निर्णय नं. १०७८२ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७८२ - बन्दीप्रत्यक्षीकरण भाग: ६३ साल: २०७८ महिना: फागुन अंक: ११ फैसला मिति :२०७८/०५/०८ ४२०२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति : २०७८।५।८ ०७८-WH-००१३ विषयः बन्दीप्रत्यक्षीकरण निवेदक : जिल्ला खोटाङ, बिजयखर्क गाउँ विकास समिति वडा नं. ७ परिवर्तित दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका वडा नं. १५ बाट नागरिकता लिई हाल काठमाडौं जिल्ला, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ गोठाटार स्थायी घर भई हाल कारागार कार्यालय, जगन्नाथदेवल, सुन्धारामा थुनामा रहेको वरूण ढकाल विरूद्ध विपक्षी : उच्च अदालत पाटन, ललितपुरसमेत मुद्दामा आरोपीले हार्नु वा जित्नु एउटा प्रश्न हो तर मुद्दामा प्रतिवाद नै गर्न नपाई कुनै अदालत वा कुनै न्यायिक वा अर्धन्यायिक निकायको फैसलाअनुसार परिणाम भोग्नु न्यायको उपहास हुन जाने हुन्छ । म्याद सूचना पाउनुपर्ने व्यक्तिका नाममा जारी भएको म्याद र भएको तामेली त्रुटिरहित भए मात्र सम्बद्ध व्यक्तिले उक्त म्याद पाएको मानिन्छ । यस्तो अवस्थामा सम्बद्ध व्यक्तिले कानूनको म्यादभित्र प्रतिवाद नगरेको स्थितिमा मैले म्याद सूचना पाइन भन्ने याचनालाई सुनुवाइ गर्ने निकायले इन्कार गर्न सक्ने । (प्रकरण नं.१३) निवेदकका तर्फबाट : विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विष्णुप्रसाद पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी देवानी कार्यविधि संहिता, २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अपराध पीडित संरक्षण ऐन, २०७५ आदेश न्या.टंकबहादुर मोक्तान : नेपालको संविधानको धारा ४६ तथा धारा १३३(२)(३) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छः म निवेदकको नागरिकताको ठेगाना खोटाङ जिल्ला बिजयखर्क गाउँ विकास समिति वडा नं. ७ रहे तापनि सो ठाउँ २०६२ सालदेखि छाडी हालको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३२ कोटेश्वरमा २०७५ सम्म र काठमाडौं जिल्ला, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटारमा मलगायत परिवार विगत ३ वर्षदेखि अर्थात् मिति २०७६ साल कार्तिकदेखि बसाइँ सरी स्थायी रूपमा बसोबास गर्दै आएको छु । म निवेदक काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिकामा बसी जग्गा खरीद बिक्रीसम्बन्धी कारोबार गर्दै आएको थिएँ । सो समयमा मलाई मुद्दा मामिला लागेको कुरा कहिल्यै जानकारी थिएन र कुनै प्रहरी प्रशासनलगायत प्रत्यर्थी अदालतको म्यादसम्बन्धी कुनै सूचनासमेत प्राप्त हुन सकेको थिएन । यसरी म निरन्तर उल्लिखित घर ठेगानामा रही आफ्नो व्यवसाय गरी शान्तपूर्वक जीवन निर्वाह गर्दै आएको थिएँ । यत्तिकैमा म बसोबास गर्दै आएको काठमाडौं जिल्ला, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ गोठाटारस्थित घरबाट केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंबाट खटिएका सुरक्षाकर्मी र प्रत्यर्थीमध्येको काठमाडौं जिल्ला अदालतबाट खटिएका कर्मचारीले मलाई मिति २०७७।१२।२२ मा पक्राउ गरी प्रत्यर्थी काठमाडौं जिल्ला अदालतको कैदी पत्रले हाल कारागार कार्यालय, जगन्नाथदेवलमा थुनामा रहेको छु । यसरी म थुनामा रहनुपर्ने कारणको बारेमा यथार्थ बुझ्दा मिति २०७५।१२।२० मा रू.५६,१५,०००।- (छपन्न लाख पन्ध्र हजार) र रू.५,४०,०००।- (पाँच लाख चालिस हजार) को चेक म निवेदकले कमलाकुमारी राईलाई मेरो खाता रहेको कुमारी बैंक लि.बाट भुक्तानी हुने गरी दिएको चेकमा