निर्णय नं. १०८१८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८१८ - कर्तव्य ज्यान भाग: ६४ साल: २०७९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७८/०४/३१ ११०८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७८।४।३१ ०७६-CR-१२३८ मुद्दा: कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : भुटान जन्मस्थान झापा जिल्ला, साबिक बेलडाँगी ३ सेक्टर डि.आर. घर नं.२ बस्ने धनमान गुरूङको छोरा राजकुमार गुरूङ भनी लेखिएको भए तापनि सो नभई भारत पश्चिम बंगाल जयगाउँ, आलेपुर जिल्ला रनबहादुर बस्तीमा बस्ने हाल कारागार कार्यालय, पर्सा, वीरगन्जमा कैदमा रहेका दिपेस राई विरूद्ध प्रत्यर्थी / वादी : चन्द्र गुरूङको जाहेरीले नेपाल सरकार आफूले गरेको कसुर स्वीकार गरी अनुसन्धान अधिकारीसमक्ष बयान गरेको देखिए तापनि अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार रही बयान गरेबाट न्यायिक प्रक्रियामा सहयोग पुर्याएको अवस्था नभई घटना घटाएपश्चात् तत्काल फरार भई विदेश गई लुकीछिपी बसेको र केही वर्षपछि नेपाल आएको अवस्थामा पक्राउ परी आफू मुद्दाको प्रतिवादी नभई अर्कै व्यक्ति हुँ भनी अदालतमा बयान गर्दा निजले आरोपित कसुरबाट बच्ने प्रयास गरेको अवस्थामा साबिक मुलुकी ऐन, अ.बं.१८८ नं. को अवस्था विद्यमान रहेको मान्न नसकिने । (प्रकरण नं.११) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री राघवलाल वैद्य, श्री विजयकान्त मैनाली र श्री सुजन लोप्चन तथा विद्वान् अधिवक्ताहरू श्री शोभा भण्डारी, श्री मिनबहादुर वाइवा र श्री दिनेशप्रसाद शर्मा प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कैलास के.सी. अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री बसन्तराज पौडेल गोरखा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री तेजबहादुर कार्की माननीय न्यायाधीश श्री नरबहादुर शाही उच्च अदालत पोखरा फैसला न्या.टंकबहादुर मोक्तान : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन परी निर्णयार्थ यस पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ । तथ्य खण्ड जाहेरी दरखास्त झापा जिल्ला, बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्ने मेरो दाजु अम्मरसिंह गुरूङ, राजकुमार गुरूङ, देउबहादुर गुरूङ र अर्जुन वि.क. चार जना भई कामको खोजीमा २०६८ सालको चैत्र महिनातिर गोरखा जिल्ला, बोर्लाङ गा.वि.स.मा आई ज्याला मजदुरीको काम गरी बस्नुभएको थियो । सोही क्रममा सँगै काममा आएका चार जना मिलेर गोरखा जिल्ला, बोर्लाङ गा.वि.स. वडा नं. ८ को भुमेश्वर सामुदायिक जङ्गलमा काठको काम गर्ने क्रममा मिति २०६९।१।५ मा प्रतिवादी राजकुमार गुरूङ र मेरो दाजु अम्मरसिंह गुरूङबिच बेलुकीको खाना पकाउने विषयमा विवाद हुँदा दाजु अम्मरसिंह गुरूङलाई प्रतिवादी राजकुमार गुरूङले धारिलो हतियार खुकुरीले घाँटीलगायतको शरीरका विभिन्न भागमा हानी कर्तव्य गरी मारी फरार भएको हुँदा निज प्रतिवादीलाई पक्राउ गरी कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको चन्द्र गुरूङको मिति २०६९।१।८ को जाहेरी दरखास्त । घटनास्थल लासजाँच प्रकृति मुचुल्का गोरखा जिल्ला, बोर्लाङ गाउँ विकास समिति वडा नं. ८ स्थित सामुदायिक वनको फेदी खोल्सी छेउमा स्याउलाले बारेको प्लाष्टिकले छाएको सानो छाप्रो, सो छाप्रोअगाडि उत्तर टाउको, दक्षिण खुट्टा गरी उत्तानो अवस्थामा अम्मरसिंह गुरूङको मृतक लास रहेको, मृतक लासले लगाएको कपडा तथा अनुहारको भा