निर्णय नं. १०७९१ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७९१ - उत्प्रेषण / परमादेश भाग: ६३ साल: २०७८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/१२/२५ १०९९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७७।१२।२५ ०७७-WO-००१२ मुद्दा:- उत्प्रेषण / परमादेश निवेदक : सोनाइ महतोको नाति धनपति महतोको छोरा सिराहा जिल्ला साबिक अर्नमा गा.वि.स. वडा नं. २ हाल ऐ. परिवर्तित गोलबजार नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३६ को सुनिलकुमार सिंहसमेत विरूद्ध विपक्षी : जिल्ला प्रशासन कार्यालय, सिराहासमेत उपभोक्ता संरक्षण ऐन, २०७५ को कानूनी प्रावधानबमोजिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीलाई निरीक्षण अधिकृत तोकी मुद्दा हेर्ने क्षेत्राधिकार प्रत्यायोजित भइसकेको अवस्थामा मुद्दाको काम कारबाही तथा क्षेत्राधिकारको सम्बन्धमा निरीक्षण अधिकृतबाट निर्णय हुने नै हुँदा उपभोक्ता संरक्षण ऐनबमोजिम तोकेको अधिकारीको क्षेत्राधिकारमा असर पर्ने गरी उत्प्रेषणको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं.४) उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रक्रियाअनुसार पसलमा भएको सिलबन्दीको कारणबाट कुनै क्षति भयो भएन वा भएको भए के कति भयो भन्ने कुराको निर्क्योल प्रमाण बुझी त्यसको मूल्याङ्कन गरी निर्णयमा पुग्नुपर्ने । सिलबन्दीका कारण भएको क्षतिपूर्तिको विषयमा कानूनले मुद्दा हेर्ने निकाय तोकेको अवस्थामा सो साधिकार निकायमा दाबी प्रस्तुत गर्नुपर्ने देखिँदा उपभोक्ता संरक्षण ऐनको कार्यान्वयनबाट भएको क्षतिको क्षतिपूर्तिको विषयमा अदालतको रिट क्षेत्रबाट निर्णय गर्न नमिल्ने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री लैनबहादुर थापा विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री संजिवराज रेग्मी, विद्वान् अधिवक्ता श्री गोपी शर्मा सुवेदी अवलम्बित नजिर : सम्बद्ध कानून : उपभोक्ता संरक्षण ऐन, २०७५ आदेश न्या.हरिप्रसाद फुयाल : नेपालको संविधानको धारा ४६ र १३३(२)(३) अन्तर्गत यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः रिट निवेदनको बेहोरा म रिट निवेदकले सिराहा जिल्ला साबिक गोलबजार नगरपालिका वडा नं. ७ हाल परिवर्तित ऐ. वडा नं. ४ स्थित गोलबजारमा २०६४ सालदेखि सुशिल हार्डवेयर पसल सञ्चालन गरी विधिवत् रूपमा आन्तरिक राजस्व कार्यालय लाहान र घरेलु तथा साना उद्योग कार्यालय लाहानमा दर्ता गरी चलाउँदै आएको छु । पसल वार्षिक रूपमा नवीकरण गरी सरकारी राजस्व तथा करसमेत नियमित रूपमा बुझाउँदै आएको छु । म सम्मानित तथा कर्तव्यनिष्ठ नागरिक तथा एउटा व्यावसायिक व्यापारीसमेत हुँ । देशको जुनसुकै भू-भागमा नेपालको संविधान तथा कानूनले मलाई व्यापार व्यवसाय गर्न पाउने कानूनी तथा संवैधानिक अधिकार प्रत्याभूत गरेको छ । सम्मानित र निर्भयतापूर्वक बाँच्न पाउने अधिकार मेरो संवैधानिक अधिकार हो । कानूनी राज्यको बर्खिलाप गरी ओहदाको दुरूपयोग गरेर गैरकानूनी ढंगले मेरो व्यापार व्यवसायमा हस्तक्षेप गर्ने, बन्द गर्ने गराउने अधिकार प्रत्यर्थीहरूलाई छैन । मिति २०७७।०२।०७ गते बेलुका रातको समयमा हामी स-परिवार सुतिरहेका थियौँ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षकले पिता धनपति महतोलाई फोन गरी भेट्ने काम थियो भनेर बोलाएपछि भेट्ने होला भनी घरको मेन गेट खोली हेर्दा स्थानीय व्यापारी भरत अग्रवालसमेतका मानिसहरू रहेछन् । यति राति किन आउनुभएको भन्दा तिमीहरूले मारूती सिमेन्टको कृत