निर्णय नं. १०८६४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८६४ - कर्तव्य ज्यान भाग: ६४ साल: २०७९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७८/०८/२६ ७५७२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७८।८।२६ ०७५-CR-१४४७ मुद्दाः- कर्तव्य ज्यान पुनरावेदक / वादी : एलिस परियारको जाहेरीले वादी नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : पदमबहादुरको छोरा जिल्ला मोरङ, पथरी शनिश्चरे नगरपालिका, वडा नं. १० घर भई हाल कारागार कार्यालय, मोरङ, विराटनगरमा थुनामा रहेका विनोदकुमार परियार मनसायको अभावमा पूर्ण अपराध हुन सक्दैन । मनसायको मापन कसरी गर्ने भन्ने सम्बन्धमा घटना घटाउँदा अभियुक्तले कस्तो सोचबाट प्रेरित भई घटना घटाएको देखिन्छ, घटना घटाउँदा मृतकउपर अभियुक्तले गरेको कार्य र देखाएको आचरण कस्तो छ, मृतकलाई मार्नेमा के कस्तो चिज वस्तु प्रयोग भएका छन् र मृतकलाई के कुन ठाउँमा प्रहार गरिएका छन् यी र यस्ता कुराहरूकै आधारमा मनसायको मापन गर्दा न्यायसङ्गत हुने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री निरंजन स्थापित प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री विनोदकुमार पोखरेल मोरङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने :- माननीय न्यायाधीश श्री विदुर विक्रम थापा माननीय न्यायाधीश श्री ऋषिप्रसाद अधिकारी उच्च अदालत विराटनगर फैसला न्या.बमकुमार श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मेरो घरमा कपडा सिलाई बुनाई गर्ने पसल रहेको हुँदा, म आफू घरमा नभएको अवस्थामा मेरो बुबा विनोदकुमार परियार र आमा कल्पना परियार घर पसलमा सिलाई बुनाईको काम गर्दै गरेको अवस्थामा मिति २०७३/०४/३२ गते साँझ अन्दाजी ५.३० बजेको समयमा सिलाई बुनाईको काम गरिरहेको अवस्थामा बुबाआमाबिच वादविवाद हुँदा बुबाको हातमा रहेको कपडा काट्ने कैँचीले मेरो आमाको टाउको पछाडि घुचुकको भागमा लाग्न गई सामान्य चोट लागेको कारण तत्काल उपचारको लागि जिल्ला मोरङ, पथरी शनिश्चरे १५ मा रहेको २४ घण्टे उपचार सेवा केन्द्रमा उपचार गराउँदा ठिक नभएपछि थप उपचारको लागि विराटनगरको न्यूरो अस्पताल हुँदै वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगी उपचार गराउँदा विरामीको उपचार हुन सक्दैन घर लिई जानु भनी डाक्टरले सल्लाह दिएअनुसार मेरो आमालाई घरमा ल्याई राखेकोमा मिति २०७३/५/१ गते बिहान ७.०० बजेको समयमा आमा वर्ष ३९ की कल्पना परियारको मृत्यु भएको हुँदा कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको मृतकको छोरा एलिस परियारको जाहेरी दरखास्त । जिल्ला मोरङ, पथरी शनिश्चरे नगरपालिका वडा नं.१० पिपलडाडाँ स्थित पूर्वमा विद्यानन्द ठाकुरको घर जग्गा पश्चिममा शनिश्चरे बजारबाट बयरवन जाने बाटो, उत्तरमा रमेश राईको घर, दक्षिणमा कुमार श्रेष्ठको घर यति चार किल्लाभित्र टिनको छानाअगाडि उत्तरतर्फ बुर्जा गाडेको, अगाडि पछाडि बरन्डा भएको तीन कोठे टाटी बेराले बनेको विनोद परियारको भुइँघर, सो घरमा बुर्जा कोठाको उत्तर पूर्व भित्तामा सिलाई मिसिन राखी लुगा सिलाउने पसल कोठा रहेको सो कोठाको दक्षिणतर्फको भित्तामा खटिया जस्तो टेवल राखी आइरन लगाउने स्थान बनाएको, सो कोठाको ढोका दक्षिणतर्फ रहेको सोही कोठाको भित्रपट्टि ढोकाछेउमा मिति २०७३/०४/३२