निर्णय नं. १०७८९ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७८९ - उत्प्रेषण / परमादेश भाग: ६३ साल: २०७८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/१२/२६ १४२९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना आदेश मिति : २०७७।१२।२६ ०७३-WO-०२८६ मुद्दा:- उत्प्रेषण / परमादेश निवेदक : शिवप्रसाद खनालको छोरा धादिङ जिल्ला धादिङ गा.वि.स. वडा नं. ५ कुम्पुर बस्ने वर्ष १९ को सरोज खनालसमेत विरूद्ध विपक्षी : चिकित्सा शिक्षा आयोग, सिंहदरबार काठमाडौंसमेत विदेश स्थित विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गर्न चाहने विद्यार्थीहरूले नेपालमा प्रवेश परीक्षा उत्तीर्ण हुनुपर्ने भनी नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले तोकेको सर्तले योग्य व्यक्तिलाई भर्ना हुन निषेध नगरी अयोग्य व्यक्तिलाई मात्र भर्ना हुन रोक्ने हुनाले यसले गुणस्तरीय चिकित्सक उत्पादन हुने कुरालाई सुनिश्चित गरेको देखिने । पारा मेडिकल अध्ययन गर्ने विद्यार्थीलाई मात्र वञ्चित गर्ने नियत राखी सर्त वा योग्यता तोकिएको नभई सबैलाई समान रूपमा आकर्षित हुने गरी तोकिएको सर्तलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री दामोदर खड्का, विद्वान् अधिवक्ता श्री नारायणप्रसाद खनाल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपाल मेडिकल काउन्सिल ऐन, २०२० नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ आदेश न्या.दीपककुमार कार्की : नेपालको संविधानको धारा ४६ र १३३(२)(३) अन्तर्गत यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः रिट निवेदनको बेहोरा हामी निवेदकहरू उच्च मा.वि. शिक्षा परिषद्बाट वा त्रिभुवन विश्वविद्यालयबाट विज्ञानका विषयमा कक्षा १२ वा प्रमाण पत्र तहको परीक्षामा राम्रो अङ्क लिएर उत्तीर्ण भएका विद्यार्थी हौं । हामी निवेदकहरू कक्षा १२ वा प्रमाण पत्र तहभन्दा माथिको अध्ययन गर्न कोही M.B.B.S., कोही B.D.S हेल्थ साइन्स, कोही फार्मेसी, कोही डेन्टल हाइजिन, कोही BSc. वा अन्य पारा मेडिकलका विषयहरूमा विदेशमा अध्ययन गर्नको लागि तयारी अवस्थामा छौं । विशेषत: चिकित्सा विषयहरूमा नेपालका विश्वविद्यालयहरूमा अत्यन्तै कम सिट भएको कारणले कम मात्र विद्यार्थीले अध्ययन गर्ने अवसर पाउँछन् । त्यसैले नेपालमा उक्त विषय अध्ययन गर्न र पठाउन चाहने विद्यार्थी वा अभिभावकले जे जस्तो कठिनाई अपनाउनु परे पनि विदेशमा गएर अध्ययन गर्नु गराउनुपर्ने बाध्यता रहेको छ । चिकित्सा शिक्षा आयोगको मिति २०७२।५।३० को बैठकको निर्णयबमोजिम प्रस्ताव नं.७ मा भएको सम्झौताको बुँदा १ (ङ) मा चिकित्सा शिक्षाका लागि विदेश जान चाहने नेपाली विद्यार्थीको हकमा साझा राष्ट्रिय परीक्षा उत्तीर्ण गरेपछि मात्र शिक्षा मन्त्रालयले No Objection Letter र नेपाल मेडिकल काउन्सिलले Eligibility Certificate प्रदान गर्ने भन्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयको No Objection Letter र नेपाल मेडिकल काउन्सिलले Eligibility Letter नलिई नेपाल बाहिर चिकित्सा शिक्षा M.B.B.S, B.D.S, Paramedical वा सोसरहको अध्ययनका लागि गएका नेपाली विद्यार्थीले अध्ययन समाप्त गरेर आएपछि नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्सको परीक्षाको लागि अयोग्य ठहर्छ भन्ने निर्णय गरेको छ । विपक्षी आयोगको गैरकानूनी र अव्यावहारिक निर्णयलाई लागु गराउन निर्देशन गरी नेपाल मे