निर्णय नं. १०८७९ - उत्प्रेषण, प्रतिषेध र परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८७९ - उत्प्रेषण, प्रतिषेध र परमादेशसमेत भाग: ६४ साल: २०७९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७७/१२/२४ ११३९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति : २०७७।१२।२४ ०७७-WO-०४२९ विषयः उत्प्रेषण, प्रतिषेध र परमादेशसमेत निवेदक : का.जि.का.म.न.पा. वडा नं.४ मण्डिखाटारस्थित मिराज प्रिन्टिङ सोलुसन्स प्रा.लि. को तर्फबाट ऐ. का सञ्चालक मनोहरराज घिमिरेसमेत विरूद्ध विपक्षी : आन्तरिक राजस्व विभाग, लाजिम्पाट, काठमाडौंसमेत नेपालभित्रका मुद्रण उद्योगहरूले बोलपत्रको माध्यमबाट खरिद गर्न सक्ने गरी कानूनमा उपयुक्त सुधार गर्नुपर्ने भए गरी वा बोलपत्रमा राखिने पूर्वसर्त र अवस्थाहरूमा सुधार नगरिएसम्म स्वदेशी मुद्रण उद्योगलाई सुरक्षित मुद्रण सामग्री छपार्इ सम्बन्धित खरिद कार्यमा समावेश गर्न सकिने अवस्था हुँदैन । निश्चितरूपमा कानूनबमोजिम इजाजत पत्र भएका तथा आर्थिकरूपले सारभूत रूपमा सक्षम देखिएका मुद्रण उद्योगबाट सुरक्षण मुद्रण कार्य गर्नु गराउनु नै उपयुक्त हुने । अन्तःशुल्क स्टिकर छपाइलगायत अन्य सुरक्षण मुद्रण सम्बन्धमा स्वदेशी मुद्रण उद्योगलाई छपाइको अनुभवको अवसर प्रदान नगरेसम्म यति वर्षको अनुभव हुनपर्ने भन्‍ने पूर्वसर्तले बोलपत्रको प्रतिस्पर्धामा सहभागी हुने वातावरण बन्‍न सक्ने अवस्था नै हुन सक्तैन । यसको लागि बोलपत्र आह्वान गर्दा नै स्वदेशी मुद्रण उद्योगहरूले समेत प्रतिस्पर्धा गर्न पाउने आधारसहित सर्त र पूर्वअवस्थाहरू उल्लेख गर्नुपर्ने हुन्छ । साथै मापदण्ड पुगेका स्वदेशी मुद्रण उद्योगहरूलाई समेत स्टिकर खरिदसम्बन्धी प्रक्रियामा सहभागी गराउन बोलपत्रका सर्तहरूमा स्वदेशी मुद्रण उद्योगको हकमा सकारात्मक विभेदका आधारमा उपयुक्त व्यवस्था गर्नुपर्ने । (प्रकरण नं.२३) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री तुलसी भट्ट, विद्वान् अधिवक्ताहरू श्री गोविन्द शर्मा (बन्दी) र श्री महेश थापा विपक्षीका तर्फबाट : विद्वान् सहन्याधिवक्ता श्री शम्भु कार्की र विद्वान् उपन्यायधिवक्ता श्री हरिशंकर ज्ञवाली अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान सार्वजनिक खरिद ऐन, २०६३ औद्योगिक व्यवसाय ऐन (संशोधनसहित), २०७३ आदेश न्या.तेजबहादुर के.सी.: नेपालको संविधानको धारा १३३(२) र (३) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः- तथ्य खण्ड निवेदक कम्पनीहरू छापाखाना सञ्चालन गर्ने उद्देश्य लिई प्राइभेट लिमिटेड कम्पनीको रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई Security Printing Services for Labels and Scratch Cards सम्बन्धी छपाइका लागि ISO २७००१:२०१३ को प्रमाणपत्र लिई ISO Certificate १४२९८:२०१३ समेत प्राप्त गरी नियमितरूपमा आफ्नो व्यवसाय सञ्चालन गरी आउने क्रममा नेपाल टेलिकम र एनसेलका रिचार्ज कार्डहरूसमेत छपाइ गर्दै आएका छौं । उपर्युक्त सर्टिफिकेसनहरू, दक्ष जनशक्ति, सुरक्षा प्रविधिसमेतका कारण नेपाली कम्पनीहरू पनि सुरक्षित मुद्रण गर्न योग्य भएको स्थापित हुन्छ । अन्तःशुल्क स्टिकर छपाइ सम्बन्धमा विपक्षी आन्तरिक राजस्व विभागले मिति २०७७।०६।२८ मा IFB No. IRD/G/ICB/०१/२०७७/७८ मार्फत Security Printing, Supply and Delivery of Excise Stamps को लागि बोलपत्रमा भाग लिने कम्पनीको योग्यता प्रमाणित गर्ने अनुभवलगायतका प्रावधानहरू राखी बोलपत्र सूचना (Invitation for bids) को बुदा नं.