निर्णय नं. १०९२२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९२२ - उत्प्रेषण भाग: ६४ साल: २०७९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७८/०८/२१ ३०१९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री नहकुल सुवेदी आदेश मिति : २०७८।८।२१ ०७५-WO-०५१२ मुद्दा : उत्प्रेषण निवेदक : मानबहादुरको छोरा, पाँचथर जिल्ला, मिकलजुङ गाउँपालिका, वडा नं. ५, लिम्बा घर भई हाल ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका, वडा नं. ७ बस्ने वेदबहादुर लावतीसमेत विरूद्ध प्रत्यर्थी : राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, केन्द्रीय कार्यालय, सिंहदरबार प्लाजा, काठमाडौंसमेत स्वीकृत अवकाश कोषका हकमा योगदानमा आधारित वा हितबाट भएको दुवै आयलाई आय गणनाको एउटै प्रक्रियाले समेटेको स्थितिमा आयकर ऐन, २०५८ को दफा ६५ को उपदफा (१) मा प्रयुक्त अवकाश भुक्तानीको व्यवस्थामा आर्थिक ऐन, २०७५ ले योगदानमा आधारित भन्ने वाक्यांश थप गरेको भए तापनि स्वीकृत अवकाश कोषका हकमा योगदानमा आधारित वा हितबाट भएको लाभका हकमा समेत उक्त व्यवस्था समान रूपमा आकर्षित हुने । (प्रकरण नं.१०) करको दायित्व (charging), करको दर, कर निर्धारण प्रक्रिया र भुक्तानी प्रक्रियासमेतका विषयमा सम्बन्धित कानूनले यकिन र निश्चित व्यवस्था गरेको अवस्थामा मात्र व्यक्तिमा तदनुरूप करको दायित्व सिर्जना (cannon of certainty) हुने । स्पष्ट कानूनी व्यवस्थाको अभावमा अनुमान वा व्याख्याका आधारमा कर लगाउनु कर कानूनको मान्य सिद्धान्तविपरीत हुने । (प्रकरण नं.११) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्तात्रय श्री टिकाराम भट्टराई, श्री माधव कुमार बस्नेत र श्री सुदिप पौडेल प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली र विद्वान्‌ अधिवक्ता श्री विष्णुप्रसाद कँडेल अवलम्बित नजिर : सम्बद्ध कानून : आयकर ऐन, २०५८ आदेश न्या.नहकुल सुवेदी : नेपालको संविधानको धारा ४६, १३३(२) र (३) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्यगत बेहोरा र आदेश यसप्रकार छ । तथ्यगत बेहोरा पुनरूक्ति न्यूनीकरण गर्न र सम्बोधन सुविधाको लागि यस निवेदनमा यसपछि "नेपालको संविधान” लाई "संविधान”, "राष्ट्रिय वाणिज्य बैंक लिमिटेड" लाई "बैंक", "राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, अवकाश कोष" लाई "कोष”, "राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, कर्मचारी सेवा विनियमावली, २०७०” लाई "विनियमावली” र बैंकका कर्मचारीले अवकाश प्राप्त गरेपछि प्राप्त गर्ने सञ्चय कोष, बिदाको रकम, औषधोपचार खर्च, बिमा आदि सबैलाई समग्रमा "अवकाश सुविधा” भनी सम्बोधन गरिएको छ । निवेदकमध्येकी म मीना मोक्तान मिति २०४५।७।१ मा सेवामा प्रवेश गरी २०७५।७।१, म पूर्णप्रसाद राई २०४५।४।१६ देखि सेवामा प्रवेश गरी २०७५।४।१६, म शैलेन्द्रकुमार थापा २०४५।४।३१ मा सेवा प्रवेश गरी २०७५।४।३१ देखि र म वेदबहादुर २०४५।५।१५ मा सेवा प्रवेश गरी २०७५।५।१५ देखि सेवावधि ३० वर्ष पूरा गरी सेवाबाट अवकाश प्राप्त गरेका पूर्वकर्मचारीहरू हौं । निवेदकमध्येका हामी गगनसिंह घिमिरे, हेमराज सुवेदी र दीपेन्द्र कार्की विपक्षी बैंकमा कार्यरत बहालवाला कर्मचारी हुनुका अतिरिक्त बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको हकहित रक्षार्थ कानूनबमोजिम स्थापित भएका प्रतिष्ठानस्तरका ट्रेड युनियनका अध्यक्ष हौं । निवेदनमा उठाइएको विषय २०७५।४।१ पछि हालसम्म अवकाश भएका निवेदकहरू तथा निवेदकहरूजस्तै अन्य अवकाशप्राप्त कर्मचारीहरू र अब अवकाशप्राप्त गर्ने कर्मचारीहरूसमेतलाई समानरूपमा लागु हुने भएकोले निवेदकहरूको निजी सरोकार