निर्णय नं. १०९०३ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९०३ - उत्प्रेषण / परमादेश भाग: ६४ साल: २०७९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७८/०९/१९ ८३१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति : २०७८।९।१९ ०७७-WO-०९९६ मुद्दाः उत्प्रेषण / परमादेश निवेदक : रौतहट जिल्ला साबिक मुडवलवा वडा नं. १ परिवर्तित राजदेवी नगरपालिका वडा नं. ७ बस्ने चौधरी वासुदेव राय यादवको छोरा रामेश्वरप्रसाद यादव विरूद्ध प्रत्यर्थी : नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौंसमेत जात, जाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग वा यस्तै असङ्गत कुराका आधारमा अन्यथा आग्रह, पूर्वाग्रह वा कुनै अनुचित अभीष्ट राखेर स्वेच्छाचारी तबरबाट निर्णय गरिएको अवस्थामा बाहेक सामान्यतया: स्थानीय सरकारको तहबाट कानूनको दायराभित्र रही भए-गरिएका विकास निर्माण वा जनस्वास्थ्य व्यवस्थापनसम्बन्धी नीतिगत विषयमा अदालतबाट हस्तक्षेप गर्नु उचित नहुने । (प्रकरण नं.३) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री शम्भु थापा र श्री महादेवप्रसाद यादव तथा विद्वान् अधिवक्ताहरू श्री रामेश्वर प्रसाद कोइराला र श्री उज्ज्वल घिमिरे प्रत्यर्थीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री लोकराज पराजुली तथा विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री मातृकाप्रसाद निरौला एवं विद्वान् अधिवक्ताहरू श्री टिकाराम भट्टराई, श्री भावेश गौतम तथा श्री राजु कटुवाल, श्री राजिव सिन्हा, श्री मोतिलाल गैरे अवलम्बित नजिर : ने.का.प.२०७७, अङ्क ८, नि.नं.१०५५४ सम्बद्ध कानून : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ आदेश न्या.ईश्वरप्रसाद खतिवडा : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं यस अदालतको आदेश यस प्रकार छ: तथ्यगत बेहोरा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री स्तरबाट स्थानीय तहका २६४ स्वास्थ्य संस्थाहरूलाई ५, १० र १५ शैय्याको अस्पतालमा स्तरोन्नति गरी अस्पताल निर्माण गर्ने भन्ने मिति २०७७।०४।२८ मा निर्णय भयो । सो निर्णयबमोजिम स्तरोन्नति हुने २६४ स्वास्थ्य संस्थामध्ये क्र.सं. २१२ मा निवेदकसमेतको सरोकार रहेको राजदेवी न.पा. वडा नं. ७ अन्तर्गतको मुडवलवा स्वास्थ्य चौकी १५ शैय्याको अस्पतालमा स्तरोन्नति गर्ने सूचीमा परेको छ । १५ शैय्याको अस्पतालमा स्तरोन्नति हुनलाई आवश्यक जग्गालगायतका पूर्वाधार पूरा गरिसकेको थियो । यस्तो अवस्थामा विपक्षीहरूबाट गैरकानूनी ढङ्गबाट मापदण्ड र स्वास्थ्य चौकी नै नभएको राजदेवी नगरपालिका वडा नं. ५ को स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्ने भनी निर्णय गरेछन् । १५ शैय्याको अस्पतालमा स्तरोन्नति हुन छनौट भई रकमसमेत विनियोजन भएपछि टेन्डरलगायतका काम कारबाही अगाडि बढाइएको थियो । नेपाल सरकारबाट आ.व. २०७७।०७८ को नीति तथा कार्यक्रममा परी प्रथम चरणमा स्तरोन्नतिको हुने निर्णय भइसकेको राजदेवी न.पा. वडा नं. ७ को मुडवलवा स्वास्थ्य चौकीको सट्टा अहिले आएर राजदेवी न.पा. वडा नं. ५ हजमिनियाको स्वास्थ्य चौकीलाई १५ शैय्याको आधारभूत अस्पताल बनाउने भनी भवन निर्माण गराउने गरी विपक्षीहरूबाट निर्णय भएकाले हाम्रो स्वास्थ्य सेवा प्राप्त गर्ने हकमा आघात भएको छ । उक्त वडा नं. ५ मा हाल आधारभूत अस्पताल स्थापना गर्ने भनिएको स्थानमा स्वास्थ्य चौकी नै नरहेको हुँदा स्तरोन्नतिको लागि विनियोजन भइसकेको बजेट प्रयोग गर्न मिल्दैन । उक्त स्थानमा बाटो, बिजुलीक