निर्णय नं. १०७९६ - बहुविवाह
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७९६ - बहुविवाह भाग: ६३ साल: २०७८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/११/२८ ३३०८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७७।११।२८ ०७१-CR-१३२४ मुद्दा :- बहुविवाह निवेदक / वादी : जयन्ती बुढाथोकीको जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी : जिल्ला सल्यान, खलंगा गा.वि.स. वडा नं. ५ घर भई हाल कपिलवस्तु जिल्ला महेन्द्रनगर गा.वि.स. वडा नं. ६ विरपुर बसाइँ सरी आई हाल ऐ. जिल्ला, वरकलपुर गा.वि.स. वडा नं.९ डुमरामा डेरा गरी बस्ने कृष्णबहादुर बुढाथोकीसमेत बहुविवाह मुद्दामा सबैभन्दा बढी पीडा मर्का पर्ने जेठी श्रीमती र निजतर्फबाट जायजन्म भएका सन्तानहरू नै हुन्छन् । कसुरको कार्य लामो अवधिसम्म गोप्य राखी प्रकट नगर्ने र जेठी श्रीमतीले पहिले नै थाहा पाइसकेको भनी मौखिक बयान बकपत्र गर्ने कार्यबाट हदम्याद गणना गर्नु विधायिकी मनसायअनुकूल नहुने । (प्रकरण नं.९) बहुविवाह सरकारवादी फौजदारी मुद्दा भएकाले उक्त कसुरको जानकारी जाहेरवालालाई कहिले भयो भन्दा पनि उक्त कसुरको सम्बन्धमा अनुसन्धान गर्ने निकाय वा अधिकारीलाई कहिले जानकारी प्राप्त भयो र जानकारी प्राप्त भएपछि आवश्यक अनुसन्धान तहकिकात गरी कानूनबमोजिमको हदम्यादभित्र मुद्दा दायर भयो कि भएन भन्ने कुराले नै महत्त्व राख्ने । (प्रकरण नं.१०) नागरिकता छुट्टै प्रयोग र प्रयोजनको लागि राज्यको भिन्न निकायबाट प्राप्त गर्न सक्ने हुँदा जेठी श्रीमती तथा बहुविवाहको मुद्दाको अनुसन्धान गर्ने निकायले उक्त तथ्यको जानकारी पाउने अवस्था नरहने हुँदा बहुविवाह मुद्दामा सो नागरिकता लिएको आधारले हदम्याद प्रारम्भ हुने अवस्था रहँदैन । बहुविवाह मुद्दामा सो कसुरको अनुसन्धान गर्ने कानूनबमोजिमको निकायले थाहा पाएपछि नै हदम्याद प्रारम्भ हुने । (प्रकरण नं.११) निवेदक / वादीका तर्फबाट : विपक्षी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७६, अङ्क १, नि.नं.१०१७८ ने.का.प.२०६८, अङ्क ११, नि.नं.८७१६ ने.का.प.२०६३, अङ्क ५, नि.नं.७६९४ सम्बद्ध कानून : सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री रामकृष्ण खनाल कपिलवस्तु जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री किशोर सिलवाल माननीय न्यायाधीश श्री नीलम पौडेल पुनरावेदन अदालत बुटवल फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम यस अदालतमा मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन परी अनुमति प्रदान भई पुनरावेदनको रोहबाट पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः- तथ्य खण्ड मेरो कृष्णबहादुर बुढाथोकीसँग विवाह भई दुई छोरा र एक छोरीको जायजन्म भई दाम्पत्य जीवन चलिरहेको र निज कामको सिलसिलामा कहिलेकाहीँ बाहिरसमेत बस्ने गरेकोमा मिति २०६९।०१।२३ गते निज पतिले दोस्रो विवाह गरेको जानकारी पाई सो स्थानमा जाँदा निजहरू लोग्ने स्वास्नीको रूपमा रहेको र विपक्षी शान्ति गिरीलाई आफ्नो नामबाट जिल्ला प्रशासन कार्यालय, सल्यानबाट नेपाली नागरिकता र पासपोर्टसमेत बनाइदिएको भन्ने जानकारी हुन आएकोले विपक्षीहरूलाई बहुविवाहमा कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जयन्ती बुढाथोकीले मिति २०६९।०१।२७ मा दिएको जाहेरी दरखास्त । मेरो जेठी श्रीमती जयन्ती बुढाथोकीसँग २०४२ सालमा नै जातीय परम्पराअनुसार विवाह भई दुई छोराहर