निर्णय नं. १०८७१ - कर्तव्य ज्यान र जबरजस्ती चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८७१ - कर्तव्य ज्यान र जबरजस्ती चोरी भाग: ६४ साल: २०७९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७७/१२/२४ १९९९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७७।१२।२४ मुद्दाः कर्तव्य ज्यान र जबरजस्ती चोरी ०७५-CR-११८२ पुनरावेदक / वादी : अम्बर तामाङको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : बाबुराम तिमल्सिनाको छोरा सिन्धुपाल्चोक जिल्ला, इन्द्रावती गाउँपालिका वडा नं.५ बस्ने बद्रीप्रसाद तिमल्सिना ०७५-CR-१२९८ पुनरावेदक / प्रतिवादी : बाबुराम तिमल्सिनाको छोरा सिन्धुपाल्चोक जिल्ला, इन्द्रावती गाउँपालिका वडा नं.५ घर भई हाल जिल्ला कारागार कार्यालय, सिन्धुपाल्चोकमा थुनामा रहेको बद्रीप्रसाद तिमल्सिना विरूद्ध प्रत्यर्थी / वादी : अम्बर तामाङको जाहेरीले नेपाल सरकार आवेशप्रेरित हत्या (homicide by provocation) ठहर्नका लागि मृतकका कार्यले अभियुक्त आकस्मिकरूपमा उत्तेजित हुनुपर्दछ र रिस थाम्न नसकी अभियुक्तले केही गर्दा मानिस मरेको हुनुपर्ने । मृतकले उठाएको उत्तेजनाको मात्रा र अभियुक्तले व्यक्त गरेको प्रतिक्रिया विचारणीय हुने, अर्थात् आवेश उठाउने कार्य र प्रतिक्रियाबिच समानुपातिक सम्बन्ध हुनुपर्ने (retaliation must be proportionate to the provocation) । अर्को पक्षबाट सामान्य उत्तेजना भएकोमा अभियुक्त रिसाई अति उग्र प्रतिक्रिया जनाएमा पनि कानूनले त्यस्तो कार्यलाई छुट नदिने । पीडित पक्षबाट भएको अति सामान्य उत्तेजक कार्यबाट पनि यदि कोही संयम गुम्ने (loss of control) किसिमबाट उत्तेजित भएको दावा लिन्छ भने कानूनले उक्त दावा स्वीकार गर्न नसक्ने । (प्रकरण नं.६) मार्ने नै मनसाय नभए पनि मानिस मर्न सक्छ भनी जानीजानी ठुलो खतरा भएको कुनै काम गर्दा मानिसको ज्यान गएमा मनसाय प्रेरित हत्या (intentional homicide) को आपराधिक मनसाय (mens rea of murder) पूरा भएको मानिने । (प्रकरण नं.७) प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री प्रेम सिंह धामी वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कमलराज पन्थी अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्या. श्री नारायणप्रसाद श्रेष्ठ काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री शेखरप्रसाद पौडेल माननीय न्यायाधीश श्री बलभद्र बास्तोला उच्च अदालत पाटन फैसला न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३२, कोटेश्वरस्थित होटल होम गेष्ट हाउस एण्ड रेष्टुरेन्ट रहेको, उक्त गेष्ट हाउसको तेस्रो तलामा ५ वटा कोठाहरू रहेको, सोमध्ये पूर्वतर्फको ३०४ नं. लेखिएको कोठाको बाहिरबाट चुकुल लगाइएको अवस्थामा रही उक्त चुकुल खोलेर भित्र हेर्दा एट्याच बाथरूमवाला कोठा रहेको र कोठाको पूर्वसाइडमा ढोका, पर्दा लगाइएको झ्याल रहेको, कोठाभित्र एउटा बिस्तारा, पूर्व साइडमा टि-टेबुल रहेको, टेबुल माथि लेडिज ब्याग रहेको, सो ब्यागभित्र २ जोर लेडिज चप्पलहरू, नेपाल टेलिकमको नमस्ते कार्ड, सो कार्डमा ९८४०३७३३६९ लेखिएको, लक्ष्मी तामाङको नामको सुनको बिल २ थान, फोटोसमेत रहेको, सोही ब्यागसँगै अर्को सानो लेडिज पर्स रहेको, सो पर्सभित्र नगद रू.३५/-, सुन जस्तो देखिने बेरूवा रिङ १ जोर, Micromax phone लेख