निर्णय नं. १०८६८ - बैकिङ कसुर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८६८ - बैकिङ कसुर भाग: ६४ साल: २०७९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७८/११/३० ३०६६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्र.न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७८।११।३० ०६८-CR-१३८३ मुद्दा : बैकिङ कसुर पुनरावेदक / प्रतिवादी : जिल्ला झापा तोपगाछी गा.वि.स. वडा नं. ९ घर भई हाल काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ३४ बस्ने ध्रुव भन्ने विष्णुप्रसाद घिमिरे विरूद्ध प्रत्यर्थी / वादी : भुगार मुसायवको जाहेरीले नेपाल सरकार कानूनमा भएको संशोधित व्यवस्थाले कसुर कायम गर्ने कानूनी व्यवस्था खारेज गरिसकेको र उक्त कसुर सम्बन्धमा अन्य कुनै व्यवस्था नगरेको अवस्थामा कसुर हुँदाका बखत कायम रहेको साबिककै कानूनी व्यवस्थाका आधारमा प्रतिवादीलाई सजाय गर्नु सिद्धान्तत: नमिल्ने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा तथा विद्वान् अधिवक्ताहरू श्री चुडामणि पोख्रेल, श्री हरिचन्द्र सुवेदी र श्री विनोद शर्मा प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शुशील देवकोटा अवलम्बित नजिर : सम्बद्ध कानून : बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ पुनरावेदन अदालतमा फैसला गर्नेः मा. न्यायाधीश श्री भरतप्रसाद अधिकारी माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल पुनरावेदन अदालत पाटन, वाणिज्य इजलास फैसला न्या.कुमार रेग्मी : पुनरावेदन अदालत पाटनको मिति २०६७।७।८ को फैसलाउपर तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदनको रोहमा दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मिति २०६६ साल पौष २८।२९ गते तिर प्रतिवादी ध्रुव भन्ने विष्णुप्रसाद घिमिरे, ध्रुवराज लुइटेल र विदुर सुवेदीसमेत भई मेरो सही गरी राखेको रू.२,१६,६००।- को चेक चोरी गरी प्रतिवादीमध्येका ध्रुव भन्ने विष्णुप्रसाद घिमिरेले सो चेकको Amount (रकम अङ्क) लेखिएको महलमा ०० दुईवटा शून्य थप गरी २,१६,६०,०००।- किर्ते गरी थपी आफ्नो नाम तथा अक्षेरूपी रकमसमेत आफैँले अङ्ग्रेजीमा लेखी उक्त चेक भुक्तानी लिन बैंकमा गएको र सोभन्दा अगाडि मैले खाता खोलेको NIC Bank मा निवेदन दिएकोले उक्त चेक भुक्तानी हुन पाएन । मैले निवेदन नदिएको भए प्रतिवादीले उक्त चेक नं. १५८३८५५ बाट मेरो २,१६,६०,०००।- रकम निकाली खाने नियत गरेको हुँदा निजलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको भुगार मुसायवको जाहेरी दरखास्त । NIC Bank को खाता नं. ०३३-८५२७९८A को 1583855 नं. को Fraud चेक उपलब्ध गराएको भन्नेसमेत बेहोराको एभरेष्ट बैंक लि. नयाँ बानेश्वरको पत्र । भुगार मुसायव शिला ट्रेड इन्टरनेसनल प्रा.लि. मा काम गर्ने र सो कम्पनी मेरा भाइ गोविन्द घिमिरेले सञ्चालन गरेका हुन् । निजसँग चिनजान भई राम्रैसँग व्यापार भएकोमा निज भुगारले उक्त कम्पनी मेरो भाइको नामबाट आफ्नो नाममा नामसारी गराइदिनु भनी मसँग कुरा गर्दा मैले रू. ५,००,००,०००।- दिनुहुन्छ भने भाइसँग कुरा गर्छु नत्र म सक्दिन भन्दा निजले २,२०,००,०००।- सम्म दिन्छु, नामसारी गराइदिनु पर्यो भनेर भने पछि मैले कोसिस गर्छु भनेको हुँ । निजले मैले तपाइँको भाइ गोविन्द घिमिरेलाई पहिला नै रू. ३,४०,०००।- दिइसकेको छु बाँकीको यो चेक तपाइँको नाममा काटिदिएको छु चेक लिएर जानुभन्दा निजले दिएको रू. २,१६,६०,०००।-