निर्णय नं. १०८५२ - मिलापत्र बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८५२ - मिलापत्र बदर भाग: ६४ साल: २०७९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७८/०१/०५ ५५०९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७८।१।५ ०७३-CI-१०३९ मुद्दाः मिलापत्र बदर पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा वीरगन्ज उपमहानगरपालिका वडा नं. २ छपकैया बस्ने स्व.पासपत साह तेलीको नाति देवनारायण प्रसाद साहको छोरा वर्ष ६० को राजपति देवी साह तेलीनसमेत विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका वडा नं. २ बस्ने स्व.पासपत साह तेलीको छोराबुहारी रामनारायण प्रसाद साह तेलीको पत्नी गीतादेवीसमेत अंशजस्तो नैसर्गिक हक कुनै अंशियारले त्याग गर्दा सो त्याग गर्नुपर्ने आधार र कारण मनासिब, तर्कसङ्गत र न्यायपूर्ण देखिनुपर्ने । सगोलको कुनै पनि अंशियारले अंश मुद्दा दायर गरेपछि आफ्नो अंश हकको सम्पत्तिमा निर्भर रहने वा त्यस्तो मुद्दा दायर गर्ने व्यक्तिको हक हिस्साको सम्पत्तिबाट मात्र बन्डा पाउने बाँकी अंशियारको अंश हकलाई सीमित वा सङ्कुचित गर्ने गरी मिलापत्र गर्नुलाई न्यायको दृष्टिकोणबाट उचित मान्न नसकिने । त्यस्तो कार्यलाई अन्य अंशियारलाई मर्का पार्ने गरी दूषित मनसायबाट गरिएको अनुचित कार्य मान्नुपर्ने । यस प्रकारको मिलापत्रका आधारमा अंश हकजस्तो अधिकारबाट अन्य अंशियारलाई वञ्चित गर्नु न्यायसङ्गत नहुने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा विद्वान् अधिवक्ताहरू श्री उज्वल घिमिरे र श्री सपना सुवेदी प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री सबिता बराल र श्री कृष्णप्रसाद सापकोटा तथा विद्वान् अधिवक्ता श्री मुकुन्द न्यौपाने अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री अमृतबहादुर बस्नेत पर्सा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल माननीय न्यायाधीश श्री रेवन्तबहादुर कुँवर पुनरावेदन अदालत हेटौंडा फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः- तथ्य खण्ड पासपत साह तेली र निजको पत्नी चन्द्रज्योति देवी तेलीनको दाम्पत्य सम्बन्धबाट देवनारायण प्रसाद साह तेली र रामनारायण प्रसाद साह तेलीको जन्म भएको, देवनारायण प्रसाद साह तेली र निजको पत्नी राजपती देवी तेलीनको दाम्पत्य सम्बन्धबाट राजकिशोर प्रसाद साहको जन्म भएको, राजकिशोर प्रसाद साहको पत्नी रेखा देवी साह हुन् भने रामनारायण प्रसाद साह तेली र म वादी गितादेवीको दाम्पत्य सम्बन्धबाट जन्मेका सन्तानमध्ये वादीहरू सुसिल कुमार, राहुल कुमार, अवनिस कुमार र छोरी अन्तिमा कुमारी हुन् । पासपत साह तेलीको मृत्यु भइसकेको, हाम्रो पति तथा पिता रामनारायण प्रसाद साह तेली, सासू तथा बज्यै चन्द्रज्योति देवी तेलीन र देवनारायण साह तेलीसमेतले हामीलाई थाहा जानकारी नदिई आपसमा मिलोमतो गरी हाम्रो अंश हक मार्ने नियतले सगोलमा पैतृक सम्पत्ति नभएको, अंश गर्नुपर्ने बाँकी बक्यौता नभएको, चुलोमानो अलग भइसकेको भन्ने कुरा उल्लेख गरी मिति २०५५।०५।०३ गते जालसाजी तरिकाबाट मिलापत्र गरी हाम्रो अंश हकमा आघात पुर्याएको हुँदा सो मिति २०५५।०५।०३ को मिलापत्र बदर गरी हाम्रो अंशहक दिलाई पाउँ