निर्णय नं. १०८४७ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८४७ - उत्प्रेषणयुक्त परमादेश भाग: ६४ साल: २०७९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/०२/१९ १६३९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा माननीय न्यायाधीश डा. श्री कुमार चुडाल फैसला मिति : २०७९।२।१९ ०७३-NF-००३१ मुद्दाः उत्प्रेषणयुक्त परमादेश निवेदक : धनुषा जिल्ला यदुकुहा गा.वि.स. वडा नं. २ बस्ने तेजनारायण व्यारकी नाबालिका छोरी वर्ष १२ की खुसवुकुमारी व्यारसमेत विरूद्ध विपक्षी : पुनरावेदन अदालत जनकपुर हाल उच्च अदालत जनकपुरसमेत पूर्ण देवानी दायित्वको विषयमा ऋणीको अंश अपुताली खाने हकदारले धन खाने ऋणको दायित्वबाट उन्मुक्ति पाउने भनी व्याख्या गर्नु लेनदेन व्यवहारको व्यवस्था प्रतिकूल हुने । (प्रकरण नं.८) बाबु आमा हुँदाहुँदै कुनै खास उपयुक्त कारणबाहेक नाबालकहरूको संरक्षक अन्य व्यक्ति हुन नसक्ने । (प्रकरण नं.१०) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री नरेसकुमार साह विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली, विद्वान् वरिष्ठ अधिवक्ता श्री प्रकाश के.सी. अवलम्बित नजिर : ने.का.प.२०४९, अङ्क ९, नि.नं.४६१० ने.का.प.२०६८, अङ्क ६, नि.नं.८६३२ सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०७३ यस अदालतमा फैसला गर्नेः माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय मा. न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय आदेश न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : यस अदालतको मिति २०७१।१०।२२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२) को खण्ड (क) र (ख) बमोजिम पुनरावलोकनका लागि अनुमति प्रदान भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– उल्लिखित नाबालिका तथा नाबालकहरूका पिता विपक्षी तेजनारायण र आमा सुमनदेवी व्यार हुन् । म संरक्षक मावली हजुरबुबा हुँ । नाबालक तथा नाबालिकाहरू मेरो संरक्षकत्वमा छन् । विपक्षी तेजनारायण व्यार वैदेशिक रोजगारको लागि विदेश गएको समयमा सुमनदेवी व्यारले विपक्षी बद्री महतो सुडीबाट रू.९,०५,०००।– २०६५ साल फाल्गुण मसान्तभित्र तिर्ने बुझाउने भाखा राखी मिति २०६४।११।१९ मा कपाली तमसुक गरी ऋण लिएको रहेछ । उक्त भाखाभित्र रकम नबुझाएको भनी बद्री महतो सुडीले दायर गरेको लेनदेन मुद्दा मिति २०६६।१२।१५ मा धनुषा जिल्ला अदालतबाट साँवा रू.९,०५,०००।– र सोको सयकडा दश प्रतिशतले हुने ब्याज तिर्नु बुझाउनुपर्ने गरी फैसला भएको रहेछ । सो फैसलाबमोजिम बिगो भरिभराउको लागि विपक्षी बद्री महतो सुडीले नाबालक तथा नाबालिकाको समेत हक लाग्ने कि.नं. १, कि.नं. ६७२, ६८० र कि.नं. ६८१ का जग्गा देखाई निवेदन दिएपछि विपक्षी तेजनारायण व्यारले फुकुवा गरिपाउन धनुषा जिल्ला अदालतमा मिति २०६७।७।२४ मा दिएको निवेदनमा उल्लिखित जग्गामध्ये आधा जग्गा फुकुवा हुने गरी तहसिलदारबाट मिति २०६८।५।२० मा आदेश भएको रहेछ । नाबालकहरूको अंश हक संरक्षणको लागि मैले उक्त रोक्का जग्गा फुकुवाको लागि गरेको निवेदनमा विपक्षी तहसिलदारबाट मिति २०६९।६।१ मा आधा जग्गा फुकुवा भइसकेकोले फुकुवा गर्न मिलेन भन्ने बेहोराले आदेश भयो । सो आदेश पनि बदर गरिपाउन दिएको निवेदनमा जिल्ला अदालतबाट मिति २०६९।८।२९ मा कानूनबमोजिम गर्नु भनी आदेश भएपछि सो आदेश पनि बदरको लागि मैले गरेको अ.बं.१७ नं.को निवेदन कारबाहीयुक्त अवस्थामा रहिरहेको समयमा मिति २०६९।१०।७ मा सुमनदेवी व्यारको हकको जग्गा रामजतन वरहीले डाक लिलाम सकार गरेको रहेछ । उक्त डाँक लिलाम बदरको लागि धनुषा