निर्णय नं. १०८३० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८३० - उत्प्रेषण भाग: ६४ साल: २०७९ महिना: असार अंक: ३ फैसला मिति :२०७८/०४/१९ ३७०९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री सुष्मालता माथेमा आदेश मिति : २०७८।४।१९ ०७४-WO-०९४२ मुद्दा: उत्प्रेषण निवेदक : स्व. शिवनारायण साहको छोरा जिल्ला सप्तरी, डिमन गा.वि.स. वडा नं. ९ डाढा हाल परिवर्तित ऐ. जिल्ला, महदेवा गाउँपालिका वडा नं.४ बस्ने इन्द्र नारायण साह विरूद्ध विपक्षी : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, केशरमहल, काठमाडौंसमेत शिक्षकको अभिलेख दुरूस्त राखी अनिवार्य अवकाश दिनुपर्ने कर्तव्य भएको विद्यालय शिक्षक किताबखानाले आफ्नो दायित्व पूरा नगरेको कारणबाट अवकाश हुने मितिभन्दा बढी अवधि काम गरेको अवधिको खाई पाइसकेको तलब भत्ता निवेदकको निवृत्तिभरणबाट कट्टा गर्ने निर्णय गरेको तथा असुलउपर नहुँदासम्म पेन्सनपट्टा नै नदिएको कार्य कानूनसम्मत र न्यायोचित नदेखिने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सतिशकृष्ण खरेल विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल अवलम्बित नजिर : ने.का.प.२०६९, अङ्क ४, नि.नं.८८१० ने.का.प.२०७२, अङ्क ५, नि.नं.९४०४ सम्बद्ध कानून : आदेश न्या.मीरा खडका : नेपालको संविधानको धारा ४६ र १३३(२) र (३) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ:- तथ्य खण्ड म निवेदक मिति २०३६।५।२२ गते श्री हरिनगरा माध्यमिक विद्यालय, हरिनगरा, सुनसरीका निम्न माध्यमिक विद्यालय शिक्षक गंगाप्रसाद यादव तालिममा भाग लिन जानु भएकोले निज फर्की आएमा वा अन्य व्यवस्था भएमा स्वतः अवकाश पाउने गरी विद्यालयमा हाजिर भई काम गर्न भनी निम्न माध्यमिक विद्यालय स्तर सट्टा शिक्षक पदमा नियुक्त भएको थिएँ । सोबमोजिम अध्यापन गराउँदै आएपश्चात् मिति २०३७।९।१२ गतेको निर्णयबमोजिम निम्न माध्यमिक विद्यालय स्तरमा जना १ को दरबन्दी थप भएकोले मलाई “...गंगाप्रसाद यादव हाजिर भएकै मितिदेखि निजको पदाधिकारमा स्थायी व्यक्ति खटी गएमा वा अन्य व्यवस्था भएमा स्वतः खारेज हुने गरी बढीमा ३ महिनाको लागि कायम गरिएको...” भन्ने बेहोरासहितको नियुक्ति पुन: दिइएको थियो । सेवाकै क्रममा मिति २०३७।९।२१ गते मलाई मोहन निम्न माध्यमिक विद्यालय, नयाँ मधुवनमा दरबन्दीसहित सरूवा गरिएको थियो । म निवेदकले जिल्ला शिक्षा कार्यालय, शिक्षा शाखा, सुनसरीको मिति २०३९।८।२७ गतेको सिफारिस र श्री मोहन निम्न माध्यमिक विद्यालय, नयाँ मधुवन, सुनसरीको सञ्चालक समितिको निर्णयबमोजिम १ वर्षको परीक्षण कालमा रहने गरी मिति २०३९।९।१४ गते स्थायी नियुक्ति पाएको थिएँ । सेवाको क्रममा श्री मोहन निम्न माध्यमिक विद्यालयबाट मिति २०४७।११।३० गते च.नं. १५९१ को पत्रबाट श्री जनता माध्यमिक विद्यालय, मधुवन, सुनसरीमा सरूवा भएको थियो भने मिति २०६४।५।३० मा शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा विभाग, सानोठिमी, भक्तपुरबाट च.नं. २४५ प.सं. १०/ ०६४/०६५ को पत्रद्वारा जनता माध्यमिक विद्यालय मधुवन, सुनसरीबाट श्री महेन्द्र चुन्नी माध्यमिक विद्यालय, मानराजा, सप्तरीमा मिति २०६४।५।३० देखि २०६४ साल चैत मसान्तसम्म काजमा खटाइएको थियो । मिति २०६४।५।३० मा पारस्परिक सरूवाको प्रक्रियाबमोजिम म निवेदकलाई सोही विद्यालयमा नि.मा.शि. (तृतीय) पदमा सरूवा गरी पदस्थापन गरियो । मिति २०६५।१०।५ मा उक्त विद्यालयबाट मैले अवकाश प्राप्त गर्दा कार्यरत रहेको विपक्षी श्री बुद्धिलाल विद्यामुन