निर्णय नं. १०८२१ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८२१ - कर्तव्य ज्यान भाग: ६४ साल: २०७९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७७/०८/२१ १२३३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७७।८।२१ ०७२-CR-०२६३ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक / वादी : ललिता जि.सी.को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला प्युठान खैरा गा.वि.स. वडा नं. २ घर भई जिल्ला प्युठान बरौला गा.वि.स. वडा नं.१ बस्ने मिठे सार्कीसमेत अस्पतालमा उपचार गरिरहेको बिरामीको कागज गर्दा सो स्थानमा मौजुद रहेका नर्स, चिकित्सक आदि व्यक्तिको रोहबरमा नभएको कागजको बेहोरा शङ्कास्पद देखिने । अनुसन्धानकर्ताले पेस गरेको मृत्युकालीन घोषणा भनिएको शङ्कास्पद कागजलाई मात्र भर गर्न सकिने देखिन नआउने । (प्रकरण नं.१३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रूद्रप्रसाद आचार्य प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू फैसला गर्ने : मा. न्यायाधीश श्री विष्णुप्रसाद उपाध्याय प्युठान जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. मुख्य न्यायाधीश श्री शम्भुबहादुर खड्का मा. न्यायाधीश श्री अनिता मानन्धर जोशी पुनरावेदन अदालत, तुलसीपुर, दाङ फैसला न्या.प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार दायर भई हाल प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ । तथ्य खण्ड बुबा दानबहादुर जि.सी. मिति २०७०।०१।०५ गते बिहान खसी काट्न भनी ढाड भन्ने ठाउँमा गई खसी काटी मासु ल्याई घर फर्कने क्रममा भगवता जि.सी.को घरको बाटो आउँदा मिठे सार्कीसमेत भगवताको घरमा आएको, बुबा र मिठे सार्कीबिच जग्गाको आँठो सम्बन्धमा भनासुन भएको, बेलुका अं.१७:०० बजेसम्म घरमा नआएपछि खोज्दै जाँदा बुबा दानबहादुर मिठे सार्कीको घरको तल करेसामा घाइते भई लडिरहेको अवस्थामा फेला पारी मिठे सार्कीले घरमा लगी छाडी गएकोमा बिजुवार अस्पताल लैजाँदा रिफर गरेकाले हाल ग्रिनसिटी अस्पताल काठमाडौंमा चिन्ताजनक अवस्थामा उपचार हुँदै छ । बुबालाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी टाउको र अन्य ठाउँमा घाउखत पारी, घाँटी र टाउकोसमेतको हड्डी भाँची ढिकबाट फाली दिएकाले भगवता जि.सी र मिठे सार्कीलाई कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको ललिता जि.सी.को जाहेरी दरखास्त । प्युठान जिल्ला बरौला गा.वि.स. वडा नं.१ स्थित पूर्वमा मिठु नेपालीको गोठ, पश्चिममा मिठु नेपाली र भगवता जि.सी.को जोडिएको आँगन बारी, उत्तरमा बरौलादेखि दाङवाङ जाने बाटो, दक्षिणमा मिठु नेपालीको घर, उक्त घरको पेटीमा जोडिएको ४ फिट ६ इन्चको आँगन कुलेसोदेखि तल ४ फिट ४ इन्च अग्लो ढुङ्गाको गारो लगाएको देवालमा जोडिएको करेसाबारीमा ढुङ्गाको गारोदेखि २ फिट उत्तरतर्फ दक्षिण सिरान उत्तरतर्फ खुट्टा भई उत्तानो अवस्थामा मिति २०७०।०१।०५ गते साँझ अं. ५:०० बजेको समयमा घाइतेलाई आफन्तले देखी तत्काल लिई गएको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का । मिति २०७०।०१।०५ गते भगवता जि.सी.ले गहुँ झाँटी दिने हो भने रक्सी पारिदिन्छु भनेपछि बिहान १०:०० बजेतिर निजको आँगनमा गई मेरी श्रीमतीले र मैले गहुँ झाँट्दै गर्दा भगवताले एक बोतल रक्सी खान दिएकी थिइन् । ११:०० बजे दानबहादुर गहुँ झाँटिरहेको स्थानमा आई मलाई चोर डाँकासमे