१) को खण्ड (छ) बमोजिम “आफ्नो पदीय जिम्मेवारीको बेवास्ता गरेको” भन्‍ने आरोपमा लागाइएको देखिन्छ तर म पुनरावेदकले आफ्नो के, कुन पदीय जिम