निर्णय नं. १०९२९ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९२९ - जबरजस्ती करणी भाग: ६४ साल: २०७९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७८/०९/२१ १७७५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७८।९।२१ ०७४-CR-१३८० मुद्दा:- जबरजस्ती करणी पुनरावेदक / प्रत्यर्थी : हिलालाल श्रेष्ठको छोरा साबिक गोरखा जिल्ला ध्यालचोक गा.वि.स. वडा नं.९ हाल ऐ. जिल्ला गण्डकी गाउँपालिका वडा नं.८ बस्ने महेन्द्र श्रेष्ठ विरूद्ध विपक्षी / वादी : चित्रकुमारीको जाहेरीले नेपाल सरकार फौजदारी कसुरमा सत्यताको मूल्याङ्कनको लागि भनाइमा अधिकांशत: स्थिरता (consistency) को विद्यमानता हुनुपर्ने हुँदा जबरजस्ती करणीको वारदातमा पीडितले पीडाको आघात (trauma), सामाजिक लोकलाज र पीडितको आफ्नो अस्मितापूर्ण जीवनलाई पनि चुनौती दिएर आफू विरूद्धको कसुरमा सत्य तथ्य कुरा भन्ने साहस गरेको हुने र समयको अन्तरालमा केही कुरामा सामान्य विरोधाभाष आउन सक्ने स्थितिलाई नकार्न नसकिने । कुनै पनि व्यक्तिले एक पटक भनेको भनाइ बेहोरा पुनः अर्को पटक भन्नुपर्दा अक्षरसः जस्ताको तस्तै मिल्ने गरी भन्न नसकिने । केही सामान्य कुराहरू फरक पर्दैमा सम्पूर्ण भनाइको विश्वसनीयता नै समाप्त भई नहाल्ने । (प्रकरण नं.१०) पुनरावेदक / प्रत्यर्थीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री ओम सुवेदी र विद्वान् अधिवक्ताहरू श्री सुधा रिजाल तथा श्री सिद्धप्रसाद लामिछाने विपक्षी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्या. श्री प्रकाशकुमार काफ्ले गोरखा जिल्ला अदालत उच्च तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री द्वारिकामान जोशी उच्च अदालत पोखरा फैसला न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड मिति २०७०।१०।६ गते राति मेरो छोरी वर्ष १५ कि हाल नाम परिवर्तित "च" कुमारी गाउँकै कमल रम्तेलको छोराको बिहेको निम्तो मान्न गएको अवस्थामा राति अं.१:३० बजे महेन्द्र श्रेष्ठले जबरजस्ती हातमा समाई तानी गोरखा घ्याल्चोक गा.वि.स. वडा नं.९ स्थित सोही विवाह घरदेखि केही तल खरियाबारी जङ्गलमा लगी जबरजस्ती करणी गरेको र रोजन रेग्मीले बाटो छेकी अरूलाई जान नदिई सो कार्यमा मद्दत गरेको हुँदा निजहरूलाई कानूनबमोजिम कारबाही गरी पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको चित्रकुमारी अधिकारीको जाहेरी दरखास्त । परिवर्तित नाम "च" कुमारीको देब्रे पाखुरामा चिथोरेको दाग देखा परेको, निजको योनिको झिल्ली च्यातिएको भन्नेसमेत बेहोराको पीडित "च" कुमारीको स्वास्थ्य परीक्षण प्रतिवेदन । मिति २०७०।१०।६ गते म गाउँकै कमल रम्तेलको छोराको बिहेको निम्तो मान्न गएकी थिएँ । विवाहमा साथीहरूसँग नाचगान गरी बसिरहेको अवस्थामा राति अं.०१:३० बजे प्रतिवादी महेन्द्र श्रेष्ठ मादक पदार्थ सेवन गरी म बसेको ठाउँमा आई मलाई एकछिन जङ्गलतिर जाउँ भनेको र मैले नमानेपछि प्रतिवादी रोजन रेग्मीले बढी बोलिस् भने तँलाई महेन्द्रको घरमा लगी भित्र्याइदिन्छु भनी महेन्द्र श्रेष्ठले मलाई जबरजस्ती हातमा समाई तानी लैजान खोज्दा मेरो साथीहरू मलाई बचाउन आउन खोज्दा रोजन रेग्मीले बाटो छेकी साथीहरूलाई आउन नदिएको र प्रतिवादी महेन्द्र श्रेष्ठले मलाई उक्त विवाह घरदेख