निर्णय नं. १०८८३ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८८३ - उत्प्रेषणयुक्त परमादेश भाग: ६४ साल: २०७९ महिना: असोज अंक: ६ फैसला मिति :२०७७/१२/०५ ९९५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति : २०७७।१२।५ ०७३-WO-०२३७ विषयः- उत्प्रेषणयुक्त परमादेश निवेदिका : दोलखा जिल्ला, बुलुङ गा.वि.स., वडा नं. ८ बस्ने दिल बहादुरको नातिनी नोकबहादुरको छोरी जतना खड्का विरूद्ध विपक्षी : जिल्ला शिक्षा कार्यालय, दोलखा, चरिकोटसमेत उचित विधिको प्रयोग नगरी बिनाप्रतिस्पर्धा शिक्षकको नियुक्ति गर्दा बालबालिकाको गुणस्तरीय शिक्षा पाउने संवैधानिक हकबाट वञ्चित हुन जाने हुँदा शिक्षक नियुक्तिमा अनियमितता भयो भनी उजुर दिने व्यक्ति सो विज्ञापनमा दरखास्त नदिएको बेसरोकारवाला व्यक्ति भए पनि निजको निवेदनको आधारमा निर्धारित विधिको पालना नगरी नियुक्त गरिएको शिक्षकलाई पदबाट हटाउन मिल्ने । (प्रकरण नं.५) निवेदिकाको तर्फबाट : विद्वान् अधिवक्ता श्री केदार गौतम विपक्षीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री हरिप्रसाद जोशी र विद्वान् अधिवक्ता श्री गोपी शर्मा सुवेदी अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.दीपककुमार कार्की : नेपालको संविधानको धारा ४६ एवं धारा १३३(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छः- म रिट निवेदिका दोलखा जिल्ला, बुलुङ गा.वि.स. वडा नं.५ स्थित विपक्षी कालीदेवी प्राथमिक विद्यालयमा कार्यरत अस्थायी महिला कोटामा करारबमोजिम नियुक्त शिक्षिका हुँ । म सो विद्यालयमा शिक्षक छनौट समितिको मिति २०७३।१।२० गतेको पत्रसंख्या ०७२।७३ को पत्र र विपक्षी जिल्ला शिक्षा कार्यालय, दोलखाको मिति २०७१।९।१८ को अनुमतिपत्रबमोजिम उक्त विद्यालयमा रिक्त रहेको प्रा.वि. अस्थायी दरबन्दीमा मिति २०७३।१।२० गतेको विज्ञापनमा मैले आवेदन गरेकोमा विद्यालयको शिक्षक छनौट समितिले मिति २०७३।२।१५ छनौट गरी सिफारिस गरेको थियो । उक्त सिफारिसअनुसार विद्यालयले मलाई मिति २०७३।२।१७ मा नियुक्तिपत्र प्रदान गरेको थियो । उक्त नियुक्तिलाई विपक्षी जिल्ला शिक्षा कार्यालय, दोलखाले समर्थन जनाइसकेको छ । नियुक्ति मितिबाटै पदस्थापना भई मैले आफ्नो कार्य सम्पादन गरी आएको र सुविधासमेत लिएकी छु । नियुक्ति हुँदा कालीदेवी प्राथमिक विद्यालय र सोको व्यवस्थापन समितिसँग मेरो त्रिपक्षीय करार भएको छ । सोबमोजिम मेरो पदावधि २०७३ साल चैत्र मसान्तसम्म तोकिएकोमा सोअगावै मलाई मिति २०७३।५।८ मा सो विद्यालयका प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिको आदेशअनुसार भनी हाजिर गर्न नदिई मिति २०७३।५।२३ मा विद्यालयको सूचना पाटीमा महिला शिक्षकको आवश्यकता सम्बन्धमा मैले काम गरिरहेको पदमा पुनः विज्ञापन प्रकाशन भएकोले सो सम्बन्धमा विद्यालयमा सोधपुछ गर्दा जिल्ला शिक्षा कार्यालय, दोलखाको मिति २०७३।३।२४ को पत्रानुसार विद्यालय व्यवस्थापन समितिको निर्णयले परीक्षा रद्द गरी पुनः विज्ञापन गरेको हो भनी जानकारी पाएकी हुँ । जिल्ला शिक्षा कार्यालयको सहमतिमा उक्त विद्यालयको शिक्षक पदमा कानूनबमोजिम विज्ञापन भएको पदमा प्रतिष्पर्धी भई लिखित र अन्तर्वार्ता दिई उत्तीर्ण गरी मेरो नियुक्त भएको हो । मेरो नियुक्ति जिल्ला शिक्षा कार्यालयको संलग्नतामा परीक्षा भई मैले नियुक्ति लिएको हुँदा सो परीक्षालाई रद्द गरी मेरो नियुक्तिलाई बदर गर्ने अधिकार जिल्ला शिक्षा कार्यालयलाई छैन । जिल्ला शिक्षा कार्यालयको मिति २०७३।३।२४ गतेको पत्रमा