निर्णय नं. १०७८१ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७८१ - बन्दीप्रत्यक्षीकरण भाग: ६३ साल: २०७८ महिना: फागुन अंक: ११ फैसला मिति :२०७८/०६/०४ २१४० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री बमकुमार श्रेष्‍ठ फैसला मिति : २०७८।६।४ ०७८-WH-००२९ मुद्दाः- बन्दीप्रत्यक्षीकरण निवेदक : FUGLANG SHEN PUTIANSHIHUSHI ZHENG CHINA स्थायी ठेगाना भएको हाल अध्यागमन कार्यालय, कालिकास्थान काठमाडौंमा थुनामा रहेको CHENJING YIN को छोरा राहदानी नं.EH6596637 बाहक CHEN ZHAOYANG समेत विरूद्ध विपक्षी : अध्यागमन विभाग, कालिकास्थान काठमाडौं कानूनले तोकिदिएको समयभित्र कुनै विदेशी नागरिकलाई कोभिड १९ को प्रतिकूल परिस्थितिका कारण निष्काशन गर्न नसकिएको देखिए पनि त्यस्ता व्यक्तिहरूलाई सार्वजनिक सुरक्षाका नाममा वैयक्तिक स्वतन्त्रताको हनन हुने गरी गैरकानूनी रूपमा हिरासतमा राख्‍न प्रचलित कानूनले अधिकार प्रदान गरेको नदेखिने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री नरबहादुर शाही र श्री रामबहादुर शाही विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल अवलम्बित नजिर : ने.का.प.२०६८, नि.नं.८६८४ ने.का.प.२०७६, नि.नं.१०५०३ सम्बद्ध कानून : अध्यागमन ऐन, २०४९ आदेश न्या.सपना प्रधान मल्ल : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं आदेश यसप्रकार छ : तथ्य खण्ड निवेदकहरू चाइनिज नागरिक CHEN ZHAOYANG र CHENGING HUANG मिति २०७६।०८।१२ गते राति अन्दाजी ११ बजेको समयमा Nepal Airlines को उडान नं. RA410 द्वारा हङकङबाट काठमाडौं आएको बखत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने क्रममा निजहरूको साथबाट जनही ४ (चार) थान ४००० (चार हजार) ग्राम तौल भएको सुन बरामद भएबाट निजहरूउपर सुन चोरी पैठारी मुद्दाको अभियोग दायर भई मुद्दा चली सो मुद्दामा CHENGING HUANG लाई मिति २०७७।०९।१५ को काठमाडौं जिल्ला अदालतको फैसलाबाट एक वर्ष छ महिना कैद रू. २,४३,४८,०००।- (दुई करोड त्रिचालिस लाख अड्चालिस हजार) रूपैयाँ जरिवाना भएको र अर्का व्यक्ति CHEN ZHAOYANG लाई मिति २०७७।१०।०९ को फैसलाबाट एक वर्ष दुई महिना कैद र रू. २,४३,४८,०००।- (दुई करोड त्रिचालिस लाख अड्चालिस हजार) रूपैयाँ जरिवाना हुने ठहर्‍याई फैसला भएकोमा काठमाडौं जिल्ला अदालतको फैसलाबमोजिम निज निवेदकहरूले लागेको कैद भुक्तान गरी मिति २०७८।०३।१० र मिति २०७८।०३।१६ मा लागेको जरिवानासमेत तिरी काठमाडौं जिल्ला अदालत लगत शाखाको मिति २०७८।०३।१० को पत्रबाट CHENGING HUANG र मिति २०७८।०३।१७ को पत्रबाट CHEN ZHAOYANG समेतका निवेदकहरू कारागार कार्यालय, जगन्‍नाथ देवलबाट थुनामुक्त भई निजहरूलाई निष्काशन (Deportation) को प्रक्रियाको लागि विपक्षी अध्यागमन विभाग, काठमाडौंमा प्रहरीमार्फत पठाइयो । अध्यागमन विभागले निवेदकहरूलाई आफन्तको जिम्मा नलगाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिमको जरिवाना तथा हवाई टिकट आफैँ बेहोर्नुपर्नेमा टिकट पेस नगरेको भनी आफ्नै हिरासतमा थुनामा राख्यो । निवेदकहरूलाई चाइनिज एम्बेसीले उपलब्ध गराएअनुसारको 29 July 2021 अर्थात्‌ मिति २०७८।०४।१० को टिकट विपक्षी अध्यागमन विभागमा बुझाए भने विपक्षी अध्यागमन विभागको निर्णयानुसार जनही रू. ४०,०००।- (चालीस हजार) का दरले रू. ८०,०००।- (असी हजार रूपैयाँ) जरिवानासमेत मिति २०७८।०३।२१ मा बुझाई सकिएको छ । निवेदकहरूले निष्काशन