निर्णय नं. १०८३७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८३७ - कर्तव्य ज्यान भाग: ६४ साल: २०७९ महिना: असार अंक: ३ फैसला मिति :२०७८/०९/१८ १७६४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७८।९।१८ ०७३-CR-०५८२ मुद्दाः- कर्तव्य ज्यान पुनरावेदक / वादी : नगेन्द्र जैसीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : दैलेख जिल्ला बडलम्जी गा.वि.स. वडा नं ५ बस्ने नेमप्रसाद आचार्यसमेत चिकित्सकले शव परीक्षण गर्दा देखिएको शारीरिक अवस्थाको विवरणलाई विशेषज्ञको हैसियतले बकपत्र गर्दा उल्लेख गरेको विषयसम्म प्रमाणमा लिन सकिने । मृतकको मृत्यु कर्तव्यबाट भएको हो होइन भन्ने प्रश्नको निरूपण प्रमाणको मूल्याङ्कनबाट हुने विषय भएकाले कर्तव्यबाट मृत्यु भएको (homicidal) हो वा होइन भन्ने प्रश्न विशेषज्ञले राय दिने विषय नदेखिने । (प्रकरण नं.४) बकपत्रको बेहोरा प्रत्यक्षदर्शीबाट जानकारी पाएर लेखाएको नभई अनुमान एवं विश्वासका आधारमा मात्र लेखाएको देखिएमा र बकपत्रको बेहोरा मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुन नसकेमा त्यस्तो बकपत्रलाई प्रतिवादीहरूउपरको अभियोग ठहर गर्ने अकाट्य प्रमाणको रूपमा लिन नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सूर्यराज दाहाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री गोविन्दप्रसाद शर्मा बन्दी र श्री चुडामणी पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- मा. जिल्ला न्यायाधीश श्री डिल्लीरत्न श्रेष्ठ दैलेख जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- मा. न्यायाधीश श्री रमेशप्रसाद राजभण्डारी मा. न्यायाधीश श्री राजेन्द्रकुमार पोखरेल पुनरावेदन अदालत सुर्खेत फैसला न्या.नहकुल सुवेदी : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा पाई यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः तथ्यगत बेहोरा मिति २०७०।२।१८ गते बिहान मेरो श्रीमती भगवती आचार्य जिल्ला दैलेख बडलम्जी गा.वि.स. वडा नं ५ स्थित घरदेखि ४०० मिटरजति टाढा कुटमिराको रूखमा प्लास्टिकको डोरीले पासो लगाई झुन्डी मरेको अवस्थामा फेला पर्यो, तिमी तुरून्त घर आउ भनी दाजु नेमप्रसाद आचार्यले खबर गरेकाले घरमा आउँदा लास जाँच प्रकृति मुचुल्का भई लास जि.स्वा.का. दैलेखमा ल्याई राखेको भन्ने बुझी यो जाहेरी दिन आएको छु भन्ने डिल्लीप्रसाद आचार्यले दिएको जाहेरी दरखास्त । जिल्ला दैलेख बडलम्जी गा.वि.स. वडा नं ५ स्थित पूर्वमा तिदुको रूख, पश्चिममा जयराज आचार्यको पाखोबारी, उत्तरमा मृतकको आफ्नै पाखोबारी दक्षिणमा नेमप्रसाद आचार्यको पाखोबारी यति चार किल्लाभित्र रहेको भगवती आचार्यको मृत लास रहेको, मृत शरीरको तल्लो भाग नाङ्गो अवस्थामा रहेको, योनिबाट रगत बगेको र घाँटीमा डोरीको डाम रहेको भन्नेसमेत बेहोराको घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का । जिल्ला दैलेख बडलम्जी गा.वि.स. वडा नं. ५ स्थित पूर्वमा तिदुको रूख, पश्चिममा जयराज आचार्यको पाखोबारी, उत्तरमा मृतकको आफ्नै पाखोबारी दक्षिणमा नेमप्रसाद आचार्यको पाखोबारी यति चार किल्लाभित्र रहेको कुटमिराको रूखमा भगवती आचार्यको मृत लास फेला परेको, लासदेखि १४ फिटपूर्व खुकुरी र लासदेखि २ मिटर टाढा मृतकले ओड्ने गरेको पछ्यौरा फेला परेको भन्ने घटनास्थल मुचुल्का । मिति २०७०।२।१७ को राति जिल्ला दैलेख बडलम्जी