निर्णय नं. १०८९० - भ्रष्टाचार (घुस रिसवत)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८९० - भ्रष्टाचार (घुस रिसवत) भाग: ६४ साल: २०७९ महिना: असोज अंक: ६ फैसला मिति :२०७८/०४/३२ २३३४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७८।४।३२ ०७१-CR-००५७ मुद्दाः- भ्रष्टाचार (घुस रिसवत) पुनरावेदक / प्रतिवादी : चितवन जिल्ला, फुलबारी गा.वि.स. वडा नं. ७ बस्ने भवबहादुर सिलवालको छोरा श्यामबहादुर सिलवाल विरूद्ध प्रत्यर्थी / वादी : आशाकाजी महर्जनको जाहेरीले नेपाल सरकार कर्मचारीबाट रकम बरामद गरिएको देखाउँदैमा भ्रष्टाचार जस्तो गम्भीर कसुर स्थापित भइहाल्ने पनि होइन । कसैलाई भ्रष्टाचारी ठहर गर्न उक्त व्यक्तिले घुस खाने मनसाय राखेको थियो, त्यसअनुसार घुस रकम माग गरेको थियो र स्वेच्छाले रकम बुझेको थियो भन्ने पुष्टि हुनुपर्ने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय रजित भक्त प्रधानाङ्ग र गोपालकृष्ण घिमिरे तथा विद्वान् अधिवक्ता श्री अमृत शर्मा प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री वीना दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : भ्रष्टाचार निवारण ऐन, २०५९ विशेष अदालत काठमाडौंमा फैसला गर्नेः अध्यक्ष मा.न्या.श्री केदारप्रसाद चालिसे सदस्य मा.न्या.श्री मोहन रमण भट्टराई सदस्य मा.न्या.श्री भुपेन्द्रप्रसाद राई विशेष अदालत काठमाडौं फैसला न्या.सुष्मालता माथेमा : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) तथा विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम यस अदालतमा पुनरावेदन दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड म काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २९ सामाखुसीमा बस्दै आएको छु । पुर्खौली जग्गा साबिक गोंगबु वडा नं. ५(क) कित्ता नं. ४१ को जग्गामा नापी हुँदाका बखत हामी नभएकोले उक्त जग्गामा बाटोसमेत खुलेको हुँदा नियमानुसार नापी गरी हाल साबिक गरिपाउँ भनी नापी कार्यालय डिल्लीबजार काठमाडौंमा निवेदन दिएकोमा मिति २०७०।१।२७ गते नापी कार्यालयका कर्मचारी सर्वेक्षक श्याम सिलवाल र पियन पदम भन्ने व्यक्ति डोर खटिई नाप जाँच गरेबापत रू.२,०००।- (दुई हजार) अहिले दिनुहोस् पछि रू.१०,०००।- (दश हजार) लाग्छ भन्नुभयो । उक्त रकम राजस्वबापत हो कि भनी सोधनी गर्दा के के गर्नुपर्छ हामी सबै मिलाउछौँ भन्नुभयो । त्यसपछि मैले तत्काल १(एक) हजार दिएँ । त्यसपश्चात् कार्यालयमा गई मेरो जग्गाको नापजाँचको कागजात बनाइदिनुहोस् भन्दा रू.१०,०००।- लाग्छ भन्नुभयो । राजस्वबापत भए उक्त रकम दिन तयार छु । व्यक्तिगत भए दिन्न भन्दा तपाइँको काम हुँदैन भनेकोले म शिक्षकजस्तो जिम्मेवार व्यक्ति भएको आर्थिक हैसियत पनि राम्रो नभएकोले रू.१०,०००।- मेरो एक महिनाको दु:ख गरी कमाएको तलब बराबर भएकोले निज अमिन (सर्वेक्षक) श्यामबहादुर सिलवाललाई घुसबापत माग गरेको रकम दिन मसँग पैसासमेत नभएकोले आयोगबाटै रकम उपलब्ध गराई मैले घुसबापत दिएको रकम निजबाट जफत गरी कानूनबमोजिम कारबाही गरी अन्य नागरिकलाई समेत म जस्तो पीडित हुन नदिन यस्ता कर्मचारीलाई हदैसम्मको कारबाही गरिपाउँ भन्ने बेहोराको आशाकाजी महर्जनको मिति २०७०।१।३० को अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्षको उजुरी । मेरो जग्गा हाल साबिक गर्दा नापी कार्यालय डिल्लीबजारका सर्वेक्षक श्यामबहादुर सिलवालले घुस मागेकाले कारबाही गरिपाउँ भन्ने आशाकाजी महर्जनको निवेदन परी अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट सो कार्यमा आव