निर्णय नं. १०७८७ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७८७ - कर्तव्य ज्यान भाग: ६३ साल: २०७८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७८/१०/२१ ४६१५ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश डा. श्री कुमार चुडाल फैसला मिति : २०७८।१०।२१ मुद्दाः कर्तव्य ज्यान ०७६-CF-०००३ पुनरावेदक / प्रतिवादी : कृष्‍णबहादुर मगरको छोरा, काभ्रेपलाञ्‍चोक जिल्ला, महाँकालचौर गाउँ विकास समिति वडा नं. ५ घर भई हाल कारागार कार्यालय झुम्का सुनसरीमा थुनामा रहेको दुर्गाबहादुर मगर विरूद्ध प्रत्यर्थी / वादी : चन्द्रकुमारी आलेमगरको जाहेरीले नेपाल सरकार ०७६-CF-०००४ पुनरावेदक / वादी : चन्द्रकुमारी आलेमगरको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला काभ्रेपलाञ्‍चोक, महाँकालचौर गाउँ विकास समिति वडा नं. ५ बस्ने कृष्‍णबहादुर मगरको छोरा तिलकबहादुर मगर पोष्टमार्टम रिपोर्टमा लास जाँचको प्रकृति तथा मृतकको मृत्युको कारण र आधार दुवै हुन्छ भने घटनास्थल र लास जाँच प्रकृति मुचुल्कामा घटनास्थलको प्रकृति र मृतकको अवस्थासम्म मात्र उल्लेख गरेको हुन्छ त्यसमा उल्लेख भएका बेहोराले मात्र मृतकको मृत्युको कारणमा स्पष्ट हुने गरी पूर्णता प्रदान गरेको नहुने । (प्रकरण नं.१०) परिस्थितिजन्य प्रमाणहरू पनि मालाकार कडीको रूपमा नभई पृथक् ढङ्गको भएमा त्यसलाई मालाकार कडीको रूपमा जोडेर प्रतिवादीसम्म पुर्‍याउने कर्तव्य अदालतको नहुने । त्यो परिस्थितिजन्य प्रमाण स्वयं नै मालाकार कडीको रूपमा हुनुपर्ने । (प्रकरण नं.१७) मौखिक प्रमाण प्रत्यक्ष प्रमाणका रूपमा उल्लेख हुन नसकेको स्थितिमा साक्षी प्रमाणको तौल र महत्त्वको सम्बन्धमा प्रमाण ऐन, २०३१ को दफा ३७ (२) समेतका आधारमा साक्षीहरूको केवल कोरा भनाइलाई मात्र विश्वसनीय प्रमाणको रूपमा मान्न नमिल्ने । (प्रकरण नं.१८) कुनै घटना घट्नु र कसुर प्रमाणित हुनु भनेको अलगअलग विषय हुन् । कसुर प्रमाणित गरी सजाय गर्ने प्रमाण विरोधाभाषयुक्त हुनु हुँदैन । अस्पष्ट र अनिश्चयात्मक कथनलाई कसुरदार ठहर गर्ने प्रमुख आधार बनाए न्याय मर्न जाने । (प्रकरण नं.२१) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कैलास के.सी. प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री लभकुमार मैनाली अवलम्बित नजिर : ने.का.प.२०६४, अङ्क १२, नि.नं.७९०८ ने.का.प.२०६७, अङ्क २, नि.नं.८३११ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरूतहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री ईश्‍वरराज आचार्य काभ्रेपलाञ्‍चोक जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री विनोद शर्मा माननीय न्यायाधीश श्री विदुर विक्रम थापा पुनरावेदन अदालत पाटन यस अदालतमा फैसला गर्नेः माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन,२०७३ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दामा संयुक्त इजलासमा रायबाझी भई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम पूर्ण इजलाससमक्ष पेस हुनु आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम‍् ठहर यस प्रकार छः- मिति २०७०।०६।२९ गते बिहान अं. ३:०० बजेको समयमा का.प.जि.महाँकालचौर गा.वि.स. वडा नं. ५ स्थित पूर्वमा कृष्णबहादुर लामिछाने मगरको साग र सिमि लगाएको बारी, पश्चिममा ऐ. को तोरी बारी, उत्तरमा ऐ. को तोरी बारी र दक्षिणमा जस्ताले छाएको घर यति चार किल्लाभित्र पूर्व मोहोडा भएको क