निर्णय नं. १०९३२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९३२ - उत्प्रेषण भाग: ६४ साल: २०७९ महिना: पौस अंक: ९ फैसला मिति :२०७७/१२/०५ १८४० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति : २०७७।१२।५ ०७३-WO-०२९९ विषयः- उत्प्रेषण निवेदक : जिल्ला रूपन्देही, धकधई गा.वि.स., वडा नं. २ घर भई हाल नापी कार्यालय बाँके नेपालगञ्‍जमा सर्वेक्षक पदमा कार्यरत वर्ष ५७ को रामकरण प्रसाद भुज विरूद्ध विपक्षी : निजामती किताबखाना, हरिहर भवन, ललितपुरसमेत अवकाश नदिनु भनेको सम्बन्धित कर्मचारीको सेवालाई सम्बन्धित निकायले स्वीकार गरी नै रहेको भन्ने अर्थमा बुझ्न सकिने । समयमा अवकाश नदिएका कारण कुनै कर्मचारीले निरन्तर रूपमा कामकाज गर्दै आएकोमा सोको जिम्मेवार सम्बन्धित कर्मचारीलाई बनाई निजलाई कामकाज गरेको अवधिको पारिश्रमिक नदिनु तथा दिइसकेको भए पनि असुलउपर गर्ने कुरा न्यायोचित नहुने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री मधुर पाठक विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री ऋद्धिनाथ निरौला अवलम्बित नजिर : सम्बद्ध कानून : निजामती सेवा ऐन, २०४९ आदेश न्या.दीपककुमार कार्की : नेपालको संविधानको धारा ४६ एवं धारा १३३(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छः- म निवेदक नापी विभागको मिति २०३८।३।१५ को निर्णय तथा पत्रबमोजिम सोही विभागअन्तर्गत अमिन पदमा नियुक्ति पाई मिति २०५६।९।१५ को २ नं. नापी गोश्वारा नेपालगन्जको निर्णयानुसार नापी निरीक्षक पदमा बढुवा भई नापी कार्यालय, बाँकेमा कामकाज गर्दै आएको थिएँ । विपक्षी निजामती किताबखानाले नापी कार्यालय, बाँकेलाई मिति २०७३।४।५ मा च.नं.२८९ को मेरो अनिवार्य अवकाशसम्बन्धी विषयको पत्रमा मेरो ५८ वर्ष उमेर मिति २०७३।७।५ मा पूरा हुने भएकोले मिति २०७३।७।६ देखि अनिवार्य अवकाश दिई यस विभागलाई जानकारी दिनु हुन अनुरोध छ भनी पत्राचार गरेको थियो । पुनः निजामती किताबखानाले नापी कार्यालय, बाँकेलाई मिति २०७३।५।२७ मा च.नं.२३२० बाट मेरो अनिवार्य अवकाश सम्बन्धमा म निवेदकको नागरिकताको प्रतिलिपिमा उल्लेख भएको नागरिकताको जारी मिति २०३१।४।२५ मा २० वर्ष उल्लेख भएअनुसार जन्ममिति २०११।४।२५ कायम गरी मिति २०६९।४।२४ मा ५८ वर्ष उमेर पूरा भइसकेकोले मिति २०६९।४।२५ देखि अनिवार्य अवकाश दिनु र मिति २०६९।४।२५ देखि हालसम्म उपभोग गरेको सबै तलबभत्तालगायतका सुविधाहरू यकिन गरी हुन आउने रकम सरकारी कोषमा दाखिला गरी सक्कल भौचरसहित पठाइदिन भनी पत्राचार भएको रहेछ । सोपश्चात् नापी कार्यालय, बाँकेले मलाई कार्यालयमा हाजिर गर्न रोक लगाइएको छ । निवेदकले मिति २०३८।३।१५ मा प्राप्त गरेको स्थायी नियुक्ति पत्रमा मेरो जन्ममिति सन् १९५८।११।२२ अर्थात् मिति २०१५।८।७ उल्लेख भएको छ । मैले मिति २०५१।४।१८ मा भरेको निजामती कर्मचारीको वैयक्तिक विवरण (सिटरोल) मा मैले मेरो जन्ममिति सन् १९५८।११।२२ भनी र ५८ वर्ष उमेर पुग्ने मिति सन् २०१६।११।२१ भनी उल्लेख गरेको छु । मेरो शैक्षिक योग्यताको प्रमाण पत्रहरूमा मेरो जन्ममिति सन् १९५८।११।२२ भनी उल्लिखित छ । यस आधारमा मेरो ५८ वर्ष उमेर पुग्ने मिति २०१६।११।२१ अर्थात् मिति २०७३।८।६ रहेको छ । यसरी मेरो नियुक्ति पत्र, मेरो निजामती कर्मचारीको वैयक्तिक विवरण (सिटरोल) र शैक्षिक प्रमाणपत्रमा रहेको जन्ममिति सन् १९५८।११।२२ उल्लेख भएअनुसार मेरो जन्ममिति २०१५।८।७ (वि.सं.) हो । सो मितिको आधारमा मेरो ५८ व