निर्णय नं. १०९०६ - उत्प्रेषणयुक्त परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९०६ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ६४ साल: २०७९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७९/०४/१८ ११३८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री नहकुल सुवेदी आदेश मिति : २०७९।४।१८ ०७८-WO-११५५ विषय : उत्प्रेषणयुक्त परमादेशसमेत निवेदक : जिल्ला सर्लाही, साबिक बरहथवा नगरपालिका, वडा नं. ७ मा जन्म भई संजयकुमार साह तेलीको छोरी अन्जलीकुमारी साहसमेत विरूद्ध विपक्षी : जिल्ला प्रशासन कार्यालय, सर्लाहीसमेत कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने छ भनी उल्लेख भइरहेको परिप्रेक्ष्‍यमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित नभएसम्म भन्‍ने कारण देखाई निवेदकहरूलाई नागरिकताको प्रमाणपत्र दिन रोक्नु उचित नहुने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री रक्षाराम चमार विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कैलास के.सी. अवलम्बित नजिर : ने.का.प.२०६८, अङ्क २, नि.नं.८५५७ ने.का.प.२०७६, अङ्क ८, नि.नं.१०३४१ ने.का.प.२०७७, अङ्क ३, नि.नं.१०४५८ सम्बद्ध कानून : नेपाल सरकार नेपाल नागरिकता ऐन, २०६३ आदेश न्या.प्रकाशमान सिंह राउत : नेपालको संविधानको धारा ४६ तथा १३३(२)(३) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यसप्रकार छ:- तथ्य खण्ड हामी रिट निवेदकहरू सर्लाही जिल्ला, बरहथवा नगरपालिका, वडा नं. ८ मा जन्म भई स्थायी रूपमा बसोबास गर्दै आएको शिक्षित नेपाली नागरिक हौं । निवेदिका अन्जलीकुमारी साहले एस.एल.सी. डिअना पब्लिक इंग्लिस स्कुल, काठमाडौंबाट र निवेदक रोहितकुमार साहले लिवरपूल माध्यमिक स्कुल, नयाँ बानेश्‍वर, काठमाडौंबाट पास गर्‍यौं । निवेदिका अन्जलीकुमारी साह केपिटल कलेज एण्ड रिसर्च सेन्टर बालकुमारी, काठमाडौं र निवेदक रोहितकुमार साह अम्बिसन एकेडेमी माध्यमिक स्कुल, नयाँ बानेश्‍वर, काठमाडौंबाट दश जोड दुई पास गरी हाल निवेदिका अन्जलीकुमारी साह त्रिभुवन विश्‍वविद्यालयअन्तर्गत रहेको स्वयम्भू अन्तर्राष्ट्रिय कलेजमा BBS गर्दै आइरहेको अवस्था छ भने निवेदक रोहितकुमार साह नागरिकता नभएको कारणले गर्दा उच्च शिक्षा हासिल गर्न पाइरहेको छैन । हामी निवेदकहरूको आमा रजनीगन्धा साहले नागरिकता नं. ८३३३४०९९ जारी मिति २०५२।८।२६ गते जिल्ला प्रशासन कार्यालय, धनुषाबाट वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभएको हो । हाम्रो बाबुले नागरिकता नं. १९३०७९/९६५ जारी मिति २०६३।१२।१७ गते जिल्ला प्रशासन कार्यालय, सर्लाहीबाट जन्मको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गर्नुभएको हो । हामी निवेदकहरूको आमा वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको र हाम्रो जन्म नेपालमै भएको तथा हालसम्मको शिक्षा पनि हामीले नेपालमै अध्ययन गर्दै आइरहेका छौं । निवेदिका अन्जलीकुमारी साहले मिति २०७५।२।१६ गते र निवेदक रोहितकुमार साहले मिति २०७८।१२।११ मा नागरिकताको फाराम भरी नेपाली नागरिकताको प्रमाणपत्र पाउँ भनी जिल्ला प्रशासन कार्यालय, सर्लाहीको कार्यालयमा जाँदा कानूनी अड्चन देखाउँदै बाबुको नागरिकता वंशजको नभएको भन्दै नागरिकता दिन मानेको छैन । जिल्ला प्रशासन कार्यालय, सर्लाहीले गृह मन्त्रालयले नागरिकता नदिन परिपत्र गरेको र बाबुको वंशजको आधारमा नागरिकता भए मात्रै नागरिकता दिन मिल्ने भनी विभिन्‍न कानूनी