निर्णय नं. १०७८८ - डाँका चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७८८ - डाँका चोरी भाग: ६३ साल: २०७८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७८/०९/२६ १९२८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७८।९।२६ ०७२-CR-०१६० मुद्दा : डाँका चोरी पुनरावेदक / वादी : मोहनलाल रोकासमेतको जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी : जिल्ला रोल्पा, धवाङ गा.वि.स. वडा नं.१ बस्ने मेघबहादुर डाँगीको छोरा किरण डाँगीसमेत सामान्यतया मुचुल्काहरू गर्दाको बखत साक्षी तथा रोहबरमा बस्ने व्यक्तिहरू सोही वडाको बासिन्दा वा जनप्रतिनिधि रहेको हुनुपर्छ, यसो गरेमा उक्त कागजले प्रमाणको गुणता बढाउने हुँदा मुचुल्काहरू तयार गर्दा यस्ता कुरालाई ध्यानमा राख्नुपर्ने । विभिन्न वडामा रहेका प्रतिवादीहरूको घरमा गई भएका खानतलासी मुचुल्काहरूमा एकै व्यक्ति मात्र रोहबरमा रहनुले त्यस्तो खानतलासी मुचुल्का शंकारहित नदेखिने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री लोकबहादुर कटुवाल विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री बोलाराम पाण्डे अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री उपेन्द्रप्रसाद गौतम रोल्पा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री रत्‍नबहादुर बागचन्द माननीय न्यायाधीश श्री कृष्णलाल भट्टराई पुनरावेदन अदालत तुलसीपुर फैसला न्या.दीपककुमार कार्की : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ र हाल ‍प्रचलनमा रहेको न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– तथ्य-खण्ड म जाहेरवाला हरियाली सामुदायिक संस्थाको सचिव हुँ । उक्त संस्थाको नेपाल बैंक लिमिटेड रोल्पाको खातामा रहेको खाताबाट रू.३,१८,०००।- (तीन लाख अठार हजार) संस्थाका सदस्यहरूलाई ऋण लगानी गर्न मिति २०६९।११।१५ मा रकम निकालेको थिएँ । बैंकबाट फर्की आउने क्रममा पूर्णबहादुर घर्तीसँग भेट भई घरतर्फ फर्की आउने क्रममा अन्दाजी १७:२५ बजेको समयमा जिल्ला रोल्पा, धवाङ्ग गा.वि.स. वडा नं.८ जोगिनमारा भन्ने ठाउँमा पुग्दा किटानी भएका कृष्णबहादुर वली, किरण डाँगी, राजु थापा, पुनराम वली, राजु वली र छविलाल गुरूङसमेतका ६ जना प्रतिवादीहरूले हामीहरूलाई जंगलको बाटोमा रोकी खुकुरी तथा लाठाहरूले हानेकोले हामीहरूको टाउकोमा गम्भीर प्रकारको घाउचोट लागेको छ । निजहरूले मेरो ब्यागमा राखेको रू.३,१८,०००।- (तीन लाख अठार हजार) रूपैयाँ जबरजस्ती तानी थुती लुटी डाँकाचोरी गरी जंगलतर्फ भागी गएकोले प्रतिवादीहरूलाई पक्राउ गरी कानूनबमोजिम हदैसम्मको सजाय गरी डाँका गरी लगेको रकम भराइपाउँ भन्नेसमेत बेहोराको मोहनलाल रोकाको मिति २०६९।११।१६ गतेको जाहेरी दरखास्त । मिति २०६९।११।१५ गते बिहान म जाहेरवाला पूर्णबहादुर घर्ती आफ्नो घरबाट आलु बेच्न भनी सदरमुकाम लिवाङ्गमा आई आलु बिक्री गरी घरतिर फर्कन लाग्दा मोहनलाल रोकासँग भेट भई दुवैजना सँगै घरतिर गइरहेको अवस्थामा सोही दिन अन्दाजी १७:२५ बजेको समयमा जाहेरी दरखास्तमा किटानी गरिएका कृष्णबहादुर वलीसमेतका ६ जना प्रतिवादीहरूले हामीहरूलाई जिल्ला रोल्पा, धवाङ्ग गा.वि.स. वडा नं.८ जोगिनमारा भन्ने जंगलको बाटोमा रोकी खुकुरी तथा लाठाहरूले हानी दुवैजनालाई घाइते बनाई मैले आलु बेचेको रू.३,५००।-, अरू नगद, मोबाइल, पर्स र सानो ब्याग तथा जाहेरव